स्काइपको १० वर्षे यात्रा

२०७० भाद्र २७ गते, बिहीबार

काठमाडौ, – स्काइप अर्थात अनुहार हेर्दै कुराकानी गर्न सकिने प्रविधि आजकल निकै लोकपि्रय बनेको छ । स्काइपले केही दिनअघि १० वर्षे यात्रा पूरा गर्‍यो । स्काइपका चिफ मार्केटिङ अफिसर एलिसा स्टिलको भनाइमा ‘टाढा भए पनि आमा र छोरी एउटै भान्साको टेबुलमा बसेर कुराकानी गरेजस्तै अनुभव’ स्काइपले दिलाइरहेको छ । सबैलाई आश्चर्यचकित अनुभव गराउने हाई डिफिनिसन भ्वाइसका साथ आफन्त वा साथी ‘आफूसँगै साथै भएको अनुभव गराउने’ स्काइप आज धेरैका लागि पि्रय एप्लिकेसन भएको छ । यसैका कारण नै कुनै व्यक्ति आफन्तसँग साथै बसेजस्तै गरी कुराकानी गर्न सक्छन् । एक ठाउँबाट संसारको जुनै कुनामा रहेकासँग फेस टु फेस गफ गर्न सकिन्छ । सन् २००३ को अगस्ट अन्तिम दिनमा स्वीडेनका निकलस जेन्स्ट्रोग र डेनमार्कका जेनस फ्रिसले स्काइपलाई प्रयोगमा ल्याएका थिए । भ्वाइस सेवा उपलब्ध गराउने कम्पनीको प्रयोग समेत धेरैले गर्न नपाएको अवस्थामा भ्वाइसका साथमा भिडियोसमेत उपलब्ध गराउने सेवा अचानक प्रयोग गर्न पाउँदा मानिसको मन कति खुसी भयो होला ?
त्यसैका कारण नै यो लोकपि्रय बन्यो र पहिलो तीन महिनामै स्काइपका १५ लाख प्रयोगकर्ता पुगेका थिए । यसले लामो समय गरिने अडियो कुराकानीलाई भिडियो कुराकानीमा परिणत गर्न सक्षम भएको थियो । हाल योमार्फत एकै दिनमा ३० करोड प्रयोगकर्ताले २ अर्ब भ्वाइस कल प्रयोग गर्छन् । वास्तवमा स्काइप एउटा ब्रान्ड नेम हो । यो एउटा कम्पनीको नाम हो । तर सबैले स्काइप गर्ने भन्छन् । यसले गर्दा यो नाम होइन क्रियामा परिणत भएको छ । स्काइपको लोकपि्रयतालाई बढाउनमा समय समयमा यसले थपेका विभिन्न सुविधाले पनि भूमिका खेलेका हुन् । सन् २००४ को फेब्रुअरीमा स्काइपमार्फत अडियो कन्फ्रेन्स कलिङसमेत गर्न सकिने भयो । सन् २००७ को डिसेम्बरमा यसका ५ करोड कनेक्टेड युजर भए ।
सन् २०१० को जनवरीमा यसलाई टिभीमा पनि प्रयोग गर्न सकिने भयो भने त्यही वर्षको सेप्टेम्बरमा ग्रुप भिडियो कलिङ गर्न मिल्ने सुविधा थप भयो । सन् २०११ को जुलाईमा स्काइपद्वारा फेसबुक भिडियो कलिङको सुरुवात गरियो । अनि त्यही वर्षको अक्टोबरमा स्काइप माइक्रोसफ्टको एउटा भाग भयो । यसका २० करोड कनेक्टेड युजर भए । माइक्रोसफ्टले साढे आठ अर्ब डलरमा स्काइप किनेको थियो । त्यसैले त एउटा अन्तर्राष्ट्रिय संस्था टेलिजियोग्राफीले अन्तर्राष्ट्रिय कलमध्ये २५ प्रतिशत स्काइपले प्रदान गर्ने तथ्यांक प्रकाशित गर्‍यो । यो वर्षको जुलाईमा विश्वको स्काइप टु स्काइप मिनेटमा ५५ प्रतिशत बढोत्तरी भएको स्काइपद्वारा जानकारी दिइयो । यी सबैका कारण स्काइप अब भिडियो कलिङका लागि महत्त्वपूर्ण प्रविधि बनेको प्रमाणित हुन्छ ।पछिल्लो समयमा फेसटाइम, निम्बज, विच्याट, भाइबर आदि प्रतिस्पर्धी पनि आएका छन् । तर पनि पुरानो र प्रतिष्ठित भएकैले स्काइपको लोकपि्रयतालाई कसैले पनि छुन सकेका छैनन् ।पछिल्ल्ाो समयमा डेस्कटप कम्प्युटरबाट समेत सेयरिङ गरी कुराकानी गर्न सकिन्छ । ल्यापटप, ट्याब्लेट वा मोबाइलबाट त हुने नै भयो । कम्पनीले थ्रीडी भिडियो कलिङका लागि कार्य गरिरहेको, तर थ्रीजी प्रविधिमा भएको सीमितताका कारण यसको प्रयोगलाई व्यावहारिक रूप प्रदान गर्न कठिनाइ छ ।
गत जूनमा सकिएको आर्थिक वर्षमा माइक्रोसफ्टको इन्टरटेनमेन्ट र डेभलपमेन्ट डिभिजन, जसमा स्काइप पनि संलग्न छ, ले ८४ करोड ८० लाख डलरको परिचालन आम्दानी गरेको घोषणा गर्‍यो, जुन गत आर्थिक वर्षमा ३८ करोड मात्र थियो । यद्यपि स्काइपले निःशुल्क कुराकानी गर्न दिएर कसरी पैसा कमाउँछ भन्ने चासो भने धेरैमा हुने गरेको छ । निःशुल्क कुराकानी गर्नका लागि दुवैतिर स्काइप आईडी भएका व्यक्ति हुनु आवश्यक छ । यो बाहेक एकतिर स्काइप आईडी भएकाले अर्कोतिर नभएकासित पनि भिडियो कल गर्न सक्छन् । अमेरिकामा रहेको कुनै व्यक्तिले नेपालको पहाडी भागमा बसेका आफ्ना बाबुआमासँग कुरा गर्नुपर्‍यो भने केही पैसा स्काइपका लागि खर्च गर्नुपर्छ । सबैको स्काइप आईडी नहुन सक्छ । भए पनि यसका लागि आवश्यक उपकरण नहुन सक्छ । यो बाहेक स्काइप क्रेडिट कार्ड आदिको बिक्रीबाट पनि कम्पनीको आम्दानी भइरहेको हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]