खोई कहा छ नारी स्वतन्त्रता ? – शोभा गजुरेल
आधा आकास आधा धर्ति ओगटेका नारीहरुको अवस्था बिस्वका सबै देशहरुमारुपमा अलग भएपनि नारी कहि न कहिबाट शोसणमा परेकै देखिन्छन । हाम्रो जस्तो अविकसित पुरुष प्रधान समाज भएको देश होस या युरोप अमेरिका जस्ता महिलालेपनि स्वतन्त्रता पाएका देश होस् । नारीको अवस्थालाई मद्यनजर गर्दा जहाँ पनि नारीहरु लाई कुनै न कुनै रुपबाट शोषण भए कै पाइन्छ । यसको उदाहरणको रुपमा पाइएका साना र ठुला दमन , अन्याय र अत्याचार हरुलाई संक्षिप्तरुपमा विश्लेषण गर्ने जमर्को गरेको छु । एसियन मुलुक जहाको समाज पुरुष प्रधान छ त्यहाँ को त कुरै छाडौ छोरी भनेर जन्मलिन नपाउदै गर्ब मै हत्या गरिन्छ । जन्मिहाले आफनै जन्म घरमा उनलाई दासताको जिबन बाच्न बाध्य बनाइन्छ । उनले चाल्ने हरेक पाइलामा इज्जतको तगारोले बाटो रोकिन्छ । छोरीले हास्न हुन्न, मुस्कुराउन पर्छ यहि सिकाइन्छ । स्कुल पढन जाने बाटो भन्दा बाहेक उनले अन्त हेर्न हुन्न यहि बताइन्छ । घरको काम सिक छोरी तिमि पराई घर जाने यहि उनलाई बुझाइन्छ । जब कलिलो दिमागमा यस्ता कुरा भारी छोरीलाई हिड्न होइन अपाङ्ग बन्न सिकाइन्छ । अनि कसरि ति नारी सक्षम बन्न सक्छिन । जब उनको बालापनमै उनलाई कैदी बनाइन्छ । अनि उनले त्यो कैदी जिबनमा पल पल मर्दै बाच्ने नाटक देखाउनु पर्छ । मानिस चेतनशिल प्राणी हो । अनि कसरी ति छोरीले दाजु-भाई र आफुले यौटै आमा -को कोख -बाट जन्म लियौ भन्ने बुझ्ने । त्यहाँ त अलग अलग व्यवहार हुन्छ , छोरो पढ़न लगाएर जसरी नि पढ़नु पढ्नु पर्छ भन्ने अनि छोरीलाई इज्जत धान्न तिमीले पराई घर जानुपर्छ भन्ने सिकाउने । यौटै कोखका सन्तानमा यो फरक पायौ भने सहन गर्न कति गार्हो हुन सक्छ , त्यो कहिले यो पुरुष प्रधान समाजले सोच्ने गर्छ ? गर्दैन … जब उसको बिवाह हुन्छ त्यो नौलो घरमा उसले फेरि नया संसारको निर्माण गर्नु छ । त्यहाँ पनि उही प्रश्न पराई कि छोरी । अब त्यहाँ घर गर्न उसले कति दमन खप्न पर्छ । संघर्षको कुरै छाडौ ,त्यहाँ उसको नाम नै परिबर्तन हुन्छ । उसको अगाडिको बाटो बच्चा जन्माउने मेसिन बन्छ । अब तिनै सन्तानको लालन पालन गर्ने त्यो नारीको कर्तब्य हुन्छ । अब उ कसरी पुरुष समान हुन सकोस ? यो प्रश्न समाजमा यौटा चुनौती बनि खड़ा छ । तर कहिले नारीले यसको उत्तर पाउदिनन् । यो उनको प्रश्नको जवाफ नमिलेर प्रश्न मै सिमित छ । हरेक पुस्तामा नारीको अस्तित्व त्यहि सिमित भएको छ । खुल्ला जेलमा नारीलाई सदै कैदी बनाइएको छ । नारीको मायाको बन्धन अनि कोमल र्हिदयको पुरुषले सधै फाइदा लुट्छ अनि नारीलाई सधै कंगाल बनाइरहेको छ । यो समाजले नारीलाई सधै अपाङ्ग बनाएको छ । तर बिकसित देशहरुमा यी सबै कुरा नारीले भोग्न पर्दैन । उनलाई यी सबै कुराको स्वतन्त्रता छ ,उनि हास्न पाउछिन , उनि बोल्न पाउछिन , दाजु भाई सरह उनलाई आफ्नो पाइला चाल्ने स्वतन्त्रता छ । तर नारी यहाँ पनि दासताको जन्जिरमा जकडी रहेका छन । यहाँ नारी स्वतन्त्र त छिन तर पनि उनलाई पुरुष ले प्रयोग गरेको छ अनेकौ सौदर्यताको लोभ लालचमा फसाई पुरुष ले नारीका नग्न तस्बिरको बिज्ञापन गर्ने गरेको छ , यहाँ नारीलाई पैसामा बिकाइ पुरुषले अनेकौ बिज्ञापन गर्छ । उनको त्यो स्वतन्त्रतालाई पुरुषले लिलामी गरिरहेको छ । यसरी आज दुनियामा नारीलाई जहाँ पनि कुनै न कुनै अर्थमा दासी बनाउन पुरुष सफल भएकै छन् ।