देशलाई अग्रगामी निकास दिन सर्वपक्षीय अन्तरिम सरकार अनिबार्य
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले देशलाई अग्रगामी निकास दिन सर्वपक्षीय अन्तरिम सरकार अनिबार्य भएको बताएका छन् । बिहिबार सो पार्टीको नवौं केन्द्रिय समितिको चौथो बिशेष बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताए । समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने , अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्ने बताए ।
महासचिव विप्लव सीले अन्तरिमकालको नेतृत्व नेकपा (माओवादी) लाई दिए आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्ने बताए। उनले राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्न जरुरी रहेको बताउदै अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतिर लैजानुपर्ने बताए ।
महासचिव विप्लव सीले जेनजी विद्रोहपछि पनि जनताका मूलभूत मागहरू सम्बोधन हुन नसकेको बताउदै भने- ‘ जेनजी आन्दोलनले भ्रष्टाचारीमाथि कारबाही, भ्रष्टाचारको अन्त्य, संविधान पुनर्लेखन तथा कार्यकारी प्रमुखलाई प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने प्रस्तावहरू अघि सारेको थियो । तर ती मागहरू व्यवहारमा लागू हुन सकेको छैन।’
यसैगरी, महासचिव विप्लव सीले पछिल्लो समय सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले जनताको चाहनाभन्दा बढी चुनावलाई मात्र केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै यसले आन्दोलनकारी, परिवर्तनकामी जेन–जी, जनता तथा विभिन्न राजनीतिक शक्तिहरूलाई सन्तुष्ट बनाउन नसकेको बताए । उनले भने- “नेपालमा राजनीतिक सङ्क्रमण र सङ्कट अझै कायमै छ,” “जनताबाट उठेका ठूला प्रस्तावहरू बेवास्ता भइरहेका छन् त्यसैले अब विश्वास गुमिसकेको अवस्थाबाट बाहिर निस्कन नयाँ राजनीतिक वातावरण निर्माण गर्नु अपरिहार्य छ ।”
