उद्धार र राहत बितरणमा तिब्रता देउ – राजेन्द्र चिमौरिया

२०७२ बैशाख १९ गते, शनिबार

गत वैशाख १२ गते गएको महाभूकम्पले ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति गरेको छ । महाभूकम्पले सहर र गाउँघरमा गराएको मानवीय तथा भौतिक क्षति अकल्पनीय छ । अझ महाभूकम्पको केन्द्रबिन्दु गोरखाको दुर्गम स्थान बारपाक उपत्यकाबाहिर भएकाले ती क्षेत्रहरूमा झनै ठूलो क्षति भएकोछ । तर, अहिलेसम्म कहाँ के कस्तो क्षति भएको छ भन्ने पूर्ण जानकारीसमेत छैन । अझ राहत र उद्दारका लागि टोली सबै स्थानमा पुग्न सकेको देखिदैन । विभिन्न जिल्लाका दुर्गम स्थानमा गाउँका गाउँ क्षति भएका छन् । घर भत्किएपछि पुरिएका व्यक्तिहरूको उद्दार हुन सकेको छैन । गाउँका सबै व्यक्तिहरू भूकम्पका कारण प्रभावित भएकाले स्थानीय जनस्तरबाट सामान्य उद्दार कार्य बाहेक अर्काे उद्दार तथा राहत कार्यका लागि खटिएका सरकारी तथा गैरसरकारी क्षेत्रका टोलीहरू प्रभावित क्षेत्रमा पुगिरहेको पाइँदैन । राज्यका संयन्त्र, गैरसरकारी र निजी क्षेत्रका संयन्त्र तथा सञ्जालहरू सबै उद्दार तथा राहतका लागि काठमाडौं र सदरमुकाममा मात्रै केन्द्रित भएको पाइएको छ । सम्बन्धित निकायहरूबीच समन्वयको अभावका कारण भएका र गरिएका राहत तथा उद्दार कार्य पनि प्रभावकारी हुन सकेको छैन । त्यसैले उद्दार तथा राहत बितरण कार्यलाई प्रभावकारी बनाउनु आवश्यक छ । राष्ट्रिय विपत्तिको यो क्षणमा सरकार, राजनीतिक दलका साथै गैरसरकारी क्षेत्रले आ–आफ्ना स्थानीय सञ्जालहरूलाई तत्काल परिचालन गर्न आवश्यक छ । सरकारी निकाय होस् वा राजनीतिक दल गाउँ तहसम्म पहुँच भएकाहरूले उद्दार तथा राहतका लागि ती निकायहरूलाई प्रभावकारी हिसाबले परिचालन गरे मात्र स्थानीयस्तरमा थोरै भए पनि राहतको महसुस हुने थियो । यस अवस्थामा सरकारी निकायले गाउँस्तरमा आफ्नो जुन कार्यालय रहेको छ, त्यही कार्यालय र त्यसका कर्मचारीहरूलाई समन्वयको जिम्मा तोक्दै अन्य गैरसरकारी र जनस्तरबाट हुने उद्दार र राहत कार्यको समन्वय गराउन आवश्यक छ । यसरी परिचालित संयन्त्रलाई सरकारी निकायले चुस्त र प्रभावकारी हिसाबले समन्वय गर्न सके मात्र उद्दार तथा राहत कार्य स्थानीयस्तरसम्म पुग्ने सम्भावना रहन्छ । समन्वयबिना विभिन्न संघसंस्थाहरूले आ–आफ्नै हिसाबले गर्ने उद्दार तथा राहत कार्य र समन्वयसहित एकीकृत हिसाबले परिचालन हुँदाको प्रभावकारितामा धेरै अन्तर पर्छ । यो कुरालाई राज्यका संयन्त्रदेखि गैरसरकारी क्षेत्र र समुदाय सबैले बुझ्न आवश्यक छ । यसरी तत्कालका लागि गर्नुपर्ने उद्दार र राहतका लागि चाहे सरकारी निकाय हुन् वा गैरसरकारी संयन्त्र कसैले पनि कन्जुस्याइँ गर्नु हुँदैन । उद्दार र राहतका लागि सरकारदेखि जनस्तरसम्म सबैले युद्धस्तरमा लाग्न आवश्यक छ । साथै भूकम्पपीडितको नाममा संकलन भएको सहयोगलाई उचित तरिकाले वितरण गर्न पनि सम्बन्धित निकाय चनाखो हुनु अति आवश्यक देखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु