राष्ट्रिय राजनीतिक सभाबाट नभाग-राजेन्द्र चिमौरिया

२०७१ आश्विन ४ गते, शनिबार


गत भदौ ३१ गते गर्ने तयारी गरिएको राष्ट्रिय राजनीतिक सभा अन्तिम समयमा आएर रोकिएको छ । मुख्यतः राष्ट्रिय राजनीतिक सभा अन्तिम समयमा आएर रोकिनुमा सरकारी पक्षको ठूलो कमजोरी देखिन्छ । करिब एक साताअघिदेखि कार्यदल बनाएर पनि परिपक्वरूपमा सभाको वातावरण बनाउन नसक्नु सरकारी पक्षको नालायकीपन नै हो । किनकि नेकपा-माओवादीलगायत काँग्रेस, एमाले र एमाओवादी सम्मिलित कार्यदलले गरेका कार्यलाई शीष नेताहरूको बैठकले लिपिबद्ध गरेर अगाडि बढ्नुको साटो मौखिकमा नै सभा टुङ्गयाउने मूखताले अन्ततः अन्तिम समयमा आएर सभा हुन नसकेको यथार्थता जाहेर छ । खासगरी, सरकारी पक्ष अर्थात् काँग्रेस, एमालेले राष्ट्रिय राजनीतिक सभालाई एउटा अन्तरक्रिया कार्यक्रममा मात्र सीमित गर्नु खोज्नुले राष्ट्रिय राजनीतिक सभा तुहिन पुगेको छ । वर्तमान संविधानसभाले जनताको संविधान जारी गर्न नसक्ने यथार्थता बुझेर राष्ट्रिय राजनीतिक सभामा सहमत हुन पुगेका काँग्रेस, एमालेले फेरि एक पटक देशलाई अस्थिरतातिर धकेल्ने काम गरेका छन् । देशको वर्तमान संकटको निकास राष्ट्रिय राजनीतिक सभा नै हो, जसको विकल्प छैन । जबसम्म देशका तमाम दलहरू एकजुट भएर वर्तमान संकटको निकास खोज्दैनन्, तबसम्म देश संकटबाट मुक्त हुन सक्दैन । यो यथार्थता बुझदाबुझदै काँग्रेस, एमालेले जसरी मुखमै आएको राजनीतिक सभा भाँड्ने काम गरे अब यसको अपजसको भारी उनीहरूले नै भोग्नुपर्ने निश्चित छ । तर्सथ, देशलाई वर्तमान संकटबाट पार लगाउने एक मात्र सूत्र राष्ट्रिय राजनीतिक सभा नै हो । यसबाट कुनै पनि दल यो वा त्यो वहानामा भाग्न मिल्दैन । सबै दलहरू एकजुट भएर वर्तमान संकटको निकास खोजी देश र जनतालाई अग्रगमन, शान्ति र संविधान दिन तयार हुनुपर्छ । देश र जनताको भविष्यमाथि खेलबाड गर्ने अधिकार कुनै राजनीतिक दल र नेतालाई छैन । यदि कुनै राजनीतिक दल र नेताले देश र जनताको भावनामाथि खेलबाड गर्न खोज्छ भने त्यसको अन्त्य पक्कै सुखद् हुने छैन, चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु