‘प्रचण्डले माओवाद छोडेर गम्भीर गल्ती गरे’

२०८२ मंसिर १६ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले प्रचण्डले माओवाद छोडेर गम्भीर गल्ती गरेको ठोकुवा गरेका छन् । सोमबार श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले पूर्व माओवादीहरु भित्र ८० प्रतिशत नेताकार्यकर्ताहरु इमानदार भएपनि प्रचण्डको गलत र दोहोरो चरित्रका कारण सबैलाई एकताबद्ध बनाउन नसकिएको बताउदै प्रचण्डले माओवाद छोडेर गम्भीर गल्ती गरेको ठोकुवा गरे ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेपाली श्रमिक जनताको नयाँ जनवादी राज्य व्यवस्था स्थापनाका निम्ति जनताले लडेको १० वर्षे महान जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनका विरुद्ध साम्राज्यवादी तत्वहरु एवं देशी प्रतिक्रियावादीहरुले षड्यन्त्रमुलक ढंगले ०६२–६३ पछि संघीय लोकतान्त्रिक गणतन्त्रको आवरणमा नेपाली जनताको टाउकोमा प्रतिक्रान्ति थोपरेपछि नेपाली राजनीतिमा नयाँ विद्रोहको विजारोपण बताए । उनले दलाल पूँजीपति वर्ग, दलाल संसदीय व्यवस्था र राज्यका सञ्चालक दलाल तत्वहरुले राष्ट्रघात र जनघातका कहालीलाग्दा श्रृंखला खडा गरेपछि कुनैपनि नेपाली जनताले यो देशमा आफ्नो भविष्य नदेख्ने हृदयविदारक अवस्था बन्न पुगेको ठोकुवा गरे । उनले सत्ता र कुर्सीको खेल, यसका निम्ति साम्राज्यवादीहरुका अगाडी आत्मसमर्पण र दलालीको लिगलिगे दौड, नातावाद–कृपावाद, भ्रष्टाचार, कमिशनको खेल, कालोवजारी, मानव तस्करी, वेरोजगारी र असैह्य जनजीविका राष्ट्रिय जीवनका समस्याका प्रमुख रुपहरु बन्न पुगेको तथ्य प्रस्तुत गर्दै यहि कारण नेपाली समाज विस्फोटक अवस्थामा पुगेको र जेन–जी विद्रोह भएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले जेन जी विद्रोहले दलाल पूँजीवाद र संसदीय व्यवस्थालाई भंग गरि दिएको तथ्य प्रस्तुत गर्दै भने- ‘ एक्काइसौं शताव्दीको तेस्रो दशकमा प्रवेश गरेको विश्वको बहुधूव्रीय चरित्रले अमेरिकी साम्राज्यवादी विश्वलाई दिएको चुनौतिका विरुद्ध अमेरिकी साम्राज्यवादले अगाडि सारेकोे हिन्द प्रशान्त रणनीति (आइपिएस) प्रयोगको एउटा केन्द्र नेपाललाई बनाउन विगत ६–७ वर्षको तयारीको पुरक बनाउने धृष्टता पनि अमेरिकी साम्राज्यवादले जेन–जी विद्रोहमा ग-यो । परिणामतः विद्रोह जेन–जीको, राज्यशक्तिको नियन्त्रण र प्रयोग साम्राज्यवादीहरुको भयो । जुन साम्राज्यवादका नाङ्गा दलालहरु अन्तरिम सत्तासिन भइराखेका छन् । विद्रोहपछि झन् नेपाली राष्ट्रियता र नेपाली जनताको स्वनिर्णयको अधिकार हजारौँ गुणा खतरामा परेको छ ।’

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सुशीला कार्की नेतृत्वको सरकारको जेन–जी विद्रोह पछिको विकराल अवस्थालाई सम्हाल्ने र समाधानको निम्ति ऐतिहासिक काम गर्ने ल्याकत नै नभएको बताउदै कार्की नेतृत्वको सरकारले उत्पीडित वर्ग, समुदाय, महिला, उत्पीडित क्षेत्रका जनता र देशको प्रतिनिधित्व नै नगर्ने ठोकुवा समेत गरे।
प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादीहरु नाङ्गो ढंगले नेपालको सत्तामा आइरहेको तथ्य प्रस्तुत गर्दै सुशिला कार्की नेतृत्वको सरकार विदेशी शक्ति केन्द्रहरुको डिजाइनमा बनेको हुनाले जनअपेक्षित काम गर्न नसकेको पनि ठोकुवा गरे । उनले सरकारको जनविरोधी हर्कत बढाउँदै गए माओवादीको नेतृत्वमा अर्को संघर्ष गर्नुपर्नेमा समेत जोड दिए ।
उक्त बैठकमा मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी.ले उपस्थित सबैलाई सशक्त तरिकाले काममा लाग्न आग्रह गर्दै । विशेषअधिकार श्रमिक/दलित समुदायलाई आवश्यक परेको हुँदा विशेष मेहनतका साथ क्रान्तिमा लाग्नुपर्नेमा जोड दिए ।
श्रमिक समुदाय मोर्चा , बागमती प्रदेशका इन्चार्ज पदम सी.को अध्यक्षतामा बसेको उक्त बैठकले माघ १० गते देखि काठमाडौंमा हुने मोर्चाको राष्ट्रिय सम्मेलन व्यवस्थित गर्न आवश्यक काम गर्ने निर्णयका साथै उत्पादनमुखी कामलाई प्रभावकारी बनाउने, जातीय विभेद विरुद्ध सशक्त संघर्ष गर्ने, स्वाधीनता र समाजवादका निम्ति निरन्तर संघर्ष गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]