बन्द गर संविधानको रटान – राजेन्द्र चिमौरिया
संविधान निर्माणमा विवादित रहेका विषय, संघीयता, शासकीयस्वरुप, न्याय प्रणालीजस्ता विवादित विषय ज्युँका त्युँ छन् । तर, पनि दलहरु माघ ८ गते संविधानरुपी एउटा खोस्टो नेपाली जनताबीच फाल्न यो या त्यो बाहनामा छलफलमा जुटिरहेका छन् । अब माघ ८ गते प्रक्रिया वा सहमति जे भए पनि नेपाली जनताले चाहेको संविधान ल्याउन असम्भव भइसकेको छ । संविधानसभामा भएका दलहरुले विवादित विषयलाई थाती राख्दै संविधान जारी गर्ने वा संविधान निर्माणको म्याद पुनः बढाउनेभन्दा अर्को विकल्प छैन । संविधानसभाका दलहरुले अब जुन बाटो अँगाले पनि नेपाली जनताले उनीहरुलाई साथ दिने कुनै छाँटकाँट देखिँदैन । एक वर्षा जनताको संविधान निर्माण गर्ने बाचा गरेर पुनः संविधानसभामा पुगेका दल र नेताहरुले यो एक वर्षआपसी हिलो छ्यापाछ्याप मै विताए । संविधान निर्माणभन्दा दल विशेष र व्यक्ति विशेष एजेण्डालाई प्राथमिकता दिए, जसको परिणाम अहिले नेपाली जनताले भोग्नु परिरहेको छ । अहिले संविधानसभामा भएका दलहरुले जनताको संविधान बनाउँछन् भनेर विश्वास गर्नु मूखताबाहेक केही हुन सक्दैन । तर्सथ, अब यो संविधानसभाको खारेजी नै संविधान निर्माणको प्रस्थानबिन्दु हो । अब संविधानसभामा भएका दलहरुले आफ्नो दलगत स्वार्थ त्यागी देश र जनताको निम्ति यो संविधानसभा विघटन गर्न तत्पर हुनुपर्छ । देशमा शान्ति र जनतालाई जनसंविधान दिन संविधानसभा भित्र र बाहिर भएका तमाम दलहरु एकजुट हुनुपर्छ । यसको निम्ति पनि संविधानसभाको विघटनबाहेक अर्को विकल्प छैन । तर्सथ, संविधानसभामा भएका दलहरुले अब माघ ८ को रन्को छोडी संविधानसभा विघटन गरी राष्ट्रिय राजनीति सम्मेलनतर्फउन्मुख हुनुपर्छ । अनि मात्र देशको राजनीति सही मार्गमा प्रवेश गर्छ । संविधानासभामा रहेका दलहरुले देशको अहिलेको वास्तविक वस्तुस्थिति नबुझी संविधानसभालाई अँगालो हालिरहे देशको स्थिति भयावह हुने निश्चित छ । देशको स्थिति भयावह बनाउने राजनीतिक दल र नेतालाई नेपाली जनताले कहिल्यै माफ गर्ने छैनन्, चेतना भया ।