‘चुनाव जेनजी आन्दोलनको मर्म विपरीत’

२०८२ माघ ३० गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले चुनाव जेनजी आन्दोलनको मर्म विपरीत भएको ठोकुवा गरेका छन्। सो पार्टीद्वारा बिहिबार हेटौंडामा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले फागुन २१ गतेको चुनाव जेनजी आन्दोलनको मर्म विपरीत हुन लागेको बताउदै राज्य पुर्नसंरचना, संविधान संशोधन, भ्रष्टचार अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुने गरी चुनाव हुनुपर्ने बताए ।
यसैगरी, महासचिव विप्लव सीले वर्तमान सरकारको मन्त्रीमण्डल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कब्जा गरेको आरोप लगाउदै एनजिओमा काम गर्ने व्यक्तिहरुलाई समावेश गरेर सरकार गठन भएको बताए । उनले आफु अनुकुल नियम कानुन बनाएर मन्त्री पदबाट राजीनामा दिएर रास्वपाबाट चुनाव लड्न गएको उल्लेख गर्दै अहिले मन्त्रीमण्डलमा भएका मन्त्रीहरु नै निष्पक्ष नभएको र रास्वपालाई चुनावमा सहयोग गर्ने मनसायमा रहेको समेत ठोकुवा गरे । उनले सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने भन्दै चुनाव गराउने आधार र अधिकार समेत वर्तमान सरकारलाई नभएको बताए ।
महासचिव विप्लव सीले प्रधानमन्त्री कार्कीलाई संविधानको कुन धारा अनुसार र कसको स्वीकृतिमा प्रधानमन्त्री बनेको भन्दै प्रश्न गर्दै नेपाललाई विदेशी राष्ट्रहरुले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजिरहेको बताए । उनले देशलाई निकास दिने उद्देश्य सरकारको नरहेको ठोकुवा गर्दै राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गर्ने साम्राज्यवादीको विरुद्धमा संघर्ष गर्नुपर्ने बताए ।
यसैगरी, महासचिव विप्लव सीले ठुला–ठुला षड्यन्त्र मार्फत चुनावलाई निष्पक्ष हुन नदिने खेल काठमाडौँमा चलिरहेको समेत उल्लेख गर्दै चुनावी मोर्चाबाट आफ्नो पार्टी नहट्ने बताए । उनले गणतन्त्रको १८ वर्षको अवधिमा जनताप्रति समर्पित दलहरुलाई आगामी चुनावमा जिताउन आग्रह गर्दै राष्ट्रिय स्वाधिनताको पक्ष र भ्रष्टचारको विरुद्धमा नेकपा माओवादी बाहेक अरु कुनै पनि पार्टी सडकमा नरहेको ठोकुवा गरे ।

प्रतिक्रियाहरु

[anycomment]