साइबर क्राइम प्रहरीका लागि टाउको दुखाई

२०७२ चैत्र १४ गते, आईतवार

काठमाडौं,१४ चैत । नेपाल प्रहरी मातहतका तीन निकाय अहिले एकै प्रकृतिको अपराध अनुसन्धानमा केन्द्रित छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा अनि काठमाडौं परिसर गम्भीर प्रकृतिको साइबर क्राइम जालो खोतल्न जुटेका हुन् ।
ब्युरोले सामाजिक सञ्जालमार्फत सम्बन्ध विस्तार गरी भएको बलात्कार घटनामाथि अनुसन्धान केन्द्रित गरेको छ भने महाशाखा हत्या अनि परिसर संगठित ठगीमाथि अनुसन्धान गरिरहेका छन् ।
केही वर्षअघिसम्म चरित्रहत्याका उजुरीमा सीमित साइबर क्राइम अहिले बलात्कार, हत्या, ठगीसम्म फैलिएपछि प्रहरी चनाखो भएको हो । तर, बलियो नीति, अन्तर्राष्ट्रिय पहुँच, जनशक्ति र साधनस्रोत अभावमा अपराध नियन्त्रण थप जटिल हुँदै गएको प्रहरी अधिकारी नै बताउँछन् ।
साउदी अरबमा रहेका बेला फेसबुकमार्फत साथी बनेकी युवतीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरी ुब्ल्याकमेलु गरेको अभियोगमा नीरजकुमार चौधरी ब्युरोको हिरासतमा छन् ।
चौधरीले नेपाल आएका बेला युवतीलाई प्रलोभनमा पारी होटलमा लगेर बलात्कार गरेको उजुरी छ । त्यस क्रममा युवतीको नग्न तस्बिर खिचेर ब्ल्याकमेल गरी निरन्तर यौनशोषण गरेको अभियोग चौधरीलाई छ । यो प्रकरणपछि साइबर क्राइम आकर्षित हुने यस प्रकृतिको घटना यो पहिलो नरहेको विश्लेषण गर्र्दै ब्युरो अन्य पीडितको खोजीमा सक्रिय भएको हो ।
त्यसै गरी, महाशाखाका अधिकारी भेनिसा लिम्बू हत्या अनुसन्धानमा केन्द्रित छन् । तीन महिनाअघि फेसबुकमा चिनजान भएका साथीको विश्वासमा पर्दा लिम्बूको हत्या भएको महाशाखाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले जनाएको छ ।
प्रहरीले हत्या अभियोगमा सनी लामा, सजित लामा र राजन राईलाई पक्राउ गरे पनि मुख्य आरोपी अझै फरार छन्। प्रहरी उनको खोजीमा जुटेको छ । महाशाखा परिसरमै रहेको काठमाडौं परिसरका अनुसन्धान अधिकारी तीन दिनयता नक्कली अमेरिकी आर्मी बनेर ठगीमा संलग्न दम्पतीमाथि अनुसन्धान गरिरहेका छन् ।
पक्राउ पर्नेमा जीवन लामा र उनकी पत्नी सुबी छन् । प्रहरीका अनुसार लामाले आफूलाई अमेरिकी आर्मी बताउँदै फेसबुकमार्फत युवतीसँग सम्बन्ध बढाई उनीहरूलाई अमेरिका लैजाने प्रलोभन देखाएर ठगी गर्दै आएका थिए ।
आफ्नो योजना पूरा हुनेबित्तिकै उनी सम्पर्कविहीन हुने गरेका थिए । यसमा उनकी पत्नीको समेत संलग्नता पाएपछि परिसरका अधिकारी दुवैलाई हिरासतमा राखी उनीहरुबाट ठगिएका व्यक्तिको फेहरिस्त उतारिरहेका छन् ।
परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीका अनुसार उनीहरूविरुद्ध शनिबारसम्म १६ जनाले उजुरी दिइसकेका छन् । ती उजुरीमा दाबी गरिएअनुसार ठगीको रकम ४० लाख पुगेको छ ।
चरित्रहत्या हुँदै हत्यातिर
