हलो क्रान्ति — खेम थपलिया

२०७२ श्रावण १० गते, आईतवार

‘शेषकान्त लेप्टन हरिभक्त तिघ्रे
तोयानाथ पडित हलो जोती बिग्रे ।’
नेपालको इतिहासमा पुरातन परम्पराका विरुद्ध नुतन परम्परा स्थापनार्थ विभिन्न स्वरूपहरूका विद्रोह, सङ्घर्ष, आन्दोलन, हुँदै आएका छन् । तिनीहरूमध्ये ‘हलो क्रान्ति’ पनि एक हो । २००६ साल साउन ११ गते लम्जुङ जिल्लाको दुराडाँडा गाविसस्थित अर्चलपानीमा पण्डित तोयनाथ अधिकारीका साथ शेषकान्त अधिकारी, हरिभक्त अधिकारी, श्रीकान्त अधिकारी, तोयानाथ पौडेल लगायत २७ जना ब्राह्मणहरूले सामूहिक रूपमा हलो जोतेका थिए सुरुमा यस्तो विचार राख्ने पाण्डित थिए– तोयनाथ अधिकारी । वास्तवमा यो कुरा २००४ सालदेखि नै उठेको मानिन्छ । यस विषयमा तोयानाथ, हरिभक्त, शेषकान्त, हरिदास लगायतका मानिसहरू हामी पण्डितहरूले हलो जोते के हुन्छ ? यसले किसानलाई निकै सजिलो पार्छ । आपूmले हलो जोत्न नहुने र हली लगाउने सधँै मुस्किल पर्ने अवस्थाको अन्त्य हुने कुरा त्यहाँ हुने गर्दथे । आफैँले हलो जोत्दा समयमै खेती लगाउन पाइने, उब्जनी पनि वृद्धि हुने, पुरानो परम्परा तोडिने र हलचलका साथ नयाँ परम्परा, जनचेतना जन्न्मने जस्ता कुराहरू त्यतिखेर भए तर यो कुरा त्यतिमा मात्र सीमित रहेन । सबै कुराका आ–आफ्नै विधि र नियमहरू हुन्छन् । दुराडाँडामा त झन् त्यस्तो नहुने कुरै थिएन । पण्डितहरूले हलो जोत्दा हुने शास्त्रीय र कानुनी पक्षको अवरोधबारे अनुसन्धान गर्न तोयानाथ र हरिभक्तलाई जिम्मेवारी तोकिएको थियो । यो प्रयासको क्रम बढ्दै गयो । त्यसको ठीक एक वर्षपछि अर्थात् २००५ सालमा चार अगुवामध्येका एक हरिदासको मृत्यु भयो । हरिदासको मृत्युले सो अभियान केही समय सुषुप्त नै रहन पुग्यो तर पनि भित्रभित्रै यो काम जसरी भए पनि गर्नुपर्छ भन्ने हुटहुटी लागेकोले सबैका राय सल्लाहका साथ २००६ साल साउन ११ गते ऋषिपञ्चमीका दिन २७ जना ब्राह्मणहरूले सामूहिक रूपमा हलो जोते । यही हलो जोतेर परम्परागत रूपमा बाहुनले हलो जोत्न हुँदैन भन्ने मान्यताका विरुद्ध विद्रोह गरिएको घटनालाई नेपालमा ‘हलो क्रान्ति’ भनेर चिनिन्छ ।
नेपाली समाज आज त यस्तो स्थितिमा छ भने २००६ सालको कुार कस्तो हुँदो हो । त्यसमाथि पनि त्यति टाढा लमजुङको दुराडाँडामा । ब्राह्मणहरूले हलो जोतेको एक वर्षसम्म त्यसको हल्लखल्ली मच्चिरह्यो । जोत्नेहरूको नजोत्ने पण्डितहरूले विरोध गर्न थाले । त्यसबेला हलो जोत्नेहरूलाई भात पानी काँढियो । माइत आएका छोरीहरूले घर जान पाएनन् । उमेर पुगेका युवायुवतीहरूको विवाह रोकियो । जोतेको समयमा हेर्न जानेहरूलाई समेत भात पानी काँढ्ने काम भयो । कतिले गएका थिएनौँ भनी ढाँटेर पनि विहे पनि गरे । त्यो प्रकरणले त्यहाँको समाजमा एक किसिमको अस्तव्यस्तता नै निम्तियो । कैयौँ पण्डितहरू निर्वासित भए भने कैयौँ पण्डितहरू तल्लो जातिसरह ठह¥याइए । त्यसपछि त्यो प्रकरण गाउँमा मात्र सीमित हुने कुरै थिएन । तत्कालीन सरकारका तालुकदारहरूले विरोध गरेको ठानेर बडा हाकिमलाई गिरफ्तार गराउन सुराकीको कामसमेत भयो । ‘हलो क्रान्ति’ भएकोीिठक एक वर्षपछि २००७ साल साउन ११ गतेका दिन पण्डित तोयानाथ अधिकारी, शोषकान्त अधिकारी, श्रीकान्त अधिकारी र मायानाथ पौडेललाई तत्कालीन सरकारले गिरफ्तार ग¥यो । उनीहरूलाई लमजुङको परेवाडाँडा, कुन्छा, भोर्लेटार हुँदै एक दिन एक रातको हिँडाइपछि बिहान चार बजे पोखरास्थित गोश्वारामा ल्याइपु¥याइयो र ठाडो बयान लिएर बडाहाकिमले नारकीय जेलमा पठाए । यसरी परम्परागत सामाजिक प्रचलन तोड्दा उनीहरूले जेलको बास बस्नुप¥यो ।
पण्डित तोयानाथ अधिकारी र श्रीकान्त अधिकारी पनि कम थिएनन् । आखिर उनीहरूलाई जेलमा हाल्दा पुर्जी दिइएको थिएन । त्यसको समेत विरोधमा उनीहरूले ४८ घन्टासम्म अनसन बसे । ४८ घन्टाको अनसनपछि मात्र जेलबाट निकालेर उनीहरूलाई केही खान दिइयो । उनीहरूलाई गोश्वरामा लगेर लिखित रूपमा बयान लिइयो । ‘यो मुद्दा षड्यन्त्रबाट सुरु भएको छ, कानुनमा हलो जोत्न हुँदैन भनेर कहीँ नलेखिएको हुँदा कानुनमा मुद्दा लाग्दैन’ भनेर श्रीकान्त कड्किए । त्यसपछि सरकारी मान्छेहरूलाई के निहुँ चाहियो र ? श्रीकान्त अधिकारी त्यहाँ कड्किए लगत्तै सरदार फत्तेबहादुरले तोयानाथको कठालो समात्दै ‘यही हो हलो जोताउने मास्टर’ भनेर हप्काउने, दप्काउने, तर्साउने काम गरे तर त्यसबाट तोयानाथ विचलित भएनन् । ‘यो त किसानहरूको आवश्यकताको कुरा हो’ भन्दै प्रतिरोध गरिरहे । बाहुनले हलो जोतेको र जोताएको र राजकाजमा समेत असर पुग्ने गरी किन हल्ला चलाएको भनेर तोयानाथलाई सोधियो । ‘यो सब प्रशासकीय ठेकेदारले चलाएका हुन्’ भनी तोयानाथले प्रत्युत्तर दिए । यी र यस्तै यस्तै थुप्रै सवाल जवाफ भएपछि तोयानाथ र शेषकान्तलाई दैनिक तारिखमा छोडियो भने श्रीकान्तलाई पोखराको विन्दवासिनीमा अध्ययन गर्ने हुनाले तारिखै भने लगाएनन् ।
दिनहरू बित्दै गए । एक वर्ष बित्यो, दुई वर्ष बित्यो, तीन वर्ष बित्यो । पहिलाका तुलनामा परिस्थिति सकारात्मक बन्दै गयो । त्यो सकारात्मक परिवेशले बाहुनहरूले पनि जोत्न हुन्छ भन्ने भावनाको विकास हुन थाल्यो । चाडपर्व लाग्नासाथ सबै वरिपरि घेराफेरा लाग्न थाले । हिजोसम्म गर्न नहुने काम भनिएको सोही कामलाई साहसिक काम भनेर प्रशंसा हुन थाल्यो । पहिले जोत्न गएको ठाउँमा गएको थिइनँ भनेर ढाँट्नेहरू पनि पछि पछि त ‘म पनि गएको थिएँ’ भन्न पो थाले । नयाँ कामको सुरुआत निकै कठीन र चुनौतीपूर्ण हुन्छ भन्ने कुरा सबैले बुझ्न थाले । सबैले जोत्न हुन्छ भन्ने भावना प्रवल हुँदाहुँदै पनि हाम्रो समाजमा दलितमाथिको छुवाछुत जस्तोे सामाजिक अपराधको अन्त्य भइसकेको छैन । वास्तवमा यो घटनाको अन्तर्यमा गएर हेरौँ भने क्रान्तिलाई सम्पन्न बनाएर ठूलो हलचल ल्याउने राजनीतिक सोंच रहेको बुझ्न सकिन्छ । वास्तवमा राणाकालीन शासनको त्यो उत्कर्षकालमा भएको त्यो स्तरको परिघटना सामान्य हुनै सक्दैन थियो र भएन पनि । वास्तवमा त्यो ठूलो क्रान्ति थियो । यो प्रकरणले ऐतिहासिक महत्व बोकेको छ । यो प्रकरण एउटा प्रेरणा र उत्साहको विषय नै बन्यो । फलस्वरूप २००६ साल साउन ११ गते लमजुङको दुराडाँडामा बाहुनले हलो जोतेपछि त्यसै वर्षको पुसमा तनहुँमा, २००७ साल बैशाखमा अर्घाखाँची र गोरखा तथा २००८ सालमा स्याङ्जामा समेत हलो जोत्ने अभियानले तीब्रता पायो । त्यो ऐतिहासिक क्षणलाई सम्झँदै मायानाथ पौडेल यसरी बयान गरेका थिए– “मैले पूर्वतिर फर्काएर गोरु नारिदिएँ । पण्डित तोयानाथ अधिकारीले जोत्नुभयो । दुई सियो जोतेर ‘अब पुग्यो, तिमीहरू पनि जोत’ भनेर छाडिदिनुभयो । तोयानाथ पण्डित गाउँका प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो । ठूलाबडाले जोतेपछि केको डर भनेर मैले पनि जोतिदिएँ । त्यतिखेर बाहुनले हलो जोत्नु भनेको समाजबाटै बहिष्कृत हुनु थियो । दलित जातिले मात्र हलो जोत्थे त्यो समयमा । जोत्नेलाई दलितकै श्रेणीमा राखिन्थ्यो । समाजका सबै जातिहरू बराबर हुन् । त्यसैले दलितलाई मात्र काम लगाउने होइन, बाहुनले पनि जोत्न हुन्छ भनेर त्यो काम सुरु भएको थियो । म त ठिटै थिएँ । काममा सबै बराबर हुन् भन्ने तोयानाथको विचार उत्तम लाग्यो र जस्तोसुकै अप्ठ्यारो भए पनि परिवर्तनका पक्षमा लाग्नुपर्छ भनेर मैले पनि हलो जोतेँ ।”
यथार्थमा यो घटना नेपालको इतिहासमा हलो क्रान्तिको रूपमा सम्मानित छ । अहिले पनि हलो क्रान्तिका रूपकमा हरेक वर्षको साउन ११ गते हलोत्कर्ष दिवसको रूपमा मनाउने गरिएको छ । वास्तवमा यसलाई कृषिक्रान्तिसित जोड्दै राष्ट्रिय रूपमा हलो क्रान्तिकै रूपमा मनाउनु आवश्यक छ । नेपाली जनताको साथ र समर्थनमा १० वर्षको महान् जनयुद्धमार्फत् अन्त भएको राजतन्त्रको बिदाइसँगै यसका अवशेषहरूको अन्त भइसकेका छैनन् । यसका सबै अवशेषहरूको अन्त्यबिना नेपाली समाजको सामाजिक रूपान्तरण असम्भव छ । सामन्तवादका सबै रूप र रङका अवशेषहरूको अन्त्यका निम्ति सबैले आ–आफ्नो ठाउँबाट रूपान्तरणकारी अभियानमा सामेल हुन जरुरी छ । नेपाली समाजको आमूल रूपान्तरणकारी प्रक्रियामा ‘हलो क्रान्ति’ को ऐतिहासिक महत्व रहेको कुरामा दुईमत छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु