टेलिकमले नयाँ सिमकार्डमा थप सुविधा दिने
काठमाडौं , १५ पुष । नेपाल टेलिकमले पुस १६ गतेदेखि नयाँ जीएसएम–सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स तथा थप सुविधा उपलब्ध गराउने भएको छ । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुने र ४० मिनेट टक टाइम अर्थात कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिनेछ। सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिनेछ।
यसअघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले २०७६ पुस १५ गतेसम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्था अनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ। यस्तै पुस १६ गते वा सोभन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्था अनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ। नयाँ प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भए तापनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन। ९० रुपैयाँमै सिमकार्ड उपलब्ध हुने र यस सेवाबाट नेपाल टेलिकमका ग्राहकहरु अझ बढी लाभान्वित हुन सक्ने कम्पनीले विश्वास लिएको छ।