समाजवादी क्रान्तिको लागि क्रान्तिकारीहरुबीच एकता आवश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शुसिल सीले समाजवादी क्रान्तिको लागि क्रान्तिकारीहरुबीच एकता आवश्यक भएको ठोकुवा गरेका छन्। संवाद डबलीले बुधबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता शुसिल सीले नेपाल कम्युनिस्ट पार्टी एकताको पक्षधर भएको भन्दै माओवादी केन्द्रले पार्टी एकताबारे गरेको निर्णय स्वागतयोग्य रहेको बताए । उनले नेकपाको आसन्न केन्द्रीय समिति बैठकले एकताबाट ठोस निर्णय गर्न सक्ने जानकारी समेत दिए ।
नेता शुसिल सीले माओवादी केन्द्रबाट एकतासम्बन्धी ठोस प्रस्ताव आएपछि मात्रै आफ्नो पार्टीको औपचारिक धारणा आउने बताउँदै भने- “बाहिर आए जस्तै कुनै व्यक्तिको चाहनाभन्दा पनि देश, जनता र समयको मागअनुसार एकता हुने छ ।”
उनले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र समाजवादी क्रान्तिको लागि माओवादी धार र समाजवादी मोर्चामा आवद्ध पार्टीबीच एकता ध्रुविकरण हुने बताए ।
नेता शुसिल सीले २०८४ सालमा देश पुनः माओवादीमय हुने ठोकुवा गरे । उनले पार्टी एकतापछि निरास भएका जनता र कार्यकर्ताहरु समाजवादको लागि माओवादी आन्दोलनमा पुनः सक्रिय हुने बताए ।
नेता शुसिल सीले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद चाहने शक्तिहरुबीचको एकता धुर्बिकरण आवश्यक रहेको बताए । उनले नयाँ पुस्ता र अवसरबाट बन्चित भएका इन्मान्दार र कर्तव्यनिष्ठ क्षमतावान व्यक्ति–व्यक्तित्वहरुको नेतृत्व सुनिश्चतता हुने गरी एकता हुनुपर्ने धारणा राख्दै भने- “राईट मेन, राइट प्लेस र राइट टाईमको अवधारणालाई एकताले आत्मसाथ गर्नुपर्छ ।”
नेता शुसिल सीले अबको एकतामा सबैले आ–आफ्नो ठाउँबाट रुपान्तरण हुँदै देश, जनता र वर्गको नेतृत्व गर्ने प्रतिबद्धता जनाउँनुपर्ने कुरामा जोड दिए । उनले समाजवादको लागि उत्पादन महत्वपूर्ण भएको बताउँदै आफ्नो पार्टी श्रम र उत्पादनको माध्यमबाट पनि अगाडि बढिरहेको बताए ।
यसैगरी , सोही कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताए ।
महासचिव गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताउदै भने- “अहिले विप्लवजीको पार्टीसँग मात्रै नभएर देश, जनता र समयको मागअनुसार नेकपा (एस) सँग पनि एकताका लागि छलफल चलेकोछ। ”
महासचिव गुरुङले नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो एकता गर्न सहज हुने बतउँदै भने,“समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, संगठन कसरी बलियो बनाउने, सदन र सडकसम्म संघर्ष कसरी गर्ने भन्नेलगायतका विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्ने छ ।”
महासचिव गुरुङले पार्टी बलियो बनाउनुका साथै विचार मिल्ने शक्तिहरुसँग एकता गर्ने बेला आएको बताए । उनले अहिले देशमा बढ्दै गएको राजनितिक संकटले पार्टी मजबुत बनाउनुपर्ने बेला कोही कसैका विचारलाई निषेध गर्नु नहुने र गर्न पनि नसकिने बताए ।
यसैगरी, महासचिव गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर निरन्तररुपमा सदन अबरुद्ध गर्दा महत्वपूर्ण विधेयकहरु रोकिने भएकाले २ बुँदे सहमति गरेको विषय स्थायी कमिटीले सहि भएको मूल्याङकन गरेको बताए । उनले कुलिङ पिरियड प्रकरणबारे बनेको छानविन समितिले सहि निष्कर्ष निकालेर त्यसलाई सच्याउनु पर्छ भन्ने आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताए ।