‘संसदमा सुविधा भोग्न होइन, राज्य व्यवस्था बदल्न जान खोजेका हौँ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले आफ्नो पार्टी संसद सुविधा भोग्न नभएर जनताको मुद्दा उठाउन र राज्य व्यवस्था बदल्न जान खोजेको ठोकुवा गरेका छन् । सो पार्टीको पश्चिम लुम्बिनी प्रदेश समितिद्वारा आयोजनाद्वारा सोमबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उबले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले पार्टीले जनताको पक्षमा निस्वार्थ रूपमा लामो समयदेखि संघर्ष गर्दै आएको र त्यसका लागि त्याग, बलिदान, जेल जीवन र पीडाका अनेक चरण पार गरेको उल्लेख गर्दै भने- ‘देश र जनताको पक्षमा सडकबाट लडाईको नेतृत्व गरेका हौं तर अब सदनबाट पनि लड्नुपर्छ भनेर चुनावमा आएका छौँ । यो चुनाव विशेष परिस्थितिमा षड्यन्त्रमुलक ढंगले हुँदैछ , जनतालाई बुझाउदै हाम्रा विषयहरु राख्ने छौँ । यो चुनाव एकीकृत क्रान्तिको एउटा मोर्चा हो । अहिलेसम्मका कम्युनिस्टहरुको बुझाई भन्दा भिन्न संघर्षको मोर्चा हो ।’
यसैगरी, महासचिव विप्लव सीले पार्टीको राजनीति स्वार्थकेन्द्रित नभई देश र जनताको मुक्तिका लागि समर्पित रहेको बताए । उनले आफूहरूका विषय र प्रस्तावहरू नेपाली जनताको दुःख, पीडा र भविष्यसँग प्रत्यक्ष जोडिएको बताउदै भने- “हामी संसदमा सुविधा भोग्न होइन, जनताको मुद्दा उठाउन र राज्य व्यवस्था बदल्न जान खोजिरहेका छौँ। ”
महासचिव विप्लव सीले वर्तमान राज्य संरचना र अर्थतन्त्र दलाल तथा मुट्ठीभर धनाढ्यको नियन्त्रणमा रहेको आरोप लगाउँदै श्रम गर्ने जनताको पक्षमा व्यवस्था परिवर्तन आवश्यक रहेको बताए। उनले देशभर उम्मेदवार र कार्यकर्ताले जनताबाट सकारात्मक प्रतिक्रिया र समर्थन पाइरहेको समेत बताए ।
महासचिव विप्लव सीले जनताको सल्लाह र सुझावअनुसार अघि बढ्दै जनमुखी राज्य, श्रमिकमैत्री अर्थतन्त्र र न्यायपूर्ण समाज निर्माण गर्ने पार्टीको लक्ष्य स्पष्ट रहेको बताए । उनले पहिलोपटक चुनावमा होमिएको पार्टीले संविधानको संसोधन गर्दै राज्यको अग्रगामी पुनर्संरचना , संविधानको पुनर्लेखन , अग्राधिकार सहितको समाजवादी संघीयता , नयाँ आर्थिक प्रणालीको विकास , रोजगारीको सिर्जना , भ्रष्टाचार विरुद्ध बिशेष न्यायलय लगाएतका एजेन्डा सहित चुनाव होमिएको बताए । उनले देशका थुप्रै निर्वाचन क्षेत्रमा जनताको पार्टीप्रति उत्साहपुर्ण समर्थन रहेको बताउँदै गुलाफ चिन्हमा मतदानगरी पार्टीका उम्मेदवारहरुलाई विजय बनाउन अपिल समेत गरे ।
पार्टीका स्थायी समिती सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष बुढामगर (विषम)को अध्यक्षतामा भएको उक्त विशेष प्रशिक्षण कार्यक्रमको सञ्चालन पार्टीका पोलिटब्युरो सदस्य अमर झाक्री (सञ्जीव)ले गरेका थिए ।
