मिथेन ग्यासको उत्खनन् हुँदै

२०७५ चैत्र १३ गते, बुधबार

काठमाडौं, १३ चैत । नेपालमै रहेको पेट्रोलियम मिथेन ग्यासको उत्खनन् हुने भएको छ । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबिच बेइजिङमा सम्झौता भएपछिआगामी वैशाख तेस्रो हप्तादेखि ग्यासको उत्खनन् गरिने भएको हो । स्थानीयले दैवीशक्ति भन्दै मिथेन ग्यास रहेको सो स्थानमा नियमित पूजा गर्दै आएका थिए । २०७२ सालमा नाकाबन्दीका कारण मुलुकभर भएको पेट्रोलियम पदार्थको चरम सङ्कटपछि विसं २०७२ मङ्सिर २१ गते तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले दैलेखको शिरिस्थानमै आएर पेट्रोलियम पदार्थको अनुसन्धान गरी उत्खननको घोषणा गरेका थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारका बेला अनुसन्धानसँगै प्रधानमन्त्री ओली नेतृत्वकै सरकार उत्खननका लागि तयार भएको हो ।
वैशाख १८ देखि औपचारिकरुपमा उक्त कार्यको थालनी हुने र उनले चीनको कम्पनीसँग दुई अर्ब २० करोडको सम्झौता भएको खानी तथा भू–गर्व विभागका परियोजना प्रमुख सुदीप रजौरेले बताएका छन् । मिथेन ग्यास हो भनेर प्रमाणित भइसक्यो, अब कति परिमाणमा छ, कहाँ छ, उत्खनन् गर्दा हुने परिमाण र लागतको विवरण बाँकी रहेको उनले बताएका छन् । सरकारको जिटुजि सम्झौताअनुसार अहिले चीनको कम्पनीसँग सम्झौतासँगै काम सुरु गर्ने योजना सरकारको रहेको छ । खानी तथा भू–गर्व विभागले पहिला नै दैलेखको खोलामा बगेको पेट्रोलियम पदार्थको नमूना सङ्कलन गरेर काठमाडौँ पुर्‍याएको १५ वर्षपछि ग्यास उत्खनन् हुने भएपछि दैलेखका उद्योगी व्यापारी खुशी भएका छन् ।
विसं २०६० देखि नै नेपालका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै खोजविन थालिएको १० वटा स्थानमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि लाखौँ रकम खर्च गरे पनि त्यसको पुष्टि भएर वास्तविक कुरा बाहिर आउन सकेको थिएन । अन्वेषणमै अमेरिकाको टेक्सास कम्पनी र युकेको केएन इनर्जीलेसमेत लाखौँ डलर खर्च गर्दा पनि उपलब्धिमूलक काम नगरेको भन्दै ती कम्पनीसँगको सम्झौता विसं २०७१ मा सरकारले तोडेको थियो । सरकारले अहिले कार्य सहजताका लागि पेट्रोलियम नियमावलीकोसमेत पाँचौँ संशोधन गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]