देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने !

२०७९ बैशाख १८ गते, आईतवार

काठमाडौं । आईस्पानले देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल, सिफ्फीलगायत अपस्ट्रिम प्राेभाइडर कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरेकाले ती कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्तादेखि देशभर इन्टरनेट बन्द हुने स्थिति आएको जनाएको हो ।
आईस्पानद्वारा जरे बिज्ञप्तिमा भनिएको छ – ‘अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न विदेशी मुद्रा सिफारिस रोकेको जस्तो देखिन्छ । किनभने हाम्रो सार्वभौम देश नेपालको संघीय संसदको सार्वजनिक लेखा समितिबाट दूरसञ्चार नियमावली २०५४ को नियम २६ र अनुसूची ६ (क) अनुसार सपाेर्ट चार्ज, वार्षिक मर्मत, टेक्निकल शुल्क, मनिटरिङ चार्जजस्ता गैरदूरसञ्चार सेवामाआरटीडीएफ र रोयल्टी नलाग्ने देखिएकोले बेरुजु लगत हटाउन निर्देशन दिइसकेको अवस्थामा यसको उल्टो दिशातर्फ मन्त्रालय लागेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएकाे छ, ‘उक्त निर्णयलाई पालना नगरी मन्त्रालयले बेरुजुकै विषयलाई लिएर अनेकन् बहानामा विदेशी मुद्रा सिफारिस रोकेर निजी क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्नतर्फ आकर्षित भएको छ ।’
सोही बेरुजु रकम दाखिला गर्न नेपाल दूरसञ्चार प्राधिकरणले वर्ल्डलिंक कम्युनिकेसन्सको नाममा दिएको आदेशपत्रको विरुद्धमा सर्वोच्च अदालतबाट २०७७-३-१२ मा उक्त बेरुजु रकम नउठाउन अन्तरिम आदेश पनि जारी भएको व्यहाेरा आईस्पानले उल्लेख गरेको छ ।
सोही किसिमको बेरुजु रहेको बहानामा टिभी सेवा प्रदायकहरुलाई पनि विदेशी मुद्रा सिफारिस नगरी सहजीकरण नगरेको अवस्थाले गर्दा टिभी सेवा पनि बन्द हुने स्थितिमा पुगेको आईस्पानले जनाएकाे छ । साथै अत्यावश्यक सेवालाई विदेशी मुद्रा सिफारिसमा रोक लगाउन नपाइने र अत्यावश्यक सेवालाई राज्यले बन्द हुनबाट बचाउनु पर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैं नै बन्द गर्न लागिपरेको आरोप आईस्पानले लगाएको छ । ‘इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने कुरा पनि सम्बन्धित सबैमा जानकारी गराउँछौ,’ विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु