माओवादीका कमजोरीहरु – धनीराम सिम्खडा

२०७१ माघ १७ गते, शनिबार

नेपाली जनताको परिवर्तनको चाहना लाई सशस्त्र क्रान्तिबाट मात्र सम्भब हुने भएकाले नेपाली माटो सुहाउँदो दीर्घकालीन जनयुद्धको माध्यमबाट प्रतिक्रियावादी राज्यसत्ताको विरुद्ध बन्दुक उठाएको नेकपा माओवादीले देशको सम्पुर्ण ग्रामीण भुभाग कब्जा गरि पुरानो सत्तालाई सदरमुकाम, केन्द्र र ब्यारेकमा कैद गरेको थियो । नेपाली जनयुद्धले रण्नैतिक रक्षासन्तुलन र प्रत्याआक्रमण बाट देश मुक्त गर्दै थियो। त्यही अवस्था सात दल र माओवादी बिच १२बुदे समझदारी भयो त्यही सहमतिको जगमा टेकेर १९ दिने जनआन्दोलन भयो । सामन्ती राजतन्त्रलाई परास्त गर्दै देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । संविधानसभा निर्वाचन भयो जनसेनालाई क्यान्टोनमेन्टमा राख्ने निर्णय भयो । २०६३ मंसिर ५ मा नेपाल सरकार र माओवादीबिच बिस्तृत शान्तिसम्झौता भयो ।त्यही शन्तिसम्झौताबाट महान जनयुद्धको अन्त्य भएको घोषणा गरियो । वाईसीएलको संरचना विघटन,सामन्तीको कब्जा गरिएको घरजग्गा फिर्ता लगायतका कार्य जनयुद्धको भावना विपरीत हुन गयो ।प्रतिक्रियावादी दुश्मनलाई आफ्नो मित्र ठानेर आफ्नो एजेन्डा बिपरित काॠ गर्नु पहिलो कमजोरि हो ।विभिन्न समयमा भएका सहमति सम्झौतामा माओवादी आफ्नो लक्ष्य,उद्देश्य र विचार सिद्धान्त भन्दा बाहिर गएर संसदवादी हरुको लहैलहैमा जनताको एजेन्डा माथी हेक्का नराखी ल्याप्छे ठोक्नु ।
पार्टी भित्रको अन्तरसंघर्ष दुईलाईन संघर्षलाई जनवादी केन्द्रियताको आधारमा नभएर नोकरशाही शैलीबाट फरक मतलाई स्थान नदिनु, ध्वंसात्मक ढंगबाट निषेधको राजनिती गर्नु अर्को कमजोरी हो । देशलाई प्रभाव पार्ने पार्टीका महत्त्वपूर्ण निर्णयहरु बहुमतको नाममा मनोगत नोकरशाही महत्वाकांक्षाबाट अगाडि बढाइएको र अल्पमतलाई पुरै निषेध गरि पार्टीभित्र गुटबन्दी गर्ने प्रक्रियाको शुरूवात गरि पार्टी बिभाजनको दिशातिर पुत्याएको एकलौटी ढंगबाट मुल नेतृत्व अगाडि बढदा अहिले पार्टी ४/५ टुक्रामा बिभक्त हुनुको परिणाम हो ।
सरकारको नेतृत्व माओवादीले गरेको बेलामा जनहितका कामकामकारबाहीलाई प्राथमिकता नदिनु, केबल सरकार संचालनमा अलमलिनु सहि निकास दिन नसकेर सरकार अन्योलमा हुनु ,आक्रोश आवेग र रिसमा कटुवाललाई कार्वाही गर्नु ।त्यो सेनापती कटुवाल काण्डबाट प्रचण्ड सरकार बहिर्गमन हुनुपनि एक हो ।
कथित बाबुराम सरकारले जनमुक्ति सेनालाई समायोजनको नाममा आत्मसमर्पण गराउने योजना अनुसार जनसेनाको ब्यारेकलाई रातारात नेपाली सेना परिचालन गरि क्यान्टोनमेन्ट कब्जा गर्यो । प्रतिक्रियावादीहरुले माओवादीमाथी गरेको षड्यन्त्रलाई माओवादी नेताहरूले थाहा नै पाएनन् । संविधानसभाबाट नयाँ संविधान र शान्तिप्रकिया तार्किक निष्कर्षमा नपुगे सम्म जनसेना विघटन नगर्नु पर्ने हो तर इमान्दारको नाममा आफ्नो सर्वस्व हरण हुनेगरी गरिएको आत्मघाती सहमति सम्झौताको दुरगामी असर अहिले भोगिदैछ ।
