काङ्ग्रेसको चरित्र माथिको प्रश्न – पृथीछक बुढा

२०७३ जेष्ठ ३ गते, सोमबार

२०४६ साल देखि ७३ सालसम्मको यो २७ बर्षको प्रजातान्त्रिक इतिहासमा २१ पटक सरकार फेरिएको छ । २२ पटक फेरिने सम्भाब्यता थियो, अचेल हल्ला भने केही मन्थर भएको छ । अन्तिमको यो हल्ला पनि आफुलाई नेपालको एक मात्र सच्चा प्रजातन्त्र दल भन्न रुचाउने नेपाली काङ्ग्रेसकै देन हो । उसैको कारणबाट बजारमा हल्ला फैलिएको हो । चतुर प्रचण्ड जसले इतिहासमा काङ्ग्रेसले पटक पटक दिएको धोकाबाट केही शिक्षा सिकेछ । परिणामस्वरूप सरकार परिवर्तनको हल्लाले केही मन्थर हुने मौका पायो । यो हल्लाको पछाडी भारतको हात छ । जब नेपालमा केही महत्वपूर्ण बिषयमा निर्णय हुने समय आउँछ तब नेपालमा भारत हावी हुन्छ । चीन र नेपाल विचमा भएको महत्वपूर्ण सम्झौता र त्यो सम्झौता कार्यन्वयन हुन नदिन ओली सरकारबाट बजेट पारित हुन नदिन भारतले काङ्ग्रेस मार्फत प्रचन्ड कार्ड प्रयोगमा ल्यायो तर इतिहासमा तेस्रो पटक नराम्रोसङ्ग पछारियो । उसको योजनाले फेल खायो ।
भारत ईतिहास देखि नै नेपालमा खेल्दै आइरहेको छ । पहिले नेपालमा कम्युनिस्टहरु कमजोर थिए । उनिहरु भारतको गन्तिमै आउदैनथे । त्यस बेला भारत कहिले राजालाई उचाल्थ्यो । कहिले काङ्ग्रेसलाई । भारतले जसलाई समर्थन गर्थ्यो निर्णायक बिजय उसैको हुन्थ्यो । ३० बर्षे लामो पन्चायत काल र त्यस पछि प्रजातन्त्रको पुनर्बहाली पनि यसै खेलको एउटा महत्त्वपूर्ण कडी हो । त्यसैले काङ्ग्रेस र राजा, भारतलाई रिझाउन इतिहासमा खुलेरै लागे । त्यसैको परिणामलाई लिन सकिन्छ नेपालमा भएका विभिन्न असमान सन्धी र सम्झौताहरु ।
जब नेपालमा कम्युनिस्टहरु मोटाउदै गए तब भारतको लागि नेपाली कम्युनिस्टहरु उसको टाउकाको दुखाई हुन थाल्यो । त्यस पछि भारतले दलहरु माथी खेल्न शुरु गरि हाले । कहिले कम्युनिष्टहरुलाई हौस्याउने, कहिले काङ्ग्रेसलाई उचाल्ने । यसरी सरकार बनाउने र गिराउने खेलमा भारत खेलिरह्यो । तुलनात्मक रुपमा काङ्ग्रेस भन्दा कम्युनिस्टहरु बढी राष्ट्रवादी देखिएकै कारण भारतले कम्युनिष्टहरुलाई रुचाउदैन । जब नेपालमा दश बर्ष युद्ध लडेर आएको पार्टी खुल्ला राजनितीको मैदानमा आयो, तब भारतलाई लागेको थियो, माओवादीलाई सजिलै तह लगाउन सकिन्छ । तर नेपाली माओवादी भारतको लागि भातको ढुङ्गा भए पछि उसको लागि माओवादी अर्को टाउकोको दुखाई हुन पुग्यो । त्यस पछि फेरि अर्को खेल शुरु गर्न थाल्यो, कम्युनिस्ट कम्युनिस्ट लडाएर नेपालमा यथास्थितीलाई बलियो बनाउने । यहि खेलमा उसको लागि काङ्ग्रेस नै भरपर्दो माध्यम हुन सक्दथ्यो । त्यसैले काङ्ग्रेस मार्फत कहिले एमालेलाई उचाल्ने, कहिले एमाओवादीलाई उचाल्ने गर्न थाल्यो । त्यसको परिणामस्वरूप नेपाली जनताले दशकौं लडेर ल्याएको संविधान सभा भाग एक पनि विघटन हुन पुग्यो । त्यहाँसम्म भारत सफल हुँदै आयो ।
दोस्रो संविधान सभा मार्फत जब नेपालको संविधान २०७२ घोषणा भयो तब भारत तिल्विलायो । किनभने उक्त संविधान मोदी सरकारको लालमोहोर लागेको थिएन । उ आफ्नो लालमोहोर लगाउन चाहन्थ्यो तर बडो भयानक हस्तक्षेप र धम्किको बाबजुद पनि संविधान घोषणा भयो । त्यसबाट दुखी भएको भारत भुकम्प पछि जुन अबस्था नेपालले भोग्नु पर्योब, छिमेकीको कर्तब्य पनि उसले भुल्यो र महिनौं लामो अघोषित नाकाबन्दी लगायो । किनभने तुलनात्मक रुपमा कम्युनिस्ट गठबन्धन सरकारले भारतको इच्छा अनुरुप काम गरेको थिएन । भारतको भित्री खेल बुझिसकेका नेपाली जनताले नाकाबन्दीको खुलेर प्रतिरोध गरे । भारत दोस्रो पटक असफल भयो ।
जब ओली नेतृत्वको कम्युनिष्ट गठबन्धन सरकारले चिनियाँ सरकारसङ्ग विभिन्न सम्झौता गरेर फर्किए तब भारत थप हैरान भयो । उसलाई कुनै पनि हालतमा अहिलेको सरकार विघटन हुनु पर्छ भन्ने चाहना हुन थाल्यो । उसले इतिहासमा खेल्दै आएको शुत्र प्रयोग गर्न खोज्यो । काङ्ग्रेस मार्फत प्रचण्डलाई प्रधानमन्त्रीको लोभ देखाएर अहिलेको ओली नेतृत्वको सरकार ढाल्न खोज्यो । केही सफल हुन पनि लागिरहेको थियो तर प्रचण्डको घैटोमा एक्कासी घाम लाग्यो । उसकै भाषामा भन्नू पर्दा, रातारात चमत्कारै भईदियो । प्रचण्डले बोली फेरे । अहिलेको ओली सरकार केही दिनलाई जिवन्त हुने मौका पायो । यो थियो भारतको लगातार तेस्रो असफल । प्रचण्ड कार्ड सफल नभए पछि अहिले मधेसका जनताहरुलाई उस्काएर भारत फेरि नेपालसङ्ग युद्ध लड्न खोजिरहेको छ । त्यसैले भारतिय दुतावासका कर्मचारीहरु खुलमखुल्ला तराईमा परिचालित भएका छन त्यहाँका जनताहरुलाई उचाल्नको लागि ।
यता नेपाली काङ्ग्रेसको सपना थियो, ओली सरकार ढाले पछि घुमाईफिराई भारतले पक्कै काङ्ग्रेसलाई सत्ताको चावी दिने छ । तर उसको योजना प्रचण्डको बोलीसङ्गै हावामा उडे पछि खिस्रीक्क भएर बडो लाज पचाएर फास्ट ट्र्याक सरकार आफैले बनाउने भनिरहेको वेला नेपाली काङ्ग्रेसको नव निर्बा्चित सभापती सेर बहादुर देउवाले संसदको बैठकमा उठेर ञयो परियोजना नेपाल सरकारले बनाउन नसक्ने भएको हुनाले भारतलाई दिनु पर्छझ भनेर आवाज उठाउछ ।
निजगढ फाष्ट ट्र्याक निर्माण गर्न नेपाल सरकारले ७० अरब लागत अनुमान गरेको छ तर भारतिय कम्पनिले नेपाल सरकारसङ्ग १ खरव ३० अरब खर्च लाग्ने भनिरहेको छ । यति महँगो हुदाहुदै पनि काङ्ग्रेसले संसदमा यो परियोजना भारतिय कम्पनिलाई दिनु पर्छ भनि बहस छेड्छ भने यसबाट प्रष्ट हुन सकिन्छ, आखिर नेपाली काङ्ग्रेस कसको स्वार्थमा काम गरिरहेको छ । यसले कसलाई फाइदा गर्छ बुझ्न आबस्यक छ । उसको ईतिहास यस्तै छ ।
नेपालमा तीस बर्षिय पन्चायत कालमा चीन र रुस लगायत विभिन्न मुलुकहरुको सहयोगबाट मुलुकलाई आत्मनिर्भर बनाउन स्थापित २३ राष्ट्रिय तहका उद्योग तथा कलकारखाना अहिले ठप्प छन् । प्रजातन्त्र पुनर्स्थापना पछि २०४८ मा एकै दिन मन्त्रिपरिषद बैठकले चीनसहित विभिन्न मुलुकको सहयोगमा निर्माण भएका उद्योग निजीकरण गर्ने निर्णय लियो । २०४६ सम्म नाफामा चलेका यी उद्योगहरु २०४८ सम्मको दुई वर्षमा एक्कासी कसरी घाटामा गयो ? यसमा हात काङ्ग्रेसकै छ । भारतले काङ्ग्रेसकै माध्यमबाट यी सरकारी कम्पनीहरु एकाएक बन्द गर्न थाल्यो कौडीको मुल्यमा । किनभने उ नेपाल आत्मनिर्भर भएको देख्न चाहन्न । नेपाली बजारमा उसले कब्जा गर्न चाहेको थियो । सफल पनि भयो । यसबाट उसलाई एक गोली दुई सिकार भयो । एक, उ नेपाली बजारमा आफ्नो एकाधिकार जमाउन सफल भयो । दुई, नेपाल पुर्णतस् भारत निर्भर भयो । यसरी भारतले नेपाली स्वाधिनताको कठालो समाउन सक्षम भयो । यो हुनुको पछाडी नेपाली काङ्ग्रेसको ठुलो हात छ ।
यो मात्र नभएर भारतलाई खुसी पार्नकै लागि दिल्ली सम्झौताबाट सत्तारुढ भएका तत्कालीन राजा त्रिभुवन र नेपाली कांग्रेसको सरकारले २०११ साल बैशाख १२ (२५ अप्रिल १९५४) मा भारतसित विवादीत कोशी सम्झौता गरेका थिए । कोशी सम्झौतामा नेपाल सरकारको तर्फबाट महावीर शमशेरले हस्ताक्षर गरेका थिए भने भारत सरकारको तर्फबाट गुलजारीलाल नन्दाले हस्ताक्षर गरेका थिए । कोशी सम्झौताबाट नेपाली जनताले जमिन, सार्वभौम सत्ता तथा प्राकृतिक जलअधिकार गुमाएका छन् । नेपाली काङ्ग्रेसले भारतसँग गरेको विवादास्पद सम्झौतामध्ये गण्डक सम्झौता पनि एक हो । यसमा नेपाल ठगिएकोले अपमानपूर्ण तथा राष्ट्रघाती सन्धि भनिन्छ । यो गण्डक सम्झौता नेपाल सरकार र भारत सरकार बिच २०१६ साल मङसिर १९ गते बेलुका गण्डक सिञ्चाई तथा विद्युत योजना सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । यी तमाम कुराले के देखाउछ भने भारतलाई खुसी पार्न नेपाली काङ्ग्रेसले देशको सार्बभौमसत्ता माथी धावा वोलेको छ । आज हामी नेपालीहरुले जुन अबस्था भोगिरहेका छौँ, यसको मुख्य जिम्मेवारी नेपाली काङ्ग्रेस नै हो । अब यी कदमहरुको खबरदारीको रुपमा इतिहासका निर्माता जनताले हिसावकितावको खाता खोलेर राख्ने बेला आएको छ । हिसाब खोज्ने बेला आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु