‘नेपाली विशेषताको समाजवादलाई आधार मानेर अगाडि बढाैं’

२०८२ आश्विन १२ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य वसन्त सीले वर्तमान् राजनीतिक समस्याको समाधानका लागि नेपाली विशेषताको समाजवादलाई आधार मानेर अगाडि बढ्नु पर्ने बताएका छन। नेकपा रुपन्देहीद्वारा आयोजित ‘जेन जि विद्रोह : नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता वसन्त सीले जेन जी आन्दोलनले संसदीय व्यवस्था असफलताको पुष्टि गरेको ठोकुवा गरे। उनले सबैको साझा पदावली समाजवादका विषयमा छलफल गरी नेपाली विशेषताको समाजवादमा जान सकिने धारणा राख्दै भने – ‘हामीले भन्ने गरेको वैज्ञानिक समाजवाद अहिले साझा मुद्दा नबन्न सक्छ त्यसैले हामी अहिले सबैलाई मान्य हुने साझा निकाश भनेको नेपाली विशेषताको समाजवादलाई आधार मानेर अगाडि बढाैं ।’
नेता बसन्त सीले जनतामा धेरै आशा जगाएर पूरा गर्न नसक्नुले यो परिस्थिति उत्पन्न भएको बताउँदै भने- ‘हामी नयाँ पुस्तालाई विश्वस्त पार्न सकेनौ । सन्जाल हेरेर धारणा निर्माण गर्ने युवा पुस्ताका चाहना सम्बोधन हुन नसक्दा असन्तुष्टि बढ्यो । भ्रष्टाचार, बेथिति, नेपो बेबी जस्ता सवाल उठाएर जेन जिले विद्रोह शुरु गरे । परिपक्व राजनीतिमा प्रधानमन्त्रीको राजिनामा पश्चात आन्दोलन स्थगित हुन्थ्यो त्यो भएन, आन्दोलन झन विध्वंसतिर गयो, सुरक्षाकर्मीको मौनताभित्र सार्वजनिक र निजि सम्पत्तिको क्षति ब्यहोर्नु पर्यो । धेरै आन्दोलन भए तर छाेटाे समयमा यो स्तरको भौतिक क्षती यस पटक भयो । राजनीतिक शुन्यता देखियो । आन्दोलन पश्चात वार्ता गर्ने कोसङ्ग भन्ने अन्योलता सिर्जना भयो । सेनाको सक्रियता पश्चात पुर्व प्रशासकहरुको नेतृत्वमा सरकार गठन भएको छ । बिस्तारै घटनाक्रमलाई हेर्दा मुलुक भित्र ठुला ठुला षडयन्त्र शुरु भएको देखिन्छ । वैदेशिक चलखेल बढेको छ । संविधान जिवित छ कि छैन भन्ने सवाल उठेको छ । के सुशिला कार्की प्रधानमन्त्री बन्दा संविधानको कुनै धारा प्रयोग भएको छ त ? परिस्थिति यो हुँदैछ भन्ने आकलन नहुनु सिङ्गो राज्य सम्यन्त्र असफल हो त । प्रधानमन्त्री, नेताहरुलाई सेनाको क्याम्पभित्र लगेर लुकाउनु पर्ने अवस्था कसरी आयो ? यो जेनजिको कुरा मात्रै होइन यो गम्भीर विषय हो ।’
यसैगरी, सोहि कार्यक्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य प्रेम सुवेदीले नयाँ पुस्ताले राजनीति बुझ्दैनन् भन्ने कुरा यो बिद्रोहले खण्डित गरिदिएको भन्दै अहिलेको संकट पुजीवादी संकट भएको र यो विश्वब्यापी संकट हो जसको मुख्य कारण बाह्य भन्दा पनि आन्तरिक कारण भएको बताए ।
यसैगरी, सोहि कार्यक्रमा नेकपा एमालेका नेता भोज प्रसाद श्रेष्ठले जेनजि आन्दोलन एउटा सुधारको आन्दोलन भएपनि आयोजक आफैं अलमलिँदा र विदेशि चलखेलका कारण देशले ठुलो क्षती ब्यहोर्नुपरेको बताउदै ७० बर्षको इतिहास बिर्सेर अगाडि बढ्न खोजियो भने थप जटिलता निम्तिने कुरा बताए ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसाल, नेकपा एकीकृत समाजवादीका नेता कमल भण्डारी, राष्ट्रिय जनमोर्चाका नेता पदम श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नेपाल बार एशोसियन रुपन्देही अध्यक्ष गोविन्द मरासिनी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी अर्याल, राष्ट्रिय स्वाधीनताकालागी नागरिक अभियानका अध्यक्ष पदम कार्की, जेन जि पुस्ताको तर्फबाट विष्णु राउतले धारणा राख्दै खरानीमा टेकेर कालो बादल नियाल्दै आशावादी बन्ने नेपाली संस्कृति भएको बताएका थिए।
नेकपाका केन्द्रीय सदस्य शरद सीको अध्यक्षता, केन्दीय सदस्य विश्वास सीकाे स्वागतमा सम्पन्न उक्त कार्यक्रमको संचालन केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी बिरेन्द्र सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]