सामाजिक सञ्जालमार्फत भएका अपराध अनुसन्धानमा प्रहरी जोडिएको ६ वर्षअघिदेखि नै हो। २०६६ मा प्रहरीले साइबर क्राइम अनुसन्धान सुरु गर्दाताका इमेल ह्याक का उजुरी आउँथे । बिस्तारै इमेलमार्फत आएको चिट्ठाको प्रलोभनमा परी ठगिएका उजुरी थपिन थाले ।
फेसबुकको बढ्दो प्रयोगसँगै २०६८ बाट चरित्रहत्या केन्द्रित उजुरी पनि आउन थाले । अरू कसैको नग्न तस्बिरमा आफ्नो टाउको टाँसेर फेसबुकमा राखिदिएको, सहमतिमै खिचेका तस्बिर सार्वजनिक गरिदिएको, अश्लील गालीगलौज गरी चरित्रहत्या भएको जस्ता उजुरी अनुसन्धानमा अभ्यस्त बन्दै गएको प्रहरी पछिल्लो समय सामाजिक सञ्जालमार्फत भएका गम्भीर घटनाको अनुसन्धानमा व्यस्त छ ।
प्रारम्भमा चरित्रहत्यासम्बन्धी घटना बढी आउँथे अहिले अपराधको प्रकृति गम्भीर बन्दै गयो, ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले भने, ुसामाजिक सञ्जालमा आपराधिक मानसिकता भएका व्यक्तिको संख्या र सक्रियता बढेको देखियो ।
साइबर क्राइम अनुसन्धानमा संलग्न अनुभवी प्रहरी अधिकारीका अनुसार प्रारम्भमा सामान्य रूपमा झाँगिएको सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल दुरुपयोग गरी बदला लिने प्रवृत्ति बढी देखिन्थ्यो ।
पछिल्ला केही घटनाले भने अपराधको योजना नै पहिल्यै तय गरेर सामाजिक सञ्जालमा सक्रिय हुने देखाएको छ। प्रहरी अधिकारी यसलाई गम्भीर चुनौतीका रूपमा विश्लेषण गर्छन् ।
साइबर क्राइम अनुसन्धानमा ६ वर्षदेखि संलग्न डिएसपी नरेश मल्ल आपराधिक मानसिकता बोकेकाहरूले फेसबुकलाई सम्बन्ध विस्तारको हतियार बनाइरहेको बताउँछन् ।
सामाजिक सञ्जालमार्फत भइरहेका अपराधको प्रकृति हेर्दा आत्तिहाल्नुपर्ने अवस्था छैन, ब्युरोमा कार्यरत उनले भने, ुतर अपराधबाट बच्न गम्भीर हुन भने आवश्यक छ ।
फेसबुक अगाडि
विभिन्न प्रहरी कार्यालयमा आएका उजुरीमध्ये फेसबुकमार्फत भएका अपराधको संख्या उच्च छ । ब्युरोको तथ्यांकमा साइबर क्राइमसम्बन्धी परेका उजुरीमा ७० प्रतिशतभन्दा बढी फेसबुकसँग जोडिएका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका उजुरीको प्रकृति पनि यसभन्दा फरक छैन । फेसबुकमा परिवारको पहुँच फैलिएपछि किशोरकिशोरी इन्स्ट्राग्रामु तिर लागेको डिएसपी मल्लको ठम्याइ छ ।
परिवार सदस्यले फेसबुकमा हुने गतिविधि सहजै अनुगमन गर्न सक्ने भएकाले किशोर उमेरकाहरू इन्स्ट्राग्रामतिर आकर्षित भएको विश्लेषण उनी गर्छन् । उजुरीमध्ये बढीजसोमा पीडक र पीडित दुवै फेसबुक प्रयोगकर्ता छन्, उनले भने, किशोर प्रयोगकर्ताको बढ्दो प्रवेशसँगै इन्स्ट्राग्राम दुरुपयोग बढ्ने जोखिम छ ।
अपराध तुलनामा कम उजुरी
प्रहरी तथ्यांकअनुसार ६ वर्षयता साइबर क्राइमसम्बन्धी करिब ६ सय उजुरी परेका छन् । घटनाको तुलनामा यो संख्या निकै कम रहेको प्रहरी अधिकारी बताउँछन् । ब्युरोका डिआइजी सिलवालको विश्लेषणमा सामाजिक सञ्जालमार्फत पीडित भएको उजुरी जति आएका छन्, घटनाको संख्याका आधारमा ती एक तिहाइ पनि हैनन् ।
पीडित लोकलाजका कारण सुरुमा चुप बस्ने, अति भएपछि मात्रै प्रहरीमा आउने गलत प्रवृत्ति रहेकाले अपराधीको मनोबल बढेको उनको भनाइ छ ।
यातनाले बाँच्नै कठिन भइसकेपछि मात्रै चौधरीबाट प्रताडित युवती ब्युरोमा उजुरी गर्न आएकी हुन्, डिआइजी सिलवालले भने, उसको आपराधिक प्रवृत्ति हेर्दा पीडित एक जना मात्रै पक्कै होइन तर अरू ब्युरोको सम्पर्कमा आएका छैनन्, घटना सार्वजनिक भएपछि आउने आशामा छौं ।
अनुसन्धान जटिल
चरित्रहत्या र ठगीमा मात्रै होइन, फेसबुक, भाइबर, ह्वाट्सएप लगायत सामाजिक सञ्जाल प्रयोगमा संगठित अपराधीसमेत उत्तिकै सक्रिय छन् । साइबर क्राइम अनुसन्धानका लागि प्रहरी फरेन्सिक ल्याब सहित सक्रिय देखिए पनि अपराधको फेरिँदो प्रवृत्ति र सूचनामा सहज पहुँच अभावमा अनुसन्धान पद्धति निकै जटिल छ ।
भाइबर, ह्वाट्सएप र फेसबुकमार्फत हुने कलमा नियमन सम्भव नै छैन । केही अपवादबाहेक फेसबुकमार्फत भएका गम्भीर अपराध अनुसन्धानको निचोड पेज बन्द गर्न मात्र सक्नुले समेत अनुसन्धानमा पहुँच प्रस्ट हुन्छ ।
सामाजिक सञ्जालमार्फत हुने आपराधिक घटना अनुसन्धानका लागि आवश्यक सामग्रीमा सहज पहुँच नहुँदा गम्भीर प्रकृतिका घटना अनुसन्धानमा प्रभाव पारिरहेको प्रहरी अधिकारी स्विकार्छन् ।
फेसबुक, ट्विटर, भाइबर लगायत सञ्जालको नेपालमा समन्वय कार्यालय नहुँदा अपराधमा संलग्न व्यक्तिबारे आवश्यक सामग्री सहज र समयमा पाउन सम्भव छैन ।
मानव ओसारपसार, लागुऔषधजस्ता अन्तर्राष्ट्रिय आपराधिक घटनामा अन्य देशमा रहेका सामाजिक सञ्जालका जिम्मेवार निकायले सहयोग गरे पनि अन्य प्रकृतिका अपराध अनुसन्धानमा सामग्री दिन त्यति रुचाउँदैनन् ।
आधिकारिक रूपमा सामग्री माग्दा कानुनी बाटोबाट आउन आग्रह हुने तर नेपालले कुनै देशसँग पनि अपराध अनुसन्धानका सामग्री लिन पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धि नगर्दा व्यक्तिगत सम्बन्धका आधारमा अनुसन्धान अघि बढाउनुपर्ने बाध्यता रहेको प्रहरी अधिकारी बताउँछन् ।
विद्युतीय माध्यममार्फत हुने कारोबार नियमन गर्न बनेको कानुनबाहेक साइबर क्राइम नियन्त्रणका लागि अन्य कानुनसमेत छैन ।
यसले समेत अनुसन्धान र अपराधमा संलग्नलाई दण्डित गरी निरुत्साहित गर्ने चुनौती रहेको प्रहरी अधिकारी बताउँछन् । कानुनी रूपमा अहिले जुन अवस्था छ, त्यसमा सुधार नगर्ने हो भने साइबर क्राइमको चुनौती सामना गर्न हम्मे नै पर्छ, अनुसन्धानमा संलग्न एक अधिकारीले भने, अपराधको फेरिँदो स्वरूपसँगै साधन, जनशक्ति, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार अत्यावश्यक छ । – केपी ढुंगाना, नागरिक दैनकिबाट

प्रतिक्रियाहरु

[anycomment]