आजदेखि नेपालगञ्जमा हर्न निषेध

२०७५ मंसिर १ गते, शनिबार

काठमाडौँ, १ मङ्सिर । नेपालगञ्जलाई हर्न निषेधित शहर बनाउने तयारी गरिएको छ । बढ्दो सवारी चापका कारण ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जलाई ‘नो हर्न’ क्षेत्र बनाउन लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले शनिबार मंसिर १ गतेदेखि नेपालगञ्जलाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिए । शनिबार बिहान १० बजेदेखि जमुनाह नाकाबाट हर्न निषेधित क्षेत्रको औपचारीक सुरुवात गरिने छ । हर्न निषेधित क्षेत्र कायम भएसँगै मंसिर महिनाभर चालक, परिचालकलगायत सम्बन्धित व्यक्तिहरुलाई हर्न निषेधका विषयमा कार्यक्रम गरेर सचेत गरिने प्रहरी निरीक्षक रोकायले बताए ।
‘नो हर्न’ शहर बनाउनका लागि सरोकारवाला निकायबीच छलफल भएको छ । ‘पहिलो चरणमा एक महिनासम्म सम्बन्धित व्यक्तिलाई सचेत गर्ने कार्यक्रम गर्दैछौं’, प्रहरी निरीक्षक रोकायले भन्नुभयो, ‘पुसदेखि हर्न बजाउनेलाई कानुन अनुसार कारबाही गरिनेछ ।’ सचेतनामुलक कार्यक्रम अन्तर्गत नेपालगञ्ज प्रवेश गर्ने नाकाहरुमा होर्डिङ्ग बोर्ड राख्ने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकाय सबैसँग छलफल गर्ने र नगरलाई हर्न निषेधित बनाउन अन्य कार्यक्रमहरु पनि सञ्चालन गरिने प्रहरी निरीक्षक रोकायले बताए ।

प्रतिक्रियाहरु

[anycomment]