‘जेन जी आन्दोलनले भ्रष्टाचार मुक्त समाज र सुशासन खोजेको छ’

२०८२ आश्विन १० गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त समाज र सुशासन खोजेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी घोराहीद्वारा बिहीबार आयोजित ‘जेनजी विद्रोह, नयाँ परिस्थिति र निकास’ विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता सन्तोष सीले जेनजी आन्दोलन केही नयाँ खोज्नका लागि गरिएको भन्दै पुराना राजनीतिक दलहरु फेरि पुरानैतर्फ जान खोजे झन ठूलो क्षति हुने ठोकुवा गर्दै भने- ‘जेनजी आन्दोलन सही थियो । यसको उद्देश्य भ्रष्टाचार मुक्त हुनुपर्छ, सुशासन कायम गरिनुपर्छ भन्ने थियो। आन्दोलनले केही नयाँ खोजेको हो । पुराना राजनीतिक दलहरु पुरानैतिर फर्किन खोजे झन ठूलो क्षति हुन सक्छ । देश दोबाटोमा छ । विदेशीको हातमा जाने कि सही तरीकाले निर्वाचन गरेर नेपाली जनतालाई सुम्पिने अवस्थामा छ । हामी पनि चुनावमा जानेनै छौं । ‘पाटी दर्ता पक्रिया अगाडि बढिसकेको छ। ‘
नेता सन्तोष सीले अहिलेको सरकारलाई एनजिओ, आइएनजिओको हुनबाट बचाउन सबैसँग हातेमालो गर्नेपर्ने बताउदै भने – ‘विचार मिल्नेसँग एकता गरेर, नभए समाजवादी मोर्चा मार्फत् त्यो पनि नभए एक्लै पनि चुनावमा जाने हो । साम्राज्यवादले चलखेल गरे छातीमा गोली थापेरै लड्ने छौं ।’
उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज सविन सीले केपी, शेरबहादुर र प्रचण्डले पार्टी सत्ता र राजकीय सत्ता छोड्नैपर्ने बताए । उनले विद्रोहमा धेरै रगत बगेको , सहिदहरुको लिष्टमा कोही पनि सम्भ्रान्त बर्गको नदेखिएकोले षड्यन्त्र भनेर कुतर्क नगर्न आग्रह गर्दै भने- ‘भ्रष्ट संस्कृति सम्पूर्ण हिसावले धुलीसात पारिएको छ। राजनीतिक र नैतिकरुपमा फर्किन नसक्ने गरी राजकीय र पार्टी सत्ताबाट भुईंमा झारिदिएको छ ।’
नेता सविन सीले जेनजी आन्दोलनले देशमा उथलपुथल ल्याएकोले यसलाई नयाँ दिसा दिनुपर्ने बताउदै नेकपाका महासचिव विप्लव सीको नेतृत्वमा कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्नुपर्ने वताए ।
यसैगरी, वाम विश्लेषक सुशील गौतमले जेन जीको आन्दोलन नेपालका वामपन्थी आन्दोलनको असफलता पनि भएको उल्लेख गर्दै भने – ‘यही प्रवृत्ति रहे कम्युनिष्ट आन्दोलन सखाप हुन्छ ।’
उनले परिवर्तनपछि पनि प्रबृत्ति पुरानै कायम रहेकाले विद्रोह अवश्यंभावी बनेको , सत्ता र शक्तिको चरम दोहन गरी बनेको लुटको स्वर्ग भत्काएको बताउदै अहिलेको सरकारलाई जनपक्षीय बनाउन र हस्तक्षेप गरेर नेतृत्व लिन सुझाव दिए ।
यसैगरी , उक्त कार्यक्रमका वक्ताहरुले नागरिकलाई सेवा दिनेहरुले कमजोरी गरेकैले तिनीहरु निशानामा पारेको बताए । जेनजीसहितको सर्बदलीय शासन हुनुपर्ने उनीहरुको जोड थियो । घोषित मितिमै चुनाव गराउन दबाबको जरुरी रहेको पनि उनीहरुको जोड थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रयासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाजका चन्द्रराज पन्त, साहित्यकार रामप्रसाद जैसी राप्ती पोष्टका सम्पादक शरद अधिकारी, प्राध्यापक वसन्त रिजाल, प्रमोद धिताल, जेनजी युवाहरु टार्जन भण्डारी, चुडामणि केसी, खमन सी, पदम सी लगाएतले विचार व्यक्त गरेका थिए ।
नेकपाका केन्द्रिय सदस्य तथा नगर इञ्चार्ज पाटन सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन घोराही नगर सेक्रेटरी महान सीले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]