सिस्टम ह्याक गरी करोडौं सम्पत्ति चोरी

२०७४ माघ १४ गते, आईतवार

काठमाडौं, माघ १४ । जापानको प्रख्यात डिजिटल करेन्सी एक्सचेन्ज क्वाईनचेकको सिस्टम ह्याक गरी करोडौं सम्पत्ति चोरी भएको छ । सिस्टम ह्याक गरी ५३ करोड डलरभन्दा बढी मूल्यको डिजिटल करेन्सी एन.ई.एम.चोरी भएको हो । घटनाबारे छानबिन सुरु भएको छ । क्वाईनचेकले चोरी भएको डिजिटल करेन्सी फेला पार्ने प्रयास गरिरहेको छ भने कुन डिजिटल ठेगानामा करेन्सी पठाइएको छ भन्ने जानकारी आफूसँग रहेको कम्पनीले जनाएको छ ।
क्वाईनचेकले तत्कालका लागि आफ्नो सम्पूर्ण कारोबार बन्द गरेको छ । ह्याकरले नेटवर्कमा प्रवेश गरी करेन्सी चोरी गरेको ८ घण्टापछि मात्रै थाहा भएको थियो ।
यसअघि सन् २०१४ मा टोकियोस्थित अर्को डिजिटल करेन्सी एक्सचेन्ज एम्टीगक्सको नेटवर्कबाट ४० करोड अमेरिकी डलर चोरी गरिएको थियो । डिजिटल करेन्सी एक्सचेन्ज संसारमा सम्पत्ति आदान प्रदान गर्ने एउटा भर्चुएल माध्यम हो । ठूला लगानिकर्ताहरुले एक ठाउँबाट अर्को ठाउँमा लगानी पठाउन यो माध्यम बढी प्रयोग गर्ने गरेका छन् । तर साना लगानीकर्ता पनि पछिल्लो समय यसमा आकर्षित भइरहेका छन् । बजारमूल्यले निर्दिष्ट गर्ने क्रिप्टो करेन्सी अर्थात डिजिटल करेन्सीको कारोबारका लागि संसारमा अहिले थुपै डिजिटल करेन्सी एक्सचेन्ज कम्पनीहरु संचालनमा छन् । यस्ता कम्पनीले बिटक्वाईन, ईथर, लिटक्वाईन, मोनेरोलगायतका डिजिलट करेन्सीको कारोबार गर्दै आएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]