टेलिकमद्वारा ‘नमस्ते क्रेडिट’ शुरु

२०७४ चैत्र १६ गते, शुक्रबार

काठमाडौँ, १६ चैत । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ । टेलिकमद्वारा यहाँ आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरे । कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । यस्तो सापटी रकम रु पाँचदेखि रु ४० सम्म उपलब्ध हुने र सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन । कम्तीमा तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कति रकम सापटी लिन सकिन्छ भन्नेबारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिनेछ । “यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सञ्चालन गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ”, प्रवक्ता वैद्यले भन्नुभयो । एक पटक लिएको सापटी रकम तिरेपछि मात्र अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।
सो अवसरमा राज्यमन्त्री बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवाको शुरुवात् गर्नु सकारात्मक भएको बताए । “टेलिकमले ‘नमस्ते क्रेडिट’ सेवा शुरु गर्दै आक्रामक बजार प्रवद्र्धन गर्ने नीतिको प्रारम्भिक एउटा पाइलोमात्रै हो भन्ने मैले बुझेको छु, अरु यस्ता धेरै काम टेलिकमले गर्नुपर्छ”, उनले भने ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु