जनयुद्धको उपलब्धि रक्षा गर-राजेन्द्र चिमौरिया

२०७१ फाल्गुन २ गते, शनिबार

२० औँ जनयुद्ध दिवस मनाइएको छ । २० औँ जनयुद्ध दिवस मनाउने क्रममा जनयुद्धको जननी शक्ति माओवादी टुक्राटुक्रामा विभाजित भएको छ । जनयुद्धबाट प्राप्त उपलब्धि लगभग गुम्ने स्थितिमा पुगेको छ । देश र जनताको भविष्य अन्योलतातर्फ उन्मुख छ । संसद्वादी र प्रतिक्रियावादीहरू सलबलाउन थालेका छन् । १२ बुँदे सम्झौता च्यातिएको स्थिति छ । यस्तो अवस्थामा देश र जनतालाई मुक्ति दिने उद्घोषका साथ जनयुद्धमा होमिएको माओवादी क्षीण हुन पुगेको छ । २० औँ जनयुद्ध दिवस मनाइरहँदा जनयुद्धको उपलब्धि रक्षाको निम्ति खरो रूपमा उत्रने प्रण गर्दै नेकपा माओवादीको उदय भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले १२ बुँदै सहमतिको अक्षरशः पालना हुनुपर्ने अन्यथा माओवादी क्रान्तिमा लम्कने जुन उद्घोष गरेको छ, यसबाट परिवर्तनकामी नेपाली जनतामा नयाँ उत्साह छाएको छ । १० वर्षे जनयुद्धमा आफ्नो परिवारजन गुमाउने, घाइते, अपाङ्ग र १० वर्षे जनयुद्धमा हत्केलामा प्राण राखेर देश र जनताको मुक्तिको लागि लड्ने कार्यकर्तामा उत्साह र जाँगर पैदा भएको छ । हो, वर्तमान अवस्थामा नेकपा माओवादीले नीति नै उपयुक्त र देश र जनताको लागि हितकर छ किनकि वर्तमान संविधानसभाबाट जनसंविधानको अपेक्षा गर्नु आकाशको फलसरह हो । यो संविधानसभाबाट देशी, विदेशी प्रतिक्रियावादी शक्तिबाहेक अरुको हित हुने संविधान नबन्ने निश्चित छ । यस्तो अवस्थामा नेकपा माओवादीले भनेजस्तै यो संविधानसभाको विघटन गरेर अधिकार सम्पन्न राष्ट्रिय राजनीतिकसभाको आयोजना गर्नुको विकल्प छैन । देशको तमाम संकटको निकास खोज्ने एक मात्र विकल्प अब राष्ट्रिय राजनीतिकसभा नै हो । तसर्थ यसतर्फ नेपालका सबै परिवर्तनकामी शक्ति, एनेकपा र नेकपा–माओवादीले समेत विप्लव नेतृत्वको नेकपा माओवादीलाई साथ दिनुको विकल्प छैन । जसबाट मात्र १० वर्षे जनयुद्धको उपलब्धिको रक्षा हुन सम्भव छ, चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु