उत्तर कोरियाद्वारा पुन क्षेप्यास्त्र परीक्षण

२०७४ श्रावण १४ गते, शनिबार

काठमाडौं, १४ साउन । उत्तर कोरियाले लामो दुरीसम्म मार हान्न सक्ने क्षमताको अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । जापान र दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेका हुन् । उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण करिब ३ हजार किलोमिटर टाढा जापानी समुद्रमा खसेको जापानी राष्ट्रिय प्रसारण संस्था एनएचकेले जनाएको छ । यही महिनाको शुरुमा पनि उत्तर कोरियाले एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको थियो ।
पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्रले कति परसम्म मार हान्न सक्छ भन्ने प्रष्ट भइसकेको छैन । केही विज्ञले भने उक्त क्षेप्यास्त्रले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने बताएका छन् । पछिल्लो परीक्षण सन् २०१७ मा उत्तर कोरियाले गरेको १४ औं क्षेप्यास्त्र परीक्षण हो । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेकोमा अमेरिका, दक्षिण कोरिया, जापानलगायतका मुलुकले आपत्ति जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]