‘चन्दा मागेर अबको राजनीति चल्न सक्दैन’

२०८२ भाद्र २ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले चन्दा मागेर अबको राजनीति चल्न नसक्ने ठोकुवा गरेका छन्। आइतबार उद्योग वाणिज्य संघ नेपालगंजद्वारा आयोजित ‘विप्लवसंग उत्पादनमुलक व्यवसाय’ विषयक छलफल कार्यक्रमलाई सम्वोधन गर्दै चन्दा मागेर अबको राजनीति चल्न नसक्ने ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले राजनीतिक क्रान्ति सँगसँगै आर्थिक क्रान्ति नहुँदा नेपालमा समस्या आएको बताउदै भने – ‘प्रतिबन्धको बेला नेकपालाई आर्थिक दृष्टिकोणबारे ठुलो अध्ययन गर्ने अवसर मिल्यो, नेपालका पार्टीहरु सत्तामा हुनेहरुले कमिशन र भ्रष्टाचार गरेर टिक्ने र बाहिर हुनेहरुले चन्दा उठाएर टिक्ने प्रवृति देखियो। यसलाई तोड्न सकिएन भने नेपाल आत्मनिर्भर हुन सक्दैन भन्ने लाग्यो । त्यसपछि हामीले उत्पादनको क्रान्तिलाई अगाडि बढायौँ । यो देखावटी होइन । भित्रैबाट नयाँ आर्थिक मार्गको संश्लेषण गर्यौँ। एकीकृत स्वामित्वबाट विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको आर्थिक दृष्टिकाेणको समस्या समाधान गर्ने विचार लियौँ । अहिले हाम्रो पार्टी त्यही दृष्टिकोणबाट उत्पादनमा छ । ३ बर्ष भनेपनि २ बर्षमै खान र बस्नका लागि हामीले कसैबाट चन्दा माग्नु पर्ने ठाँउमा छैनौँ । हामीले पार्टीलाई ३ बर्षमा चन्दा मुक्त गर्ने भनेका छौँ । चन्दा मागेर अबको राजनीति चल्न सक्दैन ।’
महासचिव विप्लव सीले देश र जनतालाई आत्मनिर्भर बनाउन श्रम गर्नुपर्छ भन्ने संस्कार सिकाउन नसकिएको औल्याउदै श्रम र समयलाई सबैले प्रयोग गरे देश समृद्धि हुने ठोकुवा गरे । उनले भने – ‘आर्थिक उत्पादनमा नलाग्ने पार्टीहरु दलालमा परिणत हुन्छन्, भ्रष्टाचार गर्न बाध्य हुन्छन्, एयरपोर्ट काण्ड बुझनु भएको छ । ५० लाख दैनिक व्यक्तिको कोषमा जाने कुरा आउँछ । हामीले सुविधा भोग पनि गर्ने तर उत्पादन र श्रममा नलाग्ने कुरा सहि होइन । यसलाई बदल्नु पर्छ । राज्यसंग सुस्पष्ट आर्थिक सोच चाहिन्छ । पार्टीहरुका आफ्नै राजनीतिक विचार भएपनि देशको समृद्धिका लागि सबैको साझा आर्थिक दृष्टिकोण चाहिन्छ, अनि मात्र देश आत्मनिर्भर हुन्छ ।’
यसैगरी, महासचिव विप्लव सीले २००७ सालदेखिको राजनीति क्रान्ति आंशिक रुपमा सफल भएपनि आर्थिक क्रान्ति भने सुस्पष्ट आर्थिक दृष्टिकोण नहुँदा सफल हुन नसकेको बताउदै श्रम र उत्पादनमा नजोडिने राजनीतिक दल र नेता दलाल र भ्रष्टाचारी वा सिद्धिने ठोकुवा गरे। उनले भने- ‘राजनीति क्रान्तिसंग सुस्पष्ट आर्थिक क्रान्ति नहुँदा नेपालको राजनीति अलमलियो, आर्थिक क्षेत्रमा परिवर्तन आएन, व्यवसायीहरु, युवाहरु र समग्र नेपाली श्रमशक्ति नेपालको अर्थराजनीतिबाट सन्तुष्टि हुन सकेन ।’
महासचिव विप्लव सीले सबै राजनीति पार्टी, सरकार र जनताको साँझा आर्थिक दृष्टिकोण हुनुपर्ने भन्दै त्यो हुन नसक्दा नेपाल एकपछि अर्को आर्थिक संकटमा धकेलिएको बताउदै नेकपाले राजनीति क्रान्ति भित्रको अधुरो पक्ष आर्थिक क्रान्तिलाई राजनीति क्रान्तिसंग जोड्न उत्पादन कार्यमा पार्टीलाई जोडेको स्पष्ट पारे ।
महासचिव विप्लव सीले खान र बस्नका लागि हरेक नागरिकले अनिवार्य श्रम गर्नु पर्ने बताउदै कृषि उत्पादनले विस्तारै नेकपा आत्मनिर्भर बन्दै गएको र यो बर्ष मात्र कृषि उत्पादनमा ५० प्रतिशतले वृद्धि हुने विश्वास व्यक्त गरे । उनले देशभर नेकपाले झण्डै ८० देखि १ करोड सम्मको धान उत्पादन गर्ने पनि खुलासा गर्दै आउने बर्षबाट उद्योगतिर पनि नेकपा जाने बताए ।
यसैगरी, महासचिव विप्लव सीले व्यवसायीहरुलाई ढुक्क भएर लागानी गर्न अपिल गर्दै उनले नेकपाको उत्पादन कार्यमा सहकार्य गर्न आग्रह गरे । उनले भने – ‘नेकपाले नेपाली जनतालाई पैसा कमाउने ज्ञान दिन तयार छ, व्यवसायीहरुले पनि ढुक्क भएर लगानी गर्नुहोस् । आफ्नै देशमा श्रम गर्ने बानी बसालौं । विदेशीको गुलामी भएर हुँदैन । बरु श्रमको मुल्य पनि कम लियौँ र वस्तुपनि सस्तो हुने गरी जनतामा दियौँ । यसले आत्मनिर्भरतिर लिन्छ ।’
महासचिव विप्लव सीले पसिना बगाएर पैसा कमाउनु शोषण नभएको भन्दै मिटर व्याजमा पैसा लगाएर जनतालाई दु:ख दिनु र बैङ्कहरुले चर्को व्याजमा व्यवसायीको उठीबास गर्नु शोषण भएको बताए। उनले एक पटक देशलाई नयाँ बनाउने नेकपाको चाहना भएको भन्दै सबैलाई साथ दिन अपिल गरे । उनले नेपालका कम्युनिष्ट समाजवादी शक्तिसंग नेकपा समाजवादी अर्थतन्त्र र समाजवादका लागि सहकार्य र एकता गर्न तयार भएको पनि बताए ।
यसैगरी, उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले नेकपाले थालेको उत्पादन क्रान्तिप्रति प्रशंसा गर्दै नेपालगंजका व्यवसायीहरुले सहकार्य गर्न तयार भएको बताए । उनले राप्तीनदिको बगर एरियामा नेकपाले अर्कोबर्षबाट खरभुजा लगाउन सके निकै फाईदा हुने बताउदै त्यसको लागि उद्योग वाणिज्यसंघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष धामीले नेकपाले अरु कम्युनिष्ट पार्टीसंग एकता गर्नु पर्दा उत्पादन क्रान्तिको मार्ग नछोडने गरी एकता गर्न आग्रह समेत गरे ।
यसैगरी, उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले नेकपाले थालेको उत्पादन क्रान्तिको लाईन सबैले शिक्षा लिन लायक भएको बताए भने नेपालगंज उद्योग वाणिज्य संघका महासचिव भिम राना भाटले नेकपाको उत्पादन क्रान्तिको प्रसंशा गर्दै नेकपालाई आफूहरुले पनि साथ दिने प्रतिबद्धता जनाए ।

प्रतिक्रियाहरु

[anycomment]