उत्तर कोरियाद्वारा अमेरिकाको पश्चिमी किनारा पुग्ने क्षेप्यास्त्र परीक्षणको तयारी

२०७४ आश्विन २२ गते, आईतवार

काठमाडौं , २२ असोज । उत्तर कोरियाले अमेरिकाको पश्चिम किनारा पुग्ने क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको खुलासा भएको छ । रुसी समाचार संस्था आरआइएले एकजना रुसी विधायकको भनाई उदृत गर्दै सो खुलासा भएको हो । अक्टोबर २ देखि ६ सम्म प्योङयाङको भ्रमण गरी फेर्केका मोरोजोभले उक्त भनाई सार्वजनिक गरेका हुन‍् ।
आरआइएका अनुसार हिजो शुक्रवार विधायक मोरोजोभले भने, “उनीहरुले (उत्तर कोरियालीहरुले) लामो दूरीको क्षेप्यास्त्रका नयाँ परीक्षणहरु गर्न तयारी गरिरहेछन् । उनीहरुले हामीलाई ती क्षेप्यास्त्रहरुले अमेरिकी पश्चिमी किनारासम्म मार हान्न सक्ने क्षमता राख्ने गणितीय प्रमाण देखाएका छन् ।”
“हामीले बुझ्दासम्म तिनीहरुले निकट भविष्यमा एउटा थप लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गर्ने मनसाय देखाएका छन् । र, समग्रमा उनीहरु युद्धको मुडमा छन्” मोरोजोभ भने ।
उत्तर कोरियाली नयाँ क्षेप्यास्त्र परीक्षणले नराम्रो असर गर्ने भएकोले बजारमा त्यसले कयौं गुणा अनिश्चितता ल्याउने अनुमान लगानीकर्ताहरुले गरेका छन् । र, त्यसबाट उनीहरु अत्यन्त चिन्तित भएको अहिलेको स्थितिमा अमेरिकी ‘ट्रेजरी बन्ड’ को भाउ उच्च हुन पुगेको रुसी विधायक मोरोजोभको टिप्पणी रहेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रइटर्जका अनुसार विधायक मोरोजोभको वयान स्वतन्त्र रुपले पुष्टि भएको छैन । र, मोरोजोभले उत्तर कोरियाका खास कुन अधिकारीले आफूहरुको योजनाबद्ध परीक्षणबारे उनलाई जानकारी दिएका हुन् केही खुलाएनन् ।
वासिङ्टनमा एक अमेरिकी अधिकारीले ‘उत्तर कोरियाले आगामी १० अक्टोबरमा एउटा अर्को क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको’ संकेत आफूहरुले पाएको बताए । त्यो दिन उत्तर कोरियाको सत्तारुढ कोरियाली श्रमिक पार्टीको स्थापना दिवस पर्दछ ।
यो खबरसँगै अमेरिकालगायत विश्वभर सनसनी म‍च्चिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु