४ बुँदेको टेकोमा अडिएको संविधानसभा – राजेन्द्र चिमौरिया

२०७० पुष १३ गते, शनिबार


प्रत्यक्षतर्फो निर्वाचन सम्पन्न भएको डेढ महिना पूरा हुन लाग्दासमेत संविधानसभाले पूणता पाउन सकेको छैन । निर्वाचन आयोगले भोलिसम्ममा समानुपातिकका सभासद्हरूको नामावली पेस गर्न दलहरूलाई अन्तिम पटकको समयसीमा तोकेको छ । निर्वाचनको परिणामलाई लिएर संविधानसभामा भाग नलिने उद्घोष गरेको एमाओवादीलाई नेपाली काँग्रेस र एमालेले लतारेरै भए पनि संविधानसभामा भाग लिने बनाएका छन् । काँग्रेस, एमाले र एमाओवादीलगायत आठ दलहरूबीच ४ बुँदै सहमति भएको छ । यही सहमतिको टेकोमा टेकेर एमाओवादीले पनि संविधानसभामा जाने बताएको छ । आफैँमा अस्पष्ट चार बुँदे सहमतिले संविधानसभामा एमाओवादीलाई लतारेरै पुर्याए पनि र्सार्थक भने हुने देखिँदैन किनकि संविधानसभाले एमाओवादीले भनेजस्तै निर्वाचनमा धाँधली भएको विषयमा छानबिन आयोग बनाउनुपर्छ । त्यस विषयले संविधानसभामा अर्को रडाको मच्चाउनेमा कुनै दुइमत छैन । संविधानसभाले पूणरूप नलिँदै बुँदेको टेकोबाट सुरु भएकोले यो र्सार्थक र सफल हुन नसक्ने पक्का छ । ४ बुँदेको टेकोमा ठडिएको संविधानसभा कुनै पनि बेला ढल्न सक्छ, धराशयी हुन सक्छ, यसले संविधान दिन्छ भन्ने कल्पनासम्म नगरे हुन्छ ।
उता ४ बुँदेको टेकोमा पूणता पाउन लागेको संविधानसभा कसले बोलाउने, सभासद्लाई कसले भित्र्याउने भन्ने विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच विवाद चर्किएको छ । विगतमा चार दलको टेकोमा बनेको सरकार आफूले निर्वाचन गराएको र आफैँले सभासद् भित्र्याउन पाउनुपर्ने डंका पिटिरहेको छ भने राष्ट्रपति आफूले भित्र्याउन पाउनुपर्ने जिकिर गरिरहेका छन् । विगतमा ४ दलीय राजनीति एकाधिकारले संविधान संशोधनको नाममा अन्तरिम संविधानलाई धुजाधुजा गर्दा सहमति जनाउने राष्ट्रपति अहिले आफ्नो अस्तित्व खोज्दैछन् । विगतमा नेकपा-माओवादीले भनेजस्तो गरेर गोलमेच सम्मेलन आयोजना गरी अगाडि बढेको भए यी तमाम समस्याहरू आउने नै थिएनन्, मुलुक निकासको बाटोतिर अघि बढिसक्थ्यो । तर, विगतमा चार दल र त्यसको मतियार राष्ट्रपति बनिदिँदा यो संकट आएको हो । यो संविधानसभा नौटंकी मात्र हो, यसले निकास दिन सक्दैन । यो संविधानसभाले मुलुकको राजनीतिलाई अझै लथालिङ्ग र भताभुङ्ग बनाउँदैछ । ४ बुँदेको टेकोमा अडिएको यो संविधानसभा सफल र र्सार्थक हुँदैन । यसले झन् विकराल रूप ल्याउने निश्चित छ । त्यसैले नेपाली काँग्रेस, एमाले र एमाओवादीलगायतका दलहरूले मुलुकको वर्तमान संकटको लागि देश, जनता र संविधानको लागि नेकपा-माओवादीले भनेजस्तो राजनीतिक सभाको आयोजना गर्नुको विकल्प छैन, यही संविधानसभाबाट निकास खोज्छौँ भनेर अड्डी लिएमा यसले महाभारतको सिर्जना गर्नेछ, मुलुक गम्भीर भड्खालोमा जाकिनेछ । राष्ट्र, राष्ट्रियता र जनताको अस्तित्व गम्भीर संकटमा पर्छ ।


प्रतिक्रियाहरु

[anycomment]