‘वास्तविक माओवादी नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मात्रै हो’

२०८२ मंसिर २८ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले वास्तविक माओवादी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मात्रै भएको ठोकुवा गरेका छन् । नेकपा (माओवादी) बागमती प्रदेशद्वारा बिहिबार आयोजित वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै पार्टी प्रवक्ता तथा बागमती प्रदेशका इन्चार्ज प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।
उनले असली माओवादी आफूहरू भएपनि त्यसको रुप र सार पाउन ११ वर्ष लागेको बताउदै जनयुद्धका प्रतिनिधि र मार्क्सवाद, लेनिनवाद र माओवादबाट निर्देशित भएर नेपाली क्रान्तिलाई त्यसको आधारमा विकसित गर्ने पार्टी र नेतृत्व आफुहरूमात्र भएको ठोकुवा गरे।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले ११ वर्षको संघर्ष पछि आफूलाई माओवादीकै रुपमा प्रस्तुत गर्न पाएको उल्लेख गर्दै गत कात्तिक १९ गते पुष्पकमल दाहालले माधव नेपाल लगायतका अरु पार्टीहरूसँग एकताको नाममा माओवाद र माओवादी परित्याग गरेको ठोकुवा गरे । उनले दाहाललाई माओवादीले प्रयोग गरेको चुनाव चिन्ह पनि सैह्य नभएको तथ्य प्रस्तुत गर्दै उनले माओवादीलाई समाप्त पार्ने डिजाइन भएको बुझेर नै माओवादीलाई आफूहरूले पुनः ब्राण्डिङ गर्न लागेको बताए।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले माओवादी देशको विचारधारात्मक शक्ति, ब्राण्ड, नेपाली श्रमिक जनताको धड्कन भएको बताउदै नेपाली जनताको मनमनमा माओवादी, माओवादीको जनयुद्ध र विचार भएको ठोकुवा गरे। उनले माओवादीको नाम निशाना नराख्ने साम्राज्यवादीहरूको डिजाइनलाई असफल पारेकोसमेत बताए ।
प्रवक्ता प्रकाण्ड सीले वर्तमान सरकार अमेरिकी साम्राज्यवादको कठपुतली भएको र जेनजी आन्दोलनलाई साम्राज्यवादी शक्तिहरूले हडप्न खोजेको उल्लेख गर्दै त्यसलाई माओवादीले कुनैपनि मूल्यमा सफल हुन नदिने बताए।

प्रतिक्रियाहरु

[anycomment]