चार दल र सरकार निभ्ने बेलाको बत्ती – राजेन्द्र चिमौरिया
चार दलको नेकपा-माओवादीलगायतका प्रमुख दलहरुलाई बाईपास गरी पुनः संविधानसभाको चुनाव गरेर सत्ता हत्याउने खेल अन्ततः चकनाचुर हुने भएको छ । लोकतन्त्रको चिरहरण गर्दै प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर चुनावको नौटंकी रचि देश र जनतालाई भड्खालोमा हाल्ने चार दलको रणनीतिको विस्तारै पर्दा खुल्दै गएको छ । वर्तमान संकटको निकास राजनीतिक दलहरुबीचबाट खोज्नुको सट्टा विदेशी प्रभुहरुको इशारामा अघि बढेपछि अहिले चार दल जनताबीचमा नाङ्गँिदै गएका छन् । कहिले असारमा त कहिले मंसिरमा चुनाव गर्ने स्याल हुइँया मच्चाएर १० वर्षो जनयुद्ध र १९ दिने जनआन्देालनकेा उपलब्धि स्वाहा पार्न तम्सिएका चार दल अब आफ्नो अस्तित्व रक्षाको लागि अरण्यरोदन गर्न थालेका छन् । सहमति गर्ने भन्दै हरेक दिन बैठक बस्ने र आफ्नो चार दलको सहमतिसमेत कायम गर्न नसक्ने यी चार दल जनताका नजरमा नालायक ठहरिसकेका छन् । चार दल र चार दलको वैशाखीमा टिकेको सरकारले चुनावको लागि आहृवान् गरेको दल दर्तालाई नेकपा-माओवादीलदगायतका ३३ दलले लत्याइदिइसकेका छन् । यस्तो अवस्थामा चार दल र त्यसको सिन्डिकेटमा बनेको सरकारले चुनावको हौवा पिटाउनु आफैँमा हस्यास्यपद भएको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।
नेकपा-माओवादीलगायतका राष्ट्रियताका पक्षधर र अग्रगामी ३३ वटा दलहरुले यो सरकारले गराउने चुनावमा सहभागी नहुने स्पष्ट संकेत दिइसकेपछि पनि चार दलको इशारामा सरकार चुनावको मिति तोक्न तम्सनु भनेको आफ्नो खुट्टामा आफैँले बन्चरो हान्नुसरह भएको राजनीतिक विश्लेषकहरुको तर्क छ । चार दल पनि सकेसम्म सरकारलाई छिटो चुनावको मिति घोषणा गर्न लगाउने त्यसपछि नेकपा-माओवादीलगायतका राष्ट्रवादी दलहरु मोर्चा बनाएर सडकमा ओर्लन्छन् र त्यही वहानामा सरकारलाई हटाउन पाइन्छ भनेर उद्यत भएको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ । वर्तमान सरकार अहिले चार दललाई थुकेको थुक सावित भएको छ । सरकारलाई असफल बनाउँ आफूहरुको अस्तित्व नामेट हुने, चुनावको मिति घोषणा नगरौँ नेकपा-माओवादीको एजेण्डाको सम्बोधन हुने । यी र यस्ता कारण चार दललाई अहिले सरकार र चुनाव निल्नु न ओकल्नु भएको छ ।
बाबुराम सरकारलाई हटाएर वर्तमान संकटबाट फाइदा लिने सोचाइराखी विदेशी डिजाइनमा एमाअेावादीका अध्यक्ष प्रचण्डले गरेको ग्राण्डडिजाइन अहिले उनैलाई अभिशाप भएको छ । खिलराज सरकारलाई असफल बनाएर आफू पुनः प्रधानमान्त्री बन्ने भित्री राजनीतिक स्वार्थका साथ अगाडि बढेका प्रचण्ड दिनप्रतिदिन आफैँ दलदलमा फस्न पुगिरहेका छन् । अब मुलुकको निकासको लागि चैत १ गतेको प्रतिगमन सच्चिनुपर्ने, ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ खारेज हुनुपर्ने माग दह्रोगरी उठाएका नेकपा-माओवादीलगायत ३३ दलका कारण चार दलको राजनीतिक अस्तित्व संकटग्रस्त बनेको छ । खिलराज सरकारले आहृवान गरेको दल दर्तालाई ३३ दलले हावा खुवाइदिएपछि चार दल र सरकार पुच्छर लुकाउँदै चुनावको मिति घोषणा गर्ने स्याल हुइँया मच्चाउँदैछन् । तर, यो स्याल हुइँया उनीहरुकै लागि हानिकारक हुने निश्चित भएको छ । चार दल र सरकार जनतामा नाङ्गएिका छन्, उनीहरुको नेपाली जनतालाई घात गर्ने सपना चकनाचुर भइरहेको छ ।
अब चार दल र वर्तमान सरकारबाट निकास निक्लँदैन । सबै राजनीतिक दलहरु एक ठाउँमा बसेर समस्याको निकास खोज्नुपर्ने समय आएको चौतर्फीरुपमा आवाज उठिरहेको छ । यस्तो अवस्थामा पटक-पटक असफल भइसकेका यी चार दलले नेतृत्वको अवसर पक्कै पाउने छैनन् । नयाँ राष्ट्रवादी शक्ति जन्मिनेछ । यसकारण चार दल र वर्तमान सरकार निभ्ने बेलाका बत्ती हुन् । त्यसैको संकेतस्वरुप अहिले उनीहरुको स्याल हुइँया मच्चाइरहेछन्, जुन बेतुकको कुरा हो ।