बन्द सँस्कृतिको अज्ञात मनोविज्ञान – भरत दाहाल
विश्व इतिहासका ठूल्ठूला राजनीतिक विद्रोहहरुमा सत्ता पक्षलाई श्रोतसाधनहरुबाट बन्चित गराएर घुँडा टेकाउने र त्यसलाई आफू विरुद्ध आक्रमण गर्न नसक्ने गरी यथास्थानमा रोक्ने हतियारका रुपमा आयोजना गर्ने गरिएका आम हड्ताल, जसलाई नेपालमा बन्द भन्ने गरिएको छ, ले यहाँ विकृत सँस्कृतिको रुप लिंदै गएको छ । यहाँका बन्दहरुमा सत्ता र प्रतिपक्षका रुपमा रहेका कुलिनहरुले बन्दको संभावित रुपका बारेमा एक अर्कालाई पूर्व जानकारी गराएर सचेत गराउँछन्, एक आपसमा संवाद गर्दछन्, जरुरी कामको बहानामा गाडी चढ्छन्, बैठकहरुमा रक्सी धोक्छन् र माथिल्लो सरोकारवाला वर्गलाई कुनै प्रभाव नपर्ने गरि श्रम गर्ने मानिसहरुको गास खोस्छन् ।
नेपालमा आन्दोलनको नाममा जनताको वर्ग मात्र किन पिसिन्छ ? यस्ता आन्दोलनहरुले लक्षित समुहका विरुद्धमा कुनै अपेक्षित परिणामहरु दिंदैनन् भन्ने थाहा हुँदाहुँदै बन्दहरु किन हुन्छन् ? यस्ता कार्यक्रमहरु जसका विरुद्धमा राखिएको हुन्छ, त्यो वर्गलाई किन छोईंदैन ? वा अझ राम्ररी भन्ने हो भने समाजलाई दुषित बनाउन सर्वाधिक भूमिका खेल्ने गरेका भ्रष्टाचारीहरु, कालाबजारीयाहरु, माफियाहरु, तस्करहरु, सत्ताको आडमा लुट मचाउनेहरु आदितिर बन्दहरु किन सोझिंदैनन् ? यी प्रश्नहरु एक प्रकारको राजनीतिक सँस्कृतिसंग संबन्धित छन् र यसबाट प्राप्त हुने जबाफहरुले मनोविज्ञानको प्रतिनिधित्व गर्दछन् ।
यस्ता औचित्यहिन कार्यक्रमहरु भैरहनुका पछाडि मैले ३ वटा कारणहरु देख्छु । एउटा कारण वर्ग हित हो । सत्ता पक्ष वा प्रतिपक्ष जे नाम दिए पनि यी समान वर्गका मानिसहरु हुन् । यिनीहरुको आधारभूत स्वार्थ एउटै हो । बन्द जस्ता कार्यक्रमहरुलाई यो वर्गले सत्ता पक्षको निषेध होइन, त्यससंग भागबण्डा वार्गेनिङको साधनका रुपमा प्रयोग गरेको हुन्छ । जनतालाई आफ्नो रक्षा कबचका रुपमा उपयोग गरेको हुन्छ । त्यसैले सो वर्गले गर्ने यस्ता कार्यक्रमहरु तथाकथित विपक्षिहरुका लागि पूर्णतयाः निष्प्रभावि हुन्छन् । बरु यथार्थता के हो भने कुलिन वर्गले कतिपय यस्ता कार्यक्रमहरु परिस्थितिको आँकलनका लागि आपसि सल्लाहबाटै गरेका हुन्छन् ।
दोश्रो कारण हो अकर्मण्यता । परिस्थिति र जन मनोविज्ञानभन्दा धेरै पछाडि परेका मानिसहरुले कुनै कुराको भेउ पाउन नसक्दा आक्रोसका रुपमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दछन् । ‘आए आँप, गए झटारो’ भन्ने बाहेक कुनै दूरदृष्टि नभएका यस्ता मानिसहरुले बन्दलाई अधिकतम रुपमा आफ्नो शक्ति प्रदर्शनको काइदाको साधन ठानेका हुन्छन् । शासक वर्गलाई कतै हानि नगर्ने यस्ता कृयाकलापहरुको असर जनतामा कस्तो परिरहेको हुन्छ भन्ने हेक्का राख्ने चेतसम्म यिनीहरुमा हुँदैन । यसको परिणाम यिनीहरुका लागि पनि अज्ञात हुन्छ । यिनीहरुले निरस बन्दहरुले जनतालाई हानि गरिरहेको कुरा स्विकार गर्दछन् तर आफ्नो यथार्थतालाई खोल्दै यसलाई‘बाध्यता’ भएको बताउँदछन् ।
यि बाहेक बन्दको फेसनका पछाडि नेपालमा अर्को कारणले पनि काम गर्दै आएको छ । यो हो, साम्राज्यवादी शक्तिहरुको उक्साहट । सबै क्षेत्रबाट नेपाललाई अस्तव्यस्त, लथालिंग, अराजक, अस्थिर र आफूमाथि आश्रित बनाउनका लागि साम्राज्यवादी शक्तिहरुले यस्ता कार्यक्रमहरुमा प्रसस्त लगानि गरेका हुन्छन् । माथिका २ वटाभन्दा यो कारणले नेपालमा बढी काम गरिरहेको छ । यसका पछाडि राजनीतिक हस्तक्षेप मात्र हुँदैन, व्यापार र अबान्छित संझौताहरुको स्वार्थ पनि लुकेको हुन्छ । १० बर्षे द्वन्दबाट तरलता सिर्जना गरेर विदेशिहरुले नेपालबाट लाखौं कृत्रिम नागरीकता तथा सबै जसो प्राकृतिक श्रोतसाधनहरु बार्गेनिङ गरेर लिएका उदाहरणहरु हाम्रै अगाडि छन् ।
अपराधजन्य दुर्भावना बोकेकाहरु बाहेकका बन्दकारीहरुले सोंच्नु पर्ने पक्ष के हो भने बन्दलाई जसका विरुद्धमा गरिएको हो त्यसै तप्कालाई हानि हुनसक्ने गरी संगठित गर्नुपर्छ । यसो गर्न सक्दा त्यसको सकारात्मक प्रभाव पनि हुन्छ । यदि यसो गर्न संभव छैन र त्यसबाट कुनै अपेक्षित परिणाम निस्कने अवस्था छैन भने ‘राम्रो कदम भए पनि त्यसबाट अपेक्षित परिणाम निस्कँदैन भने त्यसलाई अहिल्यै नगर’ भन्ने नियमको पालना गर्नु पर्दछ । किनभने प्रत्युत्पादक कदमहरुले उल्टो जनविरोधि तप्काप्रति जन सहानुभूति पैदा गर्न भूमिका खेलिरहेका हुन्छन् । नेपालमा बन्दका कार्यक्रमहरु विरुद्धमा बढ्दो प्रतिकारको मनोविज्ञानभित्र यस्ता कदमहरुले औचित्य देखाउन नसक्नुको रोष छ ।