विद्युतीय शवदाह गृह सञ्चालनमा
काठमाडौ, १० माघ । आजदेखि पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृह सञ्चालन हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सञ्चालनमा ल्याउन लागेको सो गृहको निर्माण कार्य सम्पन्न भएको कोषले जनाएको छ । संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले औपचारिक रुपमा आज विद्युतीय शवदाह गृहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सुरुमा कोषमा भएका दुईवटा विद्युतीय शवदाह मेसिनको प्रयोग गरिनेछ। एउटा शव जलाउनका लागि विद्युतीय मेसिनमा जम्मा ४५ मिनेट मात्र लाग्छ । सो मेसिन २४ सै घण्टा सञ्चालनमा ल्याउने कोषको तयारी छ ।
तराईको आन्दोलन र भारतीय अघोषित नाकाबन्दी भएको अवस्थामा धेरै मानिसले खाना पकाउनका लागि दाउराको प्रयोग बढेपछि शव जलाउनका लागि दाउराको अभाव भइरहेको सन्दर्भमा राम्रो विकल्पको रुपमा विद्युतीय शवदहन मेसिनलाई लिइएको छ । ‘सस्तो र कम समय लाग्ने भएकाले परम्परागत दाउरा र घिउबाट जलाउनुभन्दा विद्युतीय मेसिनबाट शव जलाउनु बढी उपयोगी छ’(पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले भने ।
परम्परागत शव दाहसंस्कार भन्दा विद्युतीय मेसिनबाट दाहसंस्कार निकै कम खर्चमा गर्न सकिन्छ । पराम्परागत रुपमा रु आठ हजारदेखि रु १० हजारसम्म खर्च लाग्छ । विद्युतीय मेसिनबाट रु तीनहजार मात्र लाग्छ ।
उक्त विद्युतीय मेसिन भारतबाट ल्याइएको हो। विद्युतीय शवदहन मेसिन र गृह निर्माणका लागि रु ११ करोडको नेपाल सरकारको बजेट अनुदानमा कोषले निर्माण गरेको हो । विद्युतीयमाध्यमबाट शवदाहको परिकल्पना २०३९ सालमा गरिएको भएपनि २०६९ सालमा मात्र विद्युतीय शवदहन गृहको शिलान्यास गरिएको थियो ।
औपचारिकरुपमा आजदेखि सञ्चालनमा ल्याउने भनिए पनि विद्युतीय मेसिनबाट शव जलाएर परीक्षण भने गत भदौ १७ गते नै गरिएको थियो । भूकम्पका कारण मृत्यु भएका र शिक्षण अस्पतालमा बेवारिसे अवस्थामा रहेका दुईवटा शवलाई जलाएर विद्युतीय मेसिनको परीक्षण गरेको कोषका सदस्य सचिव डा टण्डनले बताए ।
‘विद्युतीय मेसिनबाट शवदहन धुवाँरहित हुन्छ, जसले गर्दा गन्ध आउँदैन, वातावरणमैत्री र समयअनुकुल दुबै छ, खर्च र समय दुबै बचत हुन्छ’–उनले भने । पशुपतिमा सञ्चालनमा ल्याएर प्रभावकारी भएमा नारायणगढ, पोखरा, विराटनगरलगायतका सहरमा पनि विस्तार गर्ने सरकारको योजना छ । छिमेकी राष्ट्र भारत तथा युरोपका धेरै राष्ट्रमा धेरै लामो समयदेखि विद्युतीय शवदहन मेसिनबाटै शवदहन गर्ने गरिएको छ ।