सामाजिक सञ्जाललाई मर्यादित बनाउन नियमन गरिने !

२०८० असार २८ गते, बिहीबार


काठमाडौँ । राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन आवश्यक नियमन गरिने बताएकी छन् । मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्र्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याई मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताएकी हुन् । उनले आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताइन् ।
विद्युतीय तथ्यांकहरुको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा निति तर्जुमा गरिने जानकारी पनि मन्त्री शर्माले दिइन् । त्यस्तै साइबर सुरक्षासँग सम्बन्धित विषयहरु एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको पनि उनले स्पष्ट पारिन् । ‘सधैँ नीति र कानून तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गरिनेछ । आम सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नितिगत तथा कानूनी सुधारका लागि विद्यमान ऐन, कानूनमा समसामयिक संशोधन तथा नयाँ तर्जुमा गर्नुपर्ने देखिएको छ,’ उनले भनिन्, ‘मन्त्रालयसँग सम्बन्धित कानूनहरुको तर्जुमा, संशोधन एवं परिमार्जन गर्न मन्त्रालय योजनाबद्ध रुपमा लागिरहेको कुरा जानकारी गराउन चाहन्छु । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम न्यूनीकरण गर्नु चुनौतिको रुपमा रहेको छ । डिजिटल साक्षरता प्रवद्र्धन गर्ने, र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको छ । समाजिक सञ्जालको विषयमा गम्भिरतापूर्वक कुरा उठाउनुभएको छ, यसका लागि हामी आगामी आर्थिक वर्षमा कानूनको तर्जुमा गरी सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने व्यहोरा अवगत गराउन चाहन्छु । विद्युतिय तथ्यांकहरुको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतिय तथ्यांक सुरक्षा निति तर्जुमा गरिने छ । साइबर सुरक्षासँग सम्बन्धित विषयहरु एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ ।’
मन्त्री शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भइ सञ्चालनमा रहेको जानकारी दिइन् । गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको पनि उनले बताइन् ।

प्रतिक्रियाहरु

[anycomment]