नेपाल कम्युनिष्ट पार्टीले कात्तिक २० गते काठमाडौँमा बृहत् जनसभा गर्ने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले जनसंघर्षको उद्घोष गरेको छ । सो पार्टीको गत असोज २६ देखि ३० गतेसम्म बसेको नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकले जनसंघर्ष गर्ने निर्णय गरेको थियो ।
सोही बैठकको निर्णयअनुसार नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, जेन–जी माथिको भएको दमन निष्पक्ष छानबिन गर, युवाहरूको लागि रोजगारीको ग्यारेन्टी गर जस्ता माग गर्दै भित्ते लेखन गरेको छ ।
यसैगरी, सो पार्टीले कात्तिक १५ गते देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेको छभने आज कात्तिक १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा गर्ने बताइएको छ ।
यसैगरी, सो पार्टीले देशलाई शान्ति, स्थिरता, स्वाधीनता र अग्रगामी निकास दिनका लागि देशभक्त समाजवादी, वामपन्थी, कम्युनिष्ट शक्ति सम्मिलित राजनीतिक गोलमेच संम्मेलन आयोजना गर्न पहल गर्ने, देशभरी विभिन्न क्षेत्रका नागरिक, व्यवसायी, बुद्धिजीवीसँग अन्तरक्रिया सञ्चालन गर्ने र उल्लेखित विषयसहित राष्ट्रपतिको ध्यान आकर्षित गर्न ज्ञापनपत्र पेस गर्ने र कात्तिक २० गते राजधानीमा बृहत् जनसभा आयोजना गर्ने बताइएको छ ।