दश वर्षे जनयुद्धको उपलब्धिलाई संस्थागत गर्न क्रान्तिलाई अन्तिम बिन्दुमा पुर्यान कार्यनीतिको रूपमा संविधानसभा प्रयोग गरिएको हो ।यसैलाई क्रान्ति साधन बनाएर जनताको हकहित शान्तिपूर्ण तरिकाबाट पनि निकास निकाल्न सकिन्छ भन्ने ध्यायले गोलमेच सम्मेलन अन्तरिम सरकार र संविधानसभाको चुनाव अगाडि सारिएको हो ।त्यही मुताबिक नेपालमा संविधानसभा चुनाव सम्पन्न भयो । माओवादी ठुलो शक्ति भयो । तर ४/४ वर्षसम्म नि संविधानसभाबाट नयाँ संविधान बनाउन नसकेर जसले संविधानसभाको जन्म गराएको थियो त्यसैबाट रातारात संविधानसभाको निर्मम हत्या गरियो ।यो इतिहासमा सबैभन्दा कलंकको रुप मानिन्छ ।अन्ततः संविधानसभा भंग हुनु भनेको प्रतिगामी प्रतिक्रियावादीलाई फाईदा पुगेको अवस्था हो ।
देशमा राजनीतिक पार्टी हुदाहुदै माओवादी नेतृत्वले वहालवाला प्रधान न्यायाधीशलाई देशको कार्यकारी प्रधानमन्त्री बनाउने हेटौंडा महाधिवेशनको कार्यनीतिलाई पास गर्यो । प्रधान न्यायाधीश प्रधानमन्त्री खिलराज रेग्मीबाट संविधानसभा निर्वाचन गर्ने योजना अनुसार माओवादी अगाडी बढ्दै गयो ।तर आफ्नो आत्मगत वस्तुगत परिस्थितिको कहिल्यै मुल्यांकन गरेन । २०६४ सालको धङधङीलाई ऎनामा हेर्दै अगाडि बढ्दा आफै घोषणा गरेको कथित संविधानसभा चुनावमा सेना परिचालन गरेर केही राजनीतिक पार्टी चुनावको विपक्षमा हुदाहुदै ठुलो जनताको हिस्सा बाहिर राखेर चुनाव सम्पन्न त भयो बिदेशीको इशारामा भएको चुनावले आफ्नो बेहाल भएको पत्तै पाईएन् । यो सबै भन्दा भयंकर आत्मघाती कमजोरी हो ।
अहिले त्यही कथित दोस्रो संविधानसभा प्रतिक्रियावादी प्रतिगामी शक्तिको कब्जामा परेको छ ।संविधानसभाबाट जनताको जनपक्षीय संविधान आउने सम्भावना छैन । पहिचान सहितको संघीयता दिने चान्स छैन । गरिब,किसान,मजदुर र उत्पीडित वर्गको हकहितलाई स्थापित गर्न सकिने ठाँउ नै छैन । कांग्रेस एमालेहरु बहुमतको घमण्डबाट ग्रसित छन् । बहुमतिय प्रक्रिया सुरु गर्दै २०४७ सालको पुरानो संविधान फर्काउने कोशिश हुदैछ ।अब यसका विरुद्ध सडक संघर्ष जनसंघर्ष प्रमुख बनेर आएको छ ।तर माओवादी फेरिपनि संसदीय खेलमा रमाउने सुखसुबिधा लिने र संविधानसभा बहिष्कार गर्ने पक्षमा देखिदैन । बरु उल्टै मधेसीको बैशाखी बनेर जातीय नारालाई उचाल्दै वर्गसंघर्षको खिलापमा उत्रिनु अर्को हो ।
अन्तमा टुक्राटुक्रामा विभक्त माओवादी हरुको एकता प्रमुख अहिलेको आवश्यकता हो । सर्वहारावर्गको सुनौलो संसार निर्माण गर्ने हो भने वर्गदुस्श्मन विरुद्ध गोलबन्द भएर प्रतिकार गर्नु विद्रोह गर्नु क्रान्ति गर्नु अनिवार्य भईसकेको छ । अब क्रान्तिकारी शक्तिहरु प्रतिक्रियावादीलाई हेरेर बस्न सकिदैन, तिनका विरुद्ध जाईलाग्नु पर्छ ।इतिहासमा जे जस्तोसुकै कमजोरी भएपनि आत्मसमीक्षा गर्दै देश र जनताको लागि माओवादी क्रान्तिकारी शक्ति आजको समयमा एकहुनुको विकल्प छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु