चार दलको नौटंकी, खिलराजलाई खेदने खेल – राजेन्द्र चिमौरिया

२०७० जेष्ठ ११ गते, शनिबार

प्रधानन्यायाधीशजस्तो गरिमामय पदलाई लत्याएर चार दलको काँध चढेर मन्त्रिपरिषद्को अध्यक्ष बन्न पुगेका खिलराज रेग्मी अन्ततः चार दलकै कारण अक्षम भएर सरकारबाट बाहिरिनुपर्ने भएको छ । असारभित्रै चुनाव गराउने बाचासहित सरकारको बागडोर सम्हाल्न पुगेका प्रधानन्यायधीश खिलराज रेग्मीले असार लाग्न लाग्दासमेत चुनावको मिति नै घोषणा गर्न नसक्नुले उनको अक्षमता प्रस्ट भइसकेको छ । चार दलले असारभित्र चुनाव गराउन आफूहरूले जस्तोसुकै सहयोग गर्ने बताएर सरकारमा पुर्याएका खिलराजलाई सरकारको बागडोर सुम्पेसँगै सहयोगको लत्तो पनि छोडिदिए जसको कारण रेग्मी सरकारले अहिलेसम्म चुनावको मितिसमेत घोषणा गर्न सकेका छैनन् । चार दलको ललीपपमा रमाउँदै सरकारमा पुगेका खिलराज रेग्मीले सही ढङ्गले काम गर्न नसकेको भन्दै अहिले चार दलकै नेताहरूबाट उनको राजीनामा माग गर्न थालिएको छ । निर्वाचनका निम्ति गर्नुपर्ने कतिपय सहमतिहरूमा चार दलले नै बाधा अड्चन गर्न थालेपछि अध्यक्ष खिलराज रेग्मी अहिले अत्तालिन थालेको स्रोतले बताएको छ । चार दलका नेताहरू अहिले आ-आफ्नै अडान लिएर खिलराज रेग्मी र राष्ट्रपतिलाई भेट्न दौडिरहेका छन् । सबै दलको सहमतिमा चुनाव गराउनुपर्ने रेग्मी सरकारले अहिले आफूलाई काँधमा बोकेर सरकारमा पुर्याउने चार दलकै पनि पर्ूण्ा सहयोग र र्समर्थन पाउन सकेको छैन, जसका कारण रेग्मी सरकार चुनावभन्दा पनि कसरी आफ्नो आयु लम्ब्याउने भन्नेतिर लागेको स्रोतले बताएको छ । चार दलले जबर्जस्ती सरकारमा पुर्याएको र अब चार दल नै आफूलाई अक्षम बनाएर बर्खास्त गर्न लागेका थाहा पाएपछि रेग्मी सरकारले पनि चार दललाई चकित पार्ने दिशातिर उद्यत भएको छ । अहिले अध्यक्ष खिलराज रेग्मी सबै दलको सहमतिबिना निर्वाचनको मिति घोषणा गर्नु उपयुक्त नहुने भन्दै दलहरूसँग वार्ताको पहल गरिरहेका छन् । जबसम्म सबै दलहरूको सहमति हुँदैन, तबसम्म रेग्मी सरकार निर्वाचनको मिति तोक्ने पक्षमा देखिँदैन । जसले गर्दा चार दल र सरकारबीच दन्तबजान चर्किएको छ । तत्काल निर्वाचनको मिति तोक्न लगाएर त्यसको प्रतिक्रिया हेर्ने र त्यही मौकामा खिलराज रेग्मीलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने चार दलको भित्री रणनीतिले गर्दा पनि सरकार र चार दलबीच दूरी बढ्दो छ । सरकारले वस्तुस्थिति बुझी तत्काल निर्वाचनको मिति घोषणा नगर्ने भएपछि चार दल सरकारले आफ्नो म्यान्डेट पूरा गर्न नसकेको भन्दै सरकारले राजीनामा गर्नुपर्ने माग गर्न थालिसकेका छन् । सरकारलाई सहयोग पुर्याएर, सबै दलहरूसँग वार्ता र सहमति गरेर चुनावी वातावरण बनाउनुभन्दा सरकारलाई एकोहोरोरूपमा प्रस्तुत गराएर आफ्नो दलीय स्वार्थ पूरा गर्ने चार दलभित्रको खेलले अध्यक्ष खिलराज रेग्मीलाई अक्षमताको पगरी गुथाएर सरकारबाट बाहिर्याउने खेल बढ्दो छ । सरकारले पनि यही बुझेर चार दललाई विस्तारै बाईपास गर्दै र्सवदलीय सहमतिको खोजीमा लागेको छ । तर, चार दलको काँध चढेर सरकारमा पुगेका रेग्मीलाई नेकपा-माओवादीलगायत ३३ दलले सरकारको मान्यता नै दिएका छैनन् । उनीहरूले प्रतिगमनबाट बनेको खिलराज रेग्मी सरकारसँग वार्ता नगर्ने स्पष्ट पारिसकेका छन् । यी सबै कुराहरूको विश्लेषण गर्दा अन्ततः खिलराज रेग्मी चार दलको खेलको शिकार बन्दै अक्षम सरकार सावित हुँदै बाहिरिने दिन नजिक आउँदैछ ।

प्रतिक्रियाहरु

[anycomment]