पाँच कम्युनिस्ट पार्टी छलफलमा जुटे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा माओवादी केन्द्र , नेकपा मसाल , नेकपा एकीकृत समाजवादी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित पाँच कम्युनिस्ट पार्टी छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा भएको उक्त छलफलमा गत असार ११ गते आयोजित साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रम र इरान र प्यालेष्टाइन माथिको अमेरिकी र इजराइली आक्रमणबिरुद्ध बिज्ञप्तिमार्फत गरिएको पहलको बिषयमा समिक्षा गरिएको बताइएको छ ।
यसैगरी , पाँच कम्युनिस्ट पार्टीको आजको छलफलमा प्यालेष्टाइन र इरानमाथिको अमेरिकी र इजराइली आक्रमणको बिरोध जनाउदै बृहत प्रदर्शन गर्ने र यसको तयारीको निम्ति प्रत्येक पार्टीवाट दुई दुई जना सदस्य बसेर छलफल गर्ने र कार्यक्रम तय गर्ने निर्णय भएको बताइएको छ।
उक्त कार्यका लागि नेपाल कम्युनिस्ट पार्टीवाट सो पार्टीका प्रवक्ता प्रकाण्ड सी र मिलन सी , नेकपा माओवादी केन्द्रवाट देब गुरुङ र लिलामणि पोखरेल ,नेकपा एकीकृत समाजवादीवाट बलराम बास्कोटा , नेकपा मसालवाट भैरव रेग्मी र क्रान्तिकारी कम्युनिस्ट पार्टीवाट परी थापासहितलाई जिम्मेवारी दिइएको छ । र उनीहरुको बैठक सोमबार बस्ने तय भएको छ।
यसैगरी , पाँच कम्युनिस्ट पार्टीको आजको छलफलमा अन्य घटकलाई सहभागी गराउने र साथ लिने बिषयमा सबै दलले प्रयास गर्ने र प्रत्येक पार्टीले आन्तरिक रुपमा राष्ट्रिय राजनीतिक मुद्दाको बारेमा र सहकार्यको बिषयमा छलफल चलाउने निर्णय भएको बताइएको छ।