मोबाइलको गुणस्तर जाँच्न स्वचालित मेसिन ल्याउने तयारी
काठमाडौ, – दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले दूरसञ्चार सेवा गुणस्तर अध्ययनका लागि स्वचालित मेसिन (अटोमेटेड ड्राइभ टेस्ट) ल्याउने तयारी भएको बताएका छन । मेसिन आएपछि दूरसञ्चार कम्पनीले दिने सेवाको गुणस्तर सुधारको काम अघि बढाउन सजिलो हुनेछ । हाम्रो आवश्यकता अनुसार कस्तो मेसिन चाहिने हो टुंगो लागिसकेको छ, दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, ‘छिट्टै टेन्डर आह्वान गरेर काम अघि बढ्नेछ ।’ गुणस्तर जाँच गर्न ल्याउन लागिएको स्वचालित मेसिनबाट जुनसुकै स्थानमा अध्ययन गर्न सकिनेछ । प्राधिकरणले दूरसञ्चार कम्पनीबाट ग्राहकले पाउनुपर्ने न्यूनतम गुणस्तर तोके पनि चाहेको समय परीक्षण गर्न सजिलो थिएन । मेसिन भित्रिएपछि प्राधिकरण आफैंले चाहेको स्थान र समयमा परीक्षण गर्न सक्नेछ । मेसिन आउनुअघि पनि प्राधिकरणले ११ जिल्लाका तीन सेवा प्रदायकको गुणस्तर अध्ययन गर्ने तयारी थालेको छ । जसमा नेपाल टेलिकम, एनसेल र युनाइटेड टेलिकमको सेवा निश्चित क्षेत्रमा हेर्ने तयारी भएको छ ।
प्राधिकरणले अध्ययनका लागि कम्पनी चयन गर्न आवेदन खोलिसकेको छ । सेवाको कार्यक्षमता र ग्राहकको मत सर्वेक्षण अध्ययन गर्न इच्छुक कम्पनी खोज्ने काम थालिएको हो । मोबाइल सेवाको विस्तार भइरहे पनि गुणस्तरमा सुधार नआएको भन्ने गुनासो बढ्दै गएपछि प्राधिकरणले अध्ययनको तयारी गरेको हो । कम्पनी छनोट गरेर सम्झौता भएपछि ३ महिनाभित्र अध्ययन सकिने अनुमान प्राधिकरणको छ । प्राधिकरणले गर्न लागेको अध्ययनमा काठमाडौं, बनेपा, वीरगन्ज, धनगढी, बुटवल र भैरहवा लगायतका क्षेत्र राखिएको छ ।
करिब २ वर्षअघि प्राधिकरणले काठमाडौं सहित पोखरा, विराटनगर र नेपालगन्जमा सेवाको गुणस्तर हेरेको थियो । जसले अघिल्लो अध्ययनमा देखिएजस्तै गुणस्तरको सुधार नभएको सार्वजनिक भएको थियो । अध्ययनपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई आफ्नो गुणस्तर सुधार गर्न निर्देशन दिएको थियो । उक्त समय सबै कम्पनीको सेवा तोकिएको मापदण्ड भन्दा तल पाइएको थियो ।
कम्पनीले दिने सेवाको गुणस्तरबारे लामो समयदेखि गुनासो आइरहेको छ । प्राधिकरणले अध्ययन गरेर सुधारको निर्देशन दिए पनि उपभोक्ता सुधार नभएको बताउँदै आएका छन् । पछिल्लो समय इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनले सरकारलाई सेवाको गुणस्तर नियमन बलियो बनाउन आवश्यक सुधारका लागि चालिनुपर्ने कदमबारे सुझाव दिन लागेको छ । सेवा प्रदायक कम्पनीले गुणस्तर सुधार भएको दाबी गरिरहे पनि वास्तविकता फरक रहेको प्राधिकरण स्रोत बताउँछ । ‘कम्पनीले सुधारको दाबी गरे पनि उपभोक्ताको गुनासो बढिरहेकै छ,’ स्रोतले भन्यो ।
दूरसञ्चार ऐनको दफा १४ ले प्राधिकरणलाई सेवाको गुणस्तर निर्धारण गर्न र तोक्न सक्ने अधिकार दिएको छ । जसलाई आधार बनाएर मोबाइलबाट कुरा गर्दा सेवा प्रदायकले उपलब्ध गराउनु पर्ने प्रावधान राखिएको छ । जस अनुसार ९० प्रतिशतभन्दा बढी ग्राहक सेवा प्रदायकबाट सन्तुष्ट भएको हुनुपर्ने, कल ड्रप ३ प्रतिशत कम हुनुपर्ने, ९० प्रतिशत भन्दा बढी कल एकै पटकमा लाग्नु पर्ने लगायतका प्रावधान राखिएको छ ।
ग्राहकको गुनासो र दूरसंचार प्राधिकरणको निर्देशन बढेपछि सेवा प्रदायकले बीटीएस टावर थप्ने र भएकालाई मर्मत गर्ने काम बढाएका छन् । तर सेवा उपभोक्ताको तुलनामा तयारी फितलो भएपछि धेरै सुधार आउन सकेको छैन ।
माघसम्मको तथ्यांकअनुसार मोबाइल प्रयोगकर्ताको संख्या जनसंख्याको ६५ प्रतिशत बढी पुगिसकेको छ । मोबाइल सेवा प्रदायक कम्पनीको प्रतिस्पर्धाका कारण बढेको उपभोक्ता संख्याले कुल दूरसञ्चार सेवाको पहुँच ७३ प्रतिशतभन्दा बढी माझ पुर्याएको छ ।