‘कम्युनिष्ट एकताको बिकल्प छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले कम्युनिष्ट एकतालाई बलियो बनाउनुको बिकल्प नभएको ठोकुवा गरेका छन्। समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित बिचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले हरेक दिन एकताको कुरा गर्ने तर आफैँभित्र उकुसमुकुसको स्थिति रहेको उल्लेख गर्दै निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिष्ट एकतालाई अझ बलियो बनाउनुको बिकल्प नभएको बताए। उनले नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपातहरू मौलाएर गणतन्त्रका फूलहरू खोज्नुपर्ने स्थिति पैदा भएको बताए । उनले कम्युनिष्ट आन्दोलनलाई एकता नै आवश्यक रहेको तर त्यसका लागि निश्चित दृष्टिकोणको जरुरी रहेको समेत बताउदै भने -‘हामी हरेक समयमा एकताको कुरा गर्छौँ तर हामीभित्र उकुसमुकुस छ । हामीलाई चाहिएको एकता नै हो । हामीलाई चाहिएको मोर्चा नै हो । सहकार्य र सहयात्रा नै हो । त्यसको लागि एउटा निश्चित दृष्टिकोण नै हो । नेपाली समाजको नयाँ व्याख्या जरुरी छ । प्रचण्डहरूले निर्णय गर्नुभएको थियो, यो पहाड भत्काएको हामीले हो । निःशर्त हो । आज पनि भत्काउँछौँ । दलालहरूलाई कुन कुन खाल्डोमा हाल्नुपर्छ भन्ने राम्रोसँग थाहा छ । गणतन्त्रमा झारपात उम्रिएका छन् । गणतन्त्रका फूलहरू हेर्न झारहरू पल्टाएर हेर्नुपर्ने भयो । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपातहरू मौलाएका छन् । कुन फूल र कुन झारपात नेपाली जनता अलमलमा परेका छन् । बर्खामा च्याउ उम्रिएका जस्ता झारपात उम्रिएका जस्ता राजनीतिक दलहरू छन् । गणतन्त्रमा बर्खामा उम्रिएका झारपातहरू छन् । गणतन्त्र त आयो तर झारपातले ढाक्यो ।’
यसैगरी, महासचिव विप्लव सीले देशले नयाँ योगदानको माग गरेको बताउदै भने- ‘त्यसका लागि समाजवादी धुव्रीकरण आवश्यक छ, एकताको निम्ति नयाँ प्रस्ताव र नयाँ घोषणापत्र तयार गर्नुपर्छ । दलाल पुँजीवाद र विचौलीयाहरुलाई खाण्डोमा हाल्न नयाँ वहस आवश्यक छ । कम्युनिष्टहरुको हिजोका प्रस्ताव र नीतिले पुग्दैन, नयाँ प्रस्तावको खोजि गर्नुपर्छ । हामी कुन बाटोमा जाने हो ? हाम्रो राजनीति, समाजिक, सांस्कृति,आर्थिक पक्ष के हुने हो ? धर्म भनेको अज्ञानतामाथिको हतियार हो । हामी भौतिकवादी बन्न सक्ने कि नाई ? प्रचण्डले भौतिकवादी प्रवचन गर्न सक्ने कि नाई ? ‘कम्युनिकरण र सर्वहाराकरण खै प्रचण्डले लेखेको कुरा आज कार्यन्वयन भयो ? यो कम्युनिष्ट र माओवादीहरुले लागु गर्ने आँट गर्नु पर्यो नि ।’
यसैगरी, यसैगरी, महासचिव विप्लव सीले नेपालमा श्रम,शक्ति र वर्गप्रति विश्वास गर्नु पर्ने भन्दै साम्राज्यवादीहरुको गुलाम बन्ने र बनाउने काम अहिलेको दलाल व्यवस्थाले गरेको ठोकुवा गरे । उनले देशको वर्तमान संकटको निकास समाजवाद भन्दा अर्को विकल्प नभएको उल्लेख गर्दै समाजवादी व्यवस्थाका लागि धुव्रीकरणको आवश्यकता अनिवार्य भएको बताए । उनले भने- ‘यो देशको मालिक श्रमजीवी जनता हुनुपर्छ’। त्यसका लागि एकदिन समाजवादीहरु एकताबद्ध हुन्छन र जितिन्छ ।’
यसैगरी, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दलाल पुँजीवादविरुद्ध एक ठाउँमा उभिन पर्ने बताउदै कम्युनिस्ट पार्टीहरू अलग अलग नभई संयुक्त बलियो मोर्चा बनाउन समेत आग्रह गरे ।
उनले भने- ‘दलाल पुँजीवादसँग समर्पित हुने तत्त्वप्रति उदारता देखायौँ भने कुनै कम्युनिस्ट आन्दोलनको अर्थ रहने छैन । दलाल पुँजीवादविरुद्ध खडा हुने सबैसँग एकता, सहकार्य र ध्रुवीकरण हुन जरुरी छ । मलाई लाग्छ दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध एक हुन सक्यौँ भने बलियो कम्युनिस्ट मोर्चा बनाउन सक्छौँ । त्यसैले बलियो कम्युनिस्ट मोर्चा बनाउन म अपील गर्छु । पार्टी एकता पनि गरौँ । संयुक्त मोर्चा पनि बनाऔँ । धेरै व्याख्या गर्न आवश्यक छैन । पार्टी एकता र संयुक्त मोर्चा बनाए मात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ ।’
अध्यक्ष प्रचण्डले पुष्पलाल सबैले सम्मान गर्ने दार्शनिक, राजनीतिज्ञ भएको स्मरण गर्दै जो दलाल पुँजीवादीका पछि लाग्छन् उनीहरू सच्चा कम्युनिस्ट नभएको बताए ।
यसैगरी, अध्यक्ष प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्माको नाम नलिएर जवाफ फर्काएका छन् । उनले शर्माको नाम नलिई पार्टीभित्र सिँगौरी खेल्न दिएको बताउदै भने ‘ अहिले पनि कति साथीहरूले ल त भनेर अलिलि सङ्गौरी खेल्न पाए हुन्थ्यो भन्ने जस्तो गर्नुभएको छ। उहाँहरुलाई म प्रशस्त सिङ्गौरी खेल्न दिएको छु। जति सिङ्गौरी खेल्न मन लाग्छ, खेल्नुस् भनेर दिएको छु। अस्ति डेढ महिना परामर्श भन्दै देशभरि लिएरै हिँडे मैले। योभन्दा मैले गर्ने के हो जनवाद ?। मेरो कमजोरीभिन्न मतलाई दमन गर्ने होइन। भिन्न मतप्रति बढी उद्धार हुने मेरो कमजोरी हो। मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि त्यही हो। मैले कसैलाई कारबाही गरिनँ, कमरेड किरण, कमरेड बाबुराम, कमरेड बादल अरु अरु थुप्रै थुप्रै। कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहिँ छैन। तर, कतिपय साथीहरू भन्छन्- ननिकालेर के गर्ने, बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ होला। त्यो पनि सत्य होइन। मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु। ‘
उपमहासचिव जनार्दन शर्मा मङ्गलवार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा स्कुल अफ माक्र्सिज्मद्वारा आज आयोजित कार्यक्रममा कम्युनिस्ट पार्टीभित्र जनवाद कमजोर भएको र केन्द्रीयता हाबी भएको आरोप लगाएका थिए ।
यसैगरी, अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वमा ३६ वर्ष के गरिस् भनेर प्रश्न उठाएकोमा पनि असन्तुष्ट पोखेका छन् । उनले ३६ वर्ष नेतृत्वमा रहेर काम गर्दा एकथरीलाई छटपटी भएको बताउदै भने- ‘मैले धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन् । म यसो सोध्छु । राति सुत्नेबेला सोच्छु । अब नेतृत्व छोडी दिउँ कि क्या हो ? फेरि एक मनले सोच्छु–मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ। ३६ वर्ष के गर्यो भन्नेलाई मेरो जवाफ छ– माओवादी धारलाई २०४८ मा एकताबद्ध गर्यो । २०५२ सालमा विद्रोह गर्यो । २०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर गर्यो । शान्ति र विद्रोहको नेतृत्व गर्ने सबै नेताले गर्न सक्छन् ? वामपन्थी सबै एक हौँ भनेकै हो । कसका कारण एकता भएन सबैलाई थाहा छ ।’
यसैगरी, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताए । उनले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहेको तर देशमा परिणम आउने गरी काम गर्न नसकेको बताउदै भने- ‘अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ । तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने गरी काम भइरहेको छैन। कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मर्नुपरेको छ । त्यो समाजले हटाउन सकेको छैन । कम्युनिष्ट पार्टीहरू पनि त्यहाँ छन् तर हटाउन चाहँदैनन् ।’
अध्यक्ष नेपालले नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा बहस गर्न जरुरी रहेको बताए । उनले भने -‘नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने त्यसमा बहस गरौँ ।
अध्यक्ष नेपालले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न जागरण अभियानको जरुरी रहेको समेत बताए ।
यसैगरी, सोहि कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताए । उनले कम्युनिष्ट आन्दोलनबाट उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किइरहेको र नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवलाई समेत दुई वर्ष नबित्दै षड्यन्त्र गरेर हटाइएको स्मरण गर्दै कम्युनिष्टको जन्मकालमै षड्यन्त्र रहेको टिप्पणी गरे । उनले भने- ‘नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन्त संघर्ष गर्ने व्यक्तित्वको रूपमा पुष्पलाललाई लिनुपर्छ। बिडम्वना के छ भने २००६ सालमा कलकतामा उहाँले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । दुई वर्षमै यति धेरै षड्यन्त्रकारीहरु पार्टीमा घुसे । २००८ सालमै पार्टीको महासचिवबाट हटाइयो ।’
यसैगरी, अध्यक्ष यादवले अहिलेसम्म पनि कम्युनिष्ट पार्टीमा षड्यन्त्र गर्ने कुराको अन्त्य हुन नसकेको बताउदै भने- ‘षड्यन्त्र त कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै चल्दै आएको रहेछ, जो अहिलेसम्म अन्त्य भएको छैन। नेपालमा कम्युनिष्ट आन्दोलन करिब करिब समाप्त भएको अवस्थामा म देख्छु । कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु ।’