क्यान इन्फोटेकमा आज ‘बिजनेश डे ‘

काठमाडौं, १४ माघ । सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला “सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला” मा आज बिजनेश डे चलिरहेको छ । आज बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सक्नेछन ।
क्यान इन्फोटेकमा विश्वस्तरीय ब्रान्डका नेपाली अधिकृत बिक्रेतादेखि इन्टरनेट र दूरसञ्चार स्वा प्रदायक, सफ्टवेयर, मोबाइल एप्लिकेसन, वेब एप्लिकेसन, सूचना प्रविधि प्रणालीलगायतका सेवा दिने कम्पनीहरुले आफ्ना उपभोक्तालाई लक्षित गरी आकर्षक अफर ल्याएका छन् । सर्वसाधारणले एकै थलोबाट विश्वविख्यात ब्रान्डदेखि स्वदेशी प्रतिभाबाट निर्मित वस्तु र सेवाबारे भरपुर जानकारी लिन पाएका छन् । इन्फोटेक आयोजना गर्नुको मुख्य कारण नै नेपाली जनतालाई प्रविधिसँग साक्षात्कार गराउनु हो ।
मेलाकै अवसर पारेर सफ्टवेयर, स्टार्टअप, विद्यार्थी÷कलेजको छुट्टै प्याभिलियनको व्यवस्था गरिएको छ । यसपटक हामीले आइटी स्टार्टअपहरुले स्थानीय समस्या समाधान गर्न बनाएका नवीनतम प्रविधिलाई विशेष प्राथमिकताका साथ इन्फोटेकमा राखेका छौं । विश्वविद्यालयस्तरमा भएका रिसर्च र त्यसबाट निर्माण भएका प्रोजेक्टहरु पनि राखिएको छ ।
बच्चा, विद्यार्थी, युवा पुस्ताले कसरी सफ्टवेयरबाट सिक्न सक्छन् भन्ने कुराको जानकारी अवलोकनकर्ताले लिन सक्छन् । आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग भएका ड्रोन र रोबोटिक्स प्रविधिहरु पनि राखिएका छन् । यसर्थ इन्फोटेकले लोकल इन्नोभेसनलाई प्रोत्साहन मिलेको महसुस हामीले गरेका छौं ।
मेलामा पाइन ओभरसिजले ‘स्मार्ट हेल्थ एनालाइजर’ ल्याएको छ, यसले क्वान्टम सेन्सरको माध्यमबाट ब्लड र युरिन टेस्टबिनै फुल बडी चेकअप गर्न सक्छ । यसबाट ३९ ओटा शरीरका रोग वा स्वास्थ्य स्थिति पत्ता लगाउन सकिने छ । शनिबार मेलाकै अवसरमा ‘रोबोट ब्याटल’ समेत आयोजना गरिएको थियो । साथै नेपाली युवा इन्जिनियरले बनाएका ड्रोन, गाडी, विद्युतीय मेशिन, सफ्टवेयर सिस्टम आदिमा अवलोकनकर्ताको चासो रहेको थियो । दृष्टिविहीनका लागि उपयोगी सफ्टवेयर, रोबोटिक्स एशोसिएशनले बनाएको थ्रिडी प्रिन्टिङ, जिपिएस ट्रयाकिङ सिस्टमका साथमा विश्वविद्यालय र आइटी कलेजका विद्यार्थीले बनाएका आइटी प्रोजेक्टले पनि अवलोकनकर्ताको ध्यान तानेको छ ।