देशको राजनीतिक संकट समाधान गर्न सर्वपक्षीय सरकार र संविधानको पूर्नलेखन गरौं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य असल सीले जेनजी आन्दोलनले पनि देशको राजनीतिक संकट समाधान गर्न नसकेको बताएका छन् ।
उनले अहिलेको राजनीतिक संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गर्दै समाजवादमा पुग्न सर्वपक्षिय सरकार र संविधानको पूर्नलेखन नै एकमात्र संकटको अग्रगामी निकास भएको बताएका छन् ।
नेकपा बाँकेले कोहलपुरमा आयोजना गरेको ‘जेनजी विद्रोह, संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेता असलले समाजवाद भन्दा अग्रगामी निकास अर्को बाटो नभएको भन्दै सर्वपक्षिय सरकार र संविधानको पूर्नलेखन गरेर जानु पर्ने बताए ।
‘जेनजी विद्रोह सेवोटेज भयो, यसमा विदेशी शक्ति केन्द्रको घुसपैठ भयो, आन्दोलनको उपलव्धी जेनजीहरुको हातमा आएन’ नेता असलले भने, ‘अहिले पनि संकट कायम छ, अबको संकटको अग्रगामी निकासका लागि सर्वपक्षिय सरकार गठन गरी नेपाली विशेषताको समाजवादका लागि संविधानको पूर्नलेखन गर्नुपर्छ । शासकीय रुवरुपमा परिवर्तन गरी प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन प्रणालीमा जानु पर्छ ।’
उनले नेपालमा गाँस,वाँस, स्वास्थ्य,शिक्षा निशुल्क हुने समाजवाद नेपाली जनतालार्ई चाहिएको भन्दै निजीकरण गरिएका उद्योगहरु राष्ट्रियकरण गरी युवा पुस्तालाई रोजगारीको ग्यारेण्टी गर्नु पर्ने बताए ।
नेता असलले केपी ओली र सुशिला कार्की नेतृत्वको सरकारमा कुनै अन्तर नभएको ठोकुवा गर्दै यो सरकारबाट जेनजीहरुको समस्या समाधान नहुने दाबी गरे ।
‘नेपालमा प्रगतिशील व्यवस्था दिन चाहन्छौँ, संसदीय व्यवस्था होइन,आजका संसदवादी पार्टीहरु विगठन गरौं, यिनबाट देश चल्दैन, नयाँ पार्टी बनाउँ, पुराना नेतालाई बिदाई गरौं, नत्र पुराना नेतासंगै कम्युनिष्ट जनमत सति जाने अवस्था भयो’ नेता असल सीले भने ।
उनले प्रचण्डका लागि गोली खाने एउटा जनयुद्धको सिपाही आफूपनि भएको स्मरण गर्दै करोडौको घडि लगाउने, घरमा पैसा र सुन भेटिने नेताहरुलाई कसरी कम्युनिष्ट नेता भन्ने ? प्रश्न गरे ।
समाजवाद ठग र भ्रष्टहरुको नभएको जिकिर गर्दै नेता असलले इमान्दार नेताहरुको लागि समाजवादको नेतृत्व दिनु पर्ने विचार राखे ।
उनले आफ्नो पार्टीले जेनजी पुस्तासंग एकता गरेर जेनजीहरुको अधुरो सपना पूरा गर्नेतिर नेकपा लाग्ने विचार राखे ।
नेता असलले सच्चा क्रान्तिकारी वामपंथी शक्तिहरु पुरानो ठाउँबाट रुपान्तरण भएर माथि उठे नेकपा कम्युनिष्ट केन्द्र बनाएर एकता गर्न तयार भएको पनि बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवीहरुले जेनजी आन्दोलन सहि भएपनि घुसपैठले मुलुकमा ठुलो धनजनको क्षति भएको बताएका थिए । वक्ताहरुले पुरानो व्यवस्था नै समस्याको मुलकारण भएको भन्दै व्यवस्था बदल्न संविधानको संशोधन गर्नु पर्ने विचार राखेका थिए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य प्रदिप सीले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमकाे अध्यक्षता नेकपाका केन्द्रीय सदस्य नारायण सी र सेक्रेटरी दिपक सीले सञ्चालन गरेका थिए । – बसन्त विक