‘नयाँ आएपछि सबै ठिक हुन्छ भन्नु गलत’

२०८२ माघ ११ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले पुराना दल गलत भएकोले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताएका छन् ।सो पार्टीद्वारा आज आयोजित पार्टीको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पूराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास मात्रै भएको बताउदै भने- ‘अहिले लागेको नारामा पुराना दल गलत, नयाँ दल चाहिन्छ भन्ने नारा चाँही क्रान्तिकारी नारा होइन । यो चाहीँ भुलभुलैया गर्ने, जनतालाई भ्रमित पार्ने नारा हो । यहाँ दलसँगको समस्या होइन, जनतलो चाहेको त सत्ता हो नी । जनताले चाहेको त आफ्नो सेवा गर्ने हो, आफ्नो पक्षमा निर्णय गर्ने हो । न्यायपूर्ण ढंगले फैसला लिने सत्ता चाहिएको हो नि जनताले । त्यो नयाँ दल र पुराना दलको कुरा होइन ।’
महासचिव विप्लव सीले अहिले सत्ताको बहस ओझेलमा पारेर बाहिरी फैलाइएको नयाँ र पुराना दलको हल्लाखल्ला सत्य नभएको बताउदै नयाँ दलप्रति जनतामा देखिएको आशा केही हदसम्म पुराना दलको असफलताबाट जन्मिएको भएपनि पूरानो राज्यसत्ता यथावत रहेसम्म नयाँ दल आएर मात्रै समस्या समाधान नहुने ठोकुवा गरे । उबले भने-‘पूराना दलहरु कामै नलाग्नेगरि खत्तम भए, त्यहाँबाट भ्रष्टाचार जन्मियो, विकृति जन्मियो, त्यहाँबाट सारा जनतालाई लुटपाट भयो, देश चाहीँ राष्ट्रघातमा पर्‍यो भन्ने हिसावले पुराना दलले गरेनन् भन्नेकुरा एक तहसम्म त मिल्छ, तर यो चाहीँ कति सत्य होइन भन्दाखेरि नयाँ दल आउने वित्तिकै यो सत्ता यस्तै रह्यो भने अनि ठिक भइहाल्छ भन्ने कुरा चाँही सत्य होइन।’

महासचिव विप्लव सीले पुरानो सत्ता संरचना र चरित्र बदल्नसक्ने स्पष्ट दृष्टिकोण भएका नेताको आवश्यक भएको बताए। उनले नयाँ भन्नेहरूमध्ये कसैबाट पनि त्यो परिवर्तनकारी दृष्टिकोण नदेखिएको भन्दै पुरानो सत्तालाई बदलेर जनताको सत्ता निर्माण गर्नसक्ने शक्ति नेकपा माओवादी मात्रै भएकोले जनतालाई यो कुरा बुझाउन निर्देशन दिए ।

प्रतिक्रियाहरु

[anycomment]