वावुराम कम्पनीको नयाँ व्राण्ड– ‘नयाँ शक्ति’ – पृथीछक बुढा मगर
पाँच कक्षा पढदा पढदै पढाई छाडेर जनयुद्ध होमिएका मान्छेहरुको लागि भट्टराईको विचार के छ ? जिवनको सिङ्गो उर्वर शक्ति युद्धमा होमिएका मान्छेहरुको भविष्यको बिषयमा के राय दिनु हुन्छ ? जनयुद्धको समयमा बुर्जुवा शिक्षा भन्दै बन्दुक बोक्न लगाउने यहि भट्टराई जो केहि समय अगाडि नयाँ शक्तिको नाममा एउटा सांसद बन्न डिग्री होल्डर हुनु पर्छ भन्ने वहस वाहिर आउँछ भने यो भन्दा राजनितिक बेईमान के अरु हुन सक्छ ? के भट्टराईले लडाकुहरुको खेर गएको १० बर्षको समय फिर्ता गर्न सक्छ ? भट्टराईले कुनै वेला वडो जनवादी शिक्षाको कुरा गर्थे । आज कहाँ छ जनवादी शिक्षा ? जनवादी क्रान्ती पूरा भयो भन्ने डा. भट्टराईको निचोड होइन ? यो झुटको व्यापार हो । त्यसैले डा. भट्टराईले उत्पादन गरेको नयाँ शक्तिको व्राण्ड नेपाली जनताहरुको लागि अफिम हो ।
विभिन्न पत्रपत्रिकाहरुमा छापिएको विज्ञापनवाट अनुमान लगाउन सकिन्थ्यो, मानौँ वावुराम भट्टराईले रङ्ग मञ्चमा विशेष योजनाको घोषणा गर्ने छन् । कुरा सुनियो । नयाँ वोटलमा पुरानै रक्सी । बिज्ञापनको कामै नाकामलाई कामायब भन्ने हो । थोत्रा किन नहोओस, त्यसलाई ओरिजिनलको लेप लगाउने त विज्ञापनको कामै हो । सुनिन्छ, यो गर्नलाई भट्टराईको नयाँ शक्तिले लाखौं रुपियाँको खोलो बगाएको छ । अचेल, बिज्ञापन फेरिएको छ पेपरहरुमा । मालको प्रचार गर्न त मेडियाको कामै हो । आज एउटा मालको प्रचार हुन्छ । भोलि अर्कैको प्रचार हुन्छ । यो सिलसिला जारी रहन्छ । हेर्नू छ, लाखौं खर्चेर गरेको बिज्ञापनले नयाँ शक्ति भन्ने नयाँ ब्रान्ड कति बिक्री भईरहेको छ ? व्यापार घाटामा नजाओस, मेरो आशा भनौँ, बाबुराम कम्पनीको, नयाँ शक्ति ब्राण्ड ।
बिज्ञापन चिजको गरिन्छ, सिद्धान्तको होइन । राजनिती निस्वार्थ समाजसेवा हो, स्वार्थको व्यापार होइन । अचेल राजनितिको व्यापार ह्वात्त बढेको छ । बजारमा चिज गुणको आधारमा बिक्दैन । बिज्ञापनको आधारमा बिक्छ । बिकाइन्छ । आज राजनिती त्यस्तै बिकाउ चिज भएको छ । पहिलै भनिसकिएको छ, बिज्ञापन चिजको गरिन्छ । बस्तुको गरिन्छ । कुनै ब्राण्डको गरिन्छ । हिजो आज राजनितीक सिद्धान्तलाई त्यही ब्राण्ड बनाउने कोसिस गरिएको छ । त्यही ब्राण्डमा नक्कली चिज भरेर बजारमा बेचिन्छ । प्रचारको आधारमा माल बिक्री हुन्छ अन्ततः फस्ने उपभोक्ता नै हो । जनता नै हो । जनता तपाईं पनि हो र म पनि हुँ । उपभोक्ता तपाईं पनि हो र म पनि हुँ ।
डा. भट्टराई नेतृत्वको नयाँ शक्तिले रंगशालामा कार्यक्रम गर्दाको दिनसम्म विभिन्न पत्रपत्रिकाको पहिलो पृष्ठ भरी डा. बाबुराम भट्टराईको पोष्टर सहितको बिज्ञापन देख्न सकिन्थ्यो । डा. बाबुराम भट्टराईले ती पत्रीकाहरुमा छापिएको आफ्नो बिज्ञापनको फोटो खिचेर सामाजिक संजाल फेसबुकमा पोष्ट गरेर लेख्नु भयो, तस्विर आफै बोल्छ । मनमनै भने, हो त तस्