माओवादी फेरि उठ्ने र जाग्ने बेला भएको छ – नेत्रविक्रम चन्द ‘विप्लव’
नेपालको राजनीतिमा अहिले केही तरंगहरु छन् । सायद धेरै जिज्ञाशाहरु पनि छन् । प्रश्नहरु पनि छन् र हाम्रा अगाडि केही यस्ता ठूल्ठूला उद्वेलनहरु पनि छन् । नेपालको राजनीतिक एउटा नयाँ ठाउँमा पुगेको छ । हामीले १० वर्ष जनताको सबैभन्दा उथलपुथलपूर्ण जीवनसँग जोडिएर काम ग¥यौं । १० वर्षमा हामीले जनयुद्धमार्फत नेपालको क्रान्तिलाई उत्कर्षमा पु¥यायौं । अरु १० वर्ष हामीले शान्तिकालमा बितायौंै । आज हामी शान्ति प्रक्रिया या संक्रमणकालमा छौं । हामी विशिष्ट स्थितिमा आइपुगेका छौं । पार्टी र नेताहरुको जिम्मेवारी इतिकासका कार्यभारलाई पूरा गर्नु थियो । नेपाली जनताले ६० वर्षदेखि धेरैपटक क्रान्ति गरे । धेरैपटक आन्दोलन गरे । धेरै ठूलो संख्यामा त्याग र बलिदानहरु हामीले ग¥यौं । हामीले धेरैतिरबाट आफ्ना विषयहरुलाई अगाडि पनि बढायौं । हामीलाई आशा थियो । १० वर्षको जनयुद्ध नेपाली राजनीतिको एउटा संकेन्द्रण हो । उत्कर्ष हो र यसमा अभिव्यक्त विचार, जनताका प्रस्तावहरु र त्यहाँबाठ अगाडि सारिएका मामिलाहरु नेपाली राजनीतिका सबैभन्दा घनिभूत र केन्द्रित विषयहरु हुन् । ती कुनै पार्टीको कुरा नभएर नेपाली समाजसँग सम्बन्धित, नेपालका नागरिकहरुसँग सम्बन्धित र नेपालको राज्यसँग सम्बन्धित विषय हुन् । पार्टी जुनसुकै भए पनि ती सबै विषयले नेपाली समाजसँग सरोकार राख्छन् । नेपाली नागरिकका आकांक्षा र भावनाहरुसँग सरोकार राख्छन् । त्यस अर्थमा त्यसलाई पूरा गरिन्छ भन्ने हाम्रा आशा र अपेक्षा थियो । हामी त्यो आशाका साथ सहकार्य, सम्झौता र सहमतिमा आयौं । हामीले ९–१० वर्षको समय संक्रमणकालमा बिताउँदै छौं ।
हामी संक्रमणकालको अन्तिममा आइपुगेका छौं । तर आजको नेपाल जनताको आकांक्षाविपरीत, हाम्रो चाहनाविपरीत, हामी सबैले गरेका प्रयत्नका विपरीत आज उल्टो धारातिर फर्किएको छ । नेपाली जनताको आकांक्षाविपरीत राजनीतिलाई जबर्जस्त पछाडि फर्काइएको छ । सहिद परिवारहरु, घाइतेहरु, बेपत्ता परिवारहरु, बलिदान गर्ने परिवारहरु, बलिदान गर्ने जनताहरु र सम्पूर्ण नागरिकहरुको आकांक्षाविपरीत राजनीतिक प्रक्रियालाई उल्टो दिशातिर हुत्याइएको छ । राजनीति पश्चगमनतिर फर्किएको छ । यो परिवेशमा आज निकै ठूलो बहस नेपाली राजनीतिमा छाएको छ । त्यसको बीचमा हामी पनि उभिन आइपुगेका छौं । माओवादी पार्टी फरक ढंगले यो मञ्चमा उभिन आइपुगेको छ । यो हामीले कल्पना गरेको कुरा होइन । हामीलाई आशा थियो यो मञ्चमा प्रचण्ड रहनुपथ्र्यो । यो मञ्चबाट प्रचण्डले प्रतिगमनविरुद्धको नेतृत्व गर्नुपथ्र्यो । त्यो सम्भव भएन । त्यसको विरुद्धमा हामीले तिक्ततापूर्ण सम्बन्ध बिच्छेद गर्दै अर्को ठाउँमा आइपुग्यौं । प्रचण्ड कमरेड छुटे पनि यो मञ्चबाट त्यसको नेतृत्व किरण कमरेडले गर्नुपथ्र्यो । बादल कमरेड यो मञ्चसम्म सँगै आइपुग्नुपथ्र्यो । तर त्यो परिवेक पनि हाम्रो अगाडि बन्न सकेन । अलिकति तरंग, प्रश्न, विभिन्न खालका टिकाटिप्पणी र विश्लेषणसहित हामी यो ठाउँमा आइपुगेका छौं । यहाँ आइपुगेका हामी सबै सामान्य प्रकारका मान्छे छौं ।
हामी यो मञ्चमा सामान्य माओवादी आन्दोलनमा सहभागी भएका सदस्यहरु, सिपाहीहरु र विभिन्न तहमा रहेर भूमिका पूरा गरेका नेताहरु आइपुगेका छौं । यो नेपाली नागरिकहरुले पनि नसोचेका र हामी आफैंले पनि कल्पना नगरेको कुरा हो । तर इतिहासले हामीलाई यहाँ उभ्याइदिएको छ । हामीले इतिकासको यौ फैसलालाई के ठानेका छौं भने यो इतिहासको असाध्यै अप्रिय निर्णय हो । नेपालको राजनीतिमा आफ्ना नेताहरुलाई छाडेर, आफ्ना विगतका नायकहरुलाई छाडेर, विगतमा नेतृत्व गरेका आदर्श पात्रहरुलाई छाडेर हामी यो मञ्चमा उभिन आइपुग्ने जुन परिवेश बनेको छ । मेरो ख्यालमा यो हामी सबैले सोच्दाखेरि अलिकति अप्रिय निर्णय नै हो । तर यो इतिकासको आवश्यकता हो । हामीले यसलाई कसरी स्वीकार गरेका छौं भने यो मान्छेको कुरा होइन । यो एकदुई जना नेताको कुरा पनि होइन । यो नेपालको राजनीतिले हाम्रा अगाडि उभ्याइदिएको आवश्यकता हो । इतिहासको राजनीतिक आवश्यकता र त्यो आवश्यकता पूर्तिका लागि चालिएको कदमका रुपमा हामीले यसलाई लिएका छौं । हाम्रो बारेमा धेरै विश्लेषणहरु गरिएका छन् । मानिसहरुले धेरै टिकाटिप्पणीहरु गरेका छन् । म त्यतातिर जान चाहन्न । हामी बाहिर फुटका हल्लाहरु सुन्छौं । एक हिसाबले हेर्ने हो भने माओवादी आन्दोलनका बीचमा देखिएको चिरा, विभाजन र फुटका कुराहरु एउटा विश्लेषकले सही ठान्न सक्छ र त्यो सही पनि हो । तर राजनीतिक दृष्टिकोणबाट हामी के ठान्छौं भने यो कुनै फुट र विभाजनको मामिला होइन । म त के भन्छु भने आज नेपाली जनता र राज्यका बीचमा पैदा भएका ठूलठूला अन्तरविरोध र द्वन्द्व जो देखिएको छ । त्यसको बीचमा उभिएर जिम्मेवारी पूरा गर्ने कुरा हो । हामीले हाम्रो कदमलाई कुनै संगठनात्मक मामिला ठानेका छैनौं । कमयुनिष्टहरुले कुन नेतालाई मान्ने या नमान्ने वा पार्टीभित्रको सामान्य बहुमत र अल्पमतको मान्यताबाट फुटाउने र जुटाउने मामिला यो होइन । यो मामिला नेपालको राजनीतिमा आज जनताको अधिकार खोसिने या रहने ? नेपाली जनताले युद्धमा गरेका बलिदानको सम्मान हुने या त्यसको उपहास हुने ? नेपालका सहिद र बेपत्ता परिवार, घाइते अपांग योद्धाहरु र नेपाली क्रान्तिमा भाग लिएका जनताहरुको भावनाको सम्मान हुने कि नहुने कुरा यहाँनेर छ ।
जनताहरुलाई उपेक्षा गरेर र छोडेर केही मान्छेहरु पूरानै सत्तालाई फर्काएर नेपाली जनताको टाउकोमाथि मुठ्ठीभरहरुको सत्ता लाद्ने कुरालाई स्वीकार गर्ने कि नगर्ने बहस यहाँनेर केन्द्रित हुन आइपुगेको छ । त्यसैले म के अनुरोध गर्न चाहन्छु भने यो कुनै संगठनात्मक विषय होइन । यो कुनै युद्धको विषय पनि होइन । यो राजनीति र विधारधाराको विषय हो । कुनै बन्दुकको विषय होइन । कुनै नेताको इच्छाले हतियार उठाउने कुरा यो होइन । कहिलेकाहीं इतिहासले आवश्यक ठान्दा राजनीतिमा बन्दुक पनि जोडिन आइपुग्छ । कहिलेकाहीं टेबल पनि जोडिन आइपुग्छ । कहिले हातहरु मिलाइन्छन् र कहिले संघर्ष हुन्छन् । ती राजनीतिद्वारा निर्धारित हुने कुरा हुन्् । आज जसरी विषयलाई अर्कोतिरबाट व्याख्या गरिएको छ, विषय त्यस्तो होइन । यो केही मान्छेको चाहनाले आफ्नो इच्छाअनुसार गतिविधि गर्न खोजेको कुरा होइन । नेपाली जनताको ६० वर्ष लामो राजनीतिक क्रान्तिले पूरा नगरेको परिवर्तनको चाहना पूरा गर्नेसँग सम्बन्धित जिम्मेवारी र उत्तरदायित्वपूर्ण कुरा हो । यतिखेर हामी माओवादीहरु, कम्युनिष्टहरु र नेपालको राजनीतिक आन्दोलनका बारेमा धेरै प्रश्नहरु छन् । तर त्यसको जवाफ हामीले नयाँ तरिकाले, नयाँ ठाउँमा पुगेर दिनुपर्छ भन्ने ठानेर हामी यहाँ आइपुगेका छौं । हामीले जे फैसला लिएका छौं, यो धेरै तरंगपूर्ण छ । एकातिर मानिसहरु भनिरहेका छन् यो माओवादीहरु सकिने तरिका हो । यो माओवादीहरु विवभाजित भएर अन्त्य हुने तरिका हो । अर्कोतिरबाट हेर्ने हो भने सिंगो देश तरंगित भएको अवस्था हामी देख्छौं । किन माओवादी यो कदममा पुग्यो ? किन माओवादीले यो कदमलाई अपरिहार्य कदमका रुपमा अगाडि सा¥यो ? यो निकै नै सोचनिय विषय हो । मलाई लाग्छ यो कदमका बारेमा दुईटा कोणबाट बढी व्याख्या हुने गरेको छ । एकातिरबाट खत्तम हुने र सिद्धिने बाटो भन्दै निराशाको कोणबाट र अर्को नेपाली समाजको नयाँ सुरुआतका रुपमा हेरिएको छ । यसले कुन परिणम ल्याउला भन्ने बारेमा मानिसहरुका फरक फरक विश्लेषण हुन सक्छ । सडकदेखि सञ्चारमाध्यमसम्म चलेका टिकाटिप्पणीहरुलाई हामी स्वागत नै गर्न चाहन्छौं । तर हामी अलिकति दुखित छौं । किन भने हामीले चोटछ पाएका छौं । हामीभित्र भावनाहरु तरंगित भएका छन् । हामी हिजो राजनीतिमा अगाडि बढ्दा यो तहमा थिएनौं । अगाडि बढेपछि हामी आज बाँधिएका छौं । प्रचण्डसँग पनि मेरो कुरा हुन्थ्यो कि नेता एक्लैले चाहेर निस्कन सकिँदैन । कहिले काहीं नेताहरु निर्णय लिन जति स्वतन्त्र हुन्छन् त्यसपछि त्यो निर्णय कार्यान्यवन गर्दै अगाडि जाने क्रममा निर्णयबाट मान्छे बाँधिन्छ । नेता एक्लै पनि हुन्छ र बाँधिएर पनि आउँछ । नेता स्वतन्त्र पनि हुन्छ, नेता सामूहिक ढंगले बाँधिएर पनि आउँछ । नेपालमा हाम्रो अपिल, निर्देशन र अगुवाइमा ठूलो स्केलमा बलिदान गरे । १० वर्षमा हाम्रा १० हजार समर्थक, नागरिक र हाम्रा सहयोद्धा कमरेडहरुले जो बलिदन गरे उनीहरुको सपना पूरा गर्नु माओवादीहरुको आजको सबभन्दा ठूलो कार्यभार हो । त्यो कार्यभारबाट कोही पनि फुत्किन पाउँदैन । तपाईं नोट गरेर राख्नुस् जनयुद्धमा जाँदा हामी जति स्वतन्त्र थियौं । जनयुद्धबाट यो ठाउँमा आइसकेपछि एक्लै हिँड्न पाइँदैन । प्रचण्ड र वैद्यहरु कोही पनि त्यो निर्णयबाट बाहिरिन पाउनुहुन्न । कोही पनि मान्छेले इतिकासबाट पछि हट्न पाउँदैन । फर्कन नपाउने मात्र होइन, उहाँहरुले जनताका बीचमा जुन प्रतिबद्धता गर्नुभयो र जुन निर्णय लिनुभयो, त्यो निर्णयको काराणले नेपालमा १० हजार मान्छेको बलिदान भएको छ । त्यसको जवाफ प्रचण्डजीहरुले दिनुपर्छ । त्यसको जवाफ माओवादीहरु र नेपालका राजनीतिक नेताहरुले दिनुपर्छ । हामी त्योबाट बाँधिएका मानिसहरु हौं । माओवादी हिजो जसरी एक्लै स्वतन्त्र निर्णय गर्न सक्थ्यो आज सहिद परिवारको स्वीकृतिबिना, बेपत्ता योद्धाका परिवारको स्वीकृतिबिना, घाइतेहरुको स्वीकृतिबिना माओवादीमा जीवन अर्णण गरेका हाम्रा समर्थक र शुभचिन्तकहरुको स्वीकृतिबिना, नेपालका नागरिकहरु जसले माओवादीलाई हुर्काए–फैलाए र पाले तिनीहरुको स्वीकृतिबिना एक्लै व्यक्तिगत र निजी जीवनतिर फर्कन पाइँदैन । यो आजको आवश्यकता हो ।
हामी १० वर्षको संघर्षमा जीवन बिताउँदै गर्दाखेरि काँग्रेस र एमालेका साथीहरु रोल्पा पुग्नुभएको थियो । जतिबेला च्यापच्याप पारेर काँग्रेस र एमालेका नेताहरुलाई जेल हालेको थियो । त्यतिबेला एमालेका नेताहरु रोल्पा पुग्नुभएको थियो । हाम्रो सत्ता चलेको ‘बेस एरिया’ मा पुग्नुभएको थियो । नेपालमा बढी चर्चा दिल्लीमा भएको १२ बुँदेको हुने गर्छ । त्यो कुरा सत्य होइन, म त्यसालाई खण्डन गर्न चाहन्छु । त्योभन्दा पहिले काँग्रेस र एमालेसँग रोल्पामा सहमति भएको छ । राजतन्त्रको विपक्षमा र जनताको लोकतन्त्रका पक्षमा सँगै सहकार्य गर्ने भन्ने सहमति रोल्पामा भएको थियो । माओवादीले जनयुद्धमा उठाएका किसान–मजदुरका सामस्याहरु, युवाका समस्याहरु, उत्पीडित समुदायका समस्याहरु, महिला, दलित, जनजातिका समस्याहरु र वर्गका समस्याहरु सधाधानका लागि साझा एजेण्डाका आधारमा सहकार्य गर्ने भन्ने सहमति रोल्पामा भएको छ । हामीले काँग्रेस र एमालेलाई विश्वास गरेर आयौं ।
हामीले ठान्यौं कि नेपालको इतिहासमा पुनर्विचार हुन्छ भने काँग्रेसले विगतमा ठूलठूला भुल गरेको छ । त्यो भुलबाट शिक्षा लिएर फेरि जनताको पक्षमा उभिन आइपुग्छ र लोकतान्त्रिक शक्तिका रुपमा आफूलाई प्रस्तुत गर्न तयार हुन्छ भने हामी सहकार्य गर्न तयार छौं भनेर आएकै हौं । म भन्छु आज आएर काँग्रेसले त्यो गुण बिर्सेको छ । आफू जेल पर्दा रोल्पामा माओवादी खोज्दै हिंड्ने काँग्रेस र राजतन्त्रको जेलमा बन्दी हनाएर नेल–हथ्कडी ठोकिँदा माओवादी खोज्दै हिंड्ने एमालेहरु काठमाण्डु आइपुगेपछि एकदुई जना नेताहरुलाई करोडपति र अरबपतिको सुवित्रधामा फसाएर, एकदुई जना नेता किनेर, भ्रष्ट बनाएर सिंगो माओवादी आन्दोलन किनबेच गर्छु भन्ने सोचमा एउटा राजनीतिक धारामा विचलन देखा प¥यो । त्यो राजनीतिक धाराले आज नेपाली जनताको शिकार गर्छु भने पनि, एमाले र काँग्रेसका साथीहरुले केही नेता किनेर, भ्रष्टीकरण गरेर वा आदर्शबाट विचलित पारेर नेपालको राजनीतिलाई कन्ट्रोल गर्छु र फेरि पूरानै सत्ता ल्याउँछु भन्ने सोचेका हुन् भने उनीहरुले नेपाली जनतालाई अपहेलना गरेका हुन्, धोका दिएका हुन् । तर म भन्छु यो जनताले धोका पाउने कुरा होइन । यो बलिदनमा होमिएका मानिसहरुले धोका पाउने कुरा पनि होइन । अन्तिम निस्कर्षमा यो काँग्रेस र एमालले धोका पाउने कुरा हो । आज जसरी काँग्रेस–एमाले एकलौटी रुपमा जान खोजिरहेका छन् । विदेशीहरुको उक्साहटमा लागेर उनीहरुले देशलाई प्रतिगमन र पश्चगमनतिर धकेल्न खोजेका छन् ।
राजनीतिक नेताहरुले जनताका अपेक्षा र जनादेशलाई कुल्चिएका छन् । नेपालको सत्ता नयाँ बनाउने, माओवादीसहितको सत्ता बनाउने, माओवादीसहित नेपालको राजनीतिलाई नयाँ ठाउँमा पु¥याउने र नेपाललाई शान्ति र परिवर्तनमार्फत समृद्ध बनाउने भन्ने जुन साझा एजेण्डा हो त्यो एजेण्डाबाट आफूलाई प्रजातन्त्र र लोकतान्वादी भन्नेहरु विदेशीहरुबाट उक्सिएर देशलाई उल्टो दिशातिर फर्काउन चाहेका छन् । नेपालको सन्दर्भमा अर्को धोका हाम्रा अगाडि आएको छ । तर हामी के भन्छौं भने यो कुरा बुझ । जसरी हामीले रोल्पामा सहमति गरेका थियौं, जसरी हामीले नेपाली जनताका अगाडि प्रतिबद्धता गरेका थियौं त्यो प्रतिबद्धताबाट काँग्रेस–एमाले पछि हट्न पाउँदैन । हुनसक्छ कथित संविधानसभा–२ मा बहमुत पाएको डंका फैलाएर उनीहरु त्यहाँबाट पर्छि फर्कन खोजेका होलान् । तर इतिहासले उनीहरुलाई त्यो छुट दिनेवाला छैन ।
काँग्रेस–एमाले वा कुनै पनि शक्ति र नेता नेपाली जनताका एजेण्डाको सम्बोधन नगरेर, नेपाली क्रान्तिका प्रस्तावहरुलाई सम्बोधन नगरेर, किसान, महिला, दलितका एजेण्डाहरुलाई सम्बोधन नगरेर, उत्डीडितहरुको एजेण्ठाहरुलाई सम्बोधन नगरेर व्यक्तिगत, दलगत र गुटगत इच्छालाई नेपाली जनतामाथि लाद्ने तिरबाट सोच्नु कदापि सम्भव हुने कुरा होइन । आजको मितिमा म भन्छु, काँग्रेस एक्लै हिँड्न चाहेको छ ।
उसले जनताको उपहास गर्न खोज्दैछ । कँग्रेस र एमालेभित्रको विकृत हिस्साले देशलाई जबर्जस्त घिसार्न जोखेको छ । तर म भन्नु तपाईंहरुको इच्छा त होला तर नेपालको राजनीतिमा कदापि सम्भव छैन । हाम्रो धेरै कुरा छैन । हामीले जनताप्रतिको उत्तरदायित्व लिन खोजेका छौं । हामी सकौंला या नसकौंला त्यो बेग्लै कुरा हो । मानिसहरुले भनेका छन, माओवादी असफल हुने बाटोतिर लाग्यो । माओवादी विगतको पुनरावृत्ति गर्नतिर लाग्यो । माओवादीका केही नेता फेरि मार्ने र मरिने बाटोतिर लागे भनेर विश्लेषण गरेको पनि हामीले सुन्यौं । त्यो ठीका होला । तर म के भन्न चाहन्छु भने यो भौतिक जीवनमा अजम्बरी मान्छे कोही पनि छैन । कोही पनि सधैं बाँच्दैन । मात्रै कुरा हो, केका लागि मर्ने र केका लागि बाँच्ने ? काँग्रेस, एमाले र कहिलेकाहीं एमाओवादीका नेताहरु पनि आफ्नो तुच्छ जीवनका निम्ति विदेशी मालिकहरुको नाक रगड्दै नेपाली जनताको काँधमा खुट्टा राखेका बाँचेका छन् । त्यो जीवन उनीहरुले जिउन चाहेका छन्, जुन हामीलाई स्वीकार्य छैन । हामीले गलत कुरा उठाएका छैनौं । हामीले कुनै पूर्वाग्रह साँधेका पनि छैनौं । हामीसँग कुनै तुस पनि छैन । हामीले नेपाली जनताका एजेण्डा र प्रस्तावहरुलाई अगाडि सारेका छौं । ती पूरा हुनुपर्छ भन्ने मात्र हाम्रो चाहना हो । एउटा किसान आज भोकै छ । हिजो १० वर्षको लडाईंमा जसको छोरा म¥यो त्यो आज भोकै छ । सुकुम्बासीको घर फेरि भत्किएको छ । जो किसान जनयुद्ध र १९ दिने आन्दोलनका बेला सडकमा भाग लिएर टाउको फुटाउँदै, घाइते हुँदै बलिदान गरेर हिंड्यो ती मान्छेहरुको जीवन अहिले कष्टकर छ । जो मजदुरहरु हिजो संघर्षमा होमिए, उनीहरुको जीवन कष्टकर छ । महिला दिदीबहिनीहरु र दलितहरु जसले अमानवीय जीवन बिताए । आज फेरि उनीहरु दमनमा पर्न थालेका छन् । जनतातिहरु र उत्पीडित समुदायका मानिसहरु उल्टो दिशातिर फर्किएको राजनीतिको शिकार बन्नुपर्ने स्थिति छ । मैले यहाँ भन्नुपर्ने कुरा के छ भने हामीले युद्ध चाहेका छैनौं । हामीलाई सिर्फ जनताको अधिकार चाहिएको छ । हामीले हाम्रो देशको स्वाधिनता चाहेका छौं । यदि यो देश स्वाधिन हुनुपर्छ र जनतालाई अधिकार चाहिन्छ भन्ने एजेण्डामा बलिदान गर्नुपर्छ भने हामी तयार छौं । हामीले यो कुरा स्वीकार गरेका छौं । यो कुनै मर्ने र बाँच्ने कुरा होइन । यो मारिने र मार्ने कुरा होइन । नेपाली जनताले आन्दोलनबाट स्थापित गरेका विषयहरुलाई सुरक्षित र संरक्षण गरेर कार्यान्यवन गराउने कुरा हामीले गरेका हौं ।
देशमा विदेशीहरु आउँदा कुनै भगवान आएको जसरी लत्रिने मानिसहरु, विदेशीका अगाडि एउटा भक्तले आत्मसमर्पण गरेको जसरी नाक रगड्दै हिँड्ने मान्छे्हरु । जसले मृत्यु र जीवनलाई उल्टो व्याख्या गरेर हाम्रो बाटो, आदर्श र मान्यतालाई जबर्जस्त व्याख्या गर्न चाहेका छन् । यो देशमा जसले १० वर्षे जनयुद्धको एजेण्डाहरुलाई अस्वीकार गर्छ, जसले जनताका भावनाहरुलाई कुल्चिएर संसदीय व्यवस्था लाद्छु भन्ने सपना देखेको छ । जसले देशलाई उल्टो गतितिर फर्काएर फेरि नेपालमा शासन गर्छु भन्ने सपना देखेको छ त्यसलाई हाम्रो चुनौती छ । हामी के हाँक दिन चाहन्छौं भने माओवादी पार्टी फेरि उभिएको छ । यहाँ युद्धको कुरा गरिएको छ । म युद्ध र बन्दुकका कुरा धेरै गर्न चाहन्न । तर यो चाहिं भन्न चाहन्छु कि माओवादीले १० वर्ष लडेका जनताका एजेण्डा कसैले छिन्न र हामीमाथि दमन गर्नै चाहन्छ र हाममिाथि बन्दुक उठाउने दुस्साहस गर्छ भने, हामीमाथि कसैले औंला ठड्याएर उनीहरुका जेल र अदालतबाट हामीलाई अपराधी घोषणा गर्ने दुस्साहस गर्छ भने त्यसको बदला दिन हामी तयार भएकै हो । यो कुरा निश्चित हो । तर नेपाली मौलिकता, नेपाली सन्दर्भ र नेपाली विशेषतामा यो अगाडि बढ्ने छ ।
यो कुनै दुई चारजना नेता र माओवादी पार्टीको कुरा हुने छैन । यो आमनेपाली स्वाभिमानी नेपाली नागरिकहरुको विषय हुन्छ । जसले हाम्रो देशलाई मायाँ गर्छन् ती कर्मचारी, सेना प्रहरी, उद्योगी वा व्यवसायी हुन् चाहे मदजुर वा किसान होस् चाहे युवा होस, चाहे विद्यार्थी होस् ती सबैको भावना हाम्रो देशलाई स्वाधिन बनाउने हो । यो शताब्दीमा हामी नेपालमा उभिएर हाम्रो देशको नागरिक बन्न चाहन्छौं । संसारमा म नेपालको नागरिक हुँ भन्ने हैसियत हामी स्थापित गर्न चाहन्छौं । हामी हाम्रो जनतालाई कसैले आशिर्वादमा लत्रिएर उभिएको नागरिक होइन । क्रान्तिबाट हुर्किएर आएको अधिकार सम्पन्न नागरिक हुँ भन्न सक्ने बनाउने चाहना हाम्रो छ । यदि यो कुरा मान्न तयार हुनुहुन्छ भने हामी टेबलमा बस्न तयार छौं ।
तर यो कुरालाई अपव्याख्या गरेर, केही नेताको टाउकोमा थुपारेर, केही पार्टीको टाउकोमा थुपारेर आफ्नो स्वार्थ पूरा गर्ने सपना देख्नुभएको छ भने यो देशमा त्यो सम्भव छैन । नेपालमा कहिले काहीं धेरै ठूला फुटहरु भएका छन् । नेपालको माओवादी आन्दोलनमा एकचोटि निकै ठूला अन्यौलता, अस्पस्टता र विभाजनहरु देखा परे । तर म यहाँबाट म घोषणा गर्छु अब नेपालमा माओवादी फुट्ने छैन । सबै क्षेत्रका माओवादी आज जसमाथि विदेश खडा गरिएको छ र अपहेलना गरिएको छ । ती सबै माओवादीलाई क्रान्तिकारी झण्डा मुनि गोलबन्द गर्ने अभियान हामीले सुरु गरेका छौं । जसले बलिदान गरे ती माओवादी फेरि नेपाली समाजको निम्ति उठ्ने र जाग्ने बेला भएको छ । यो अपिल म गर्न चाहन्छु ।
(नेकपा माओवादी घोषणा गर्न राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा चन्दले दिएको मन्तव्यको सम्पापदित अंश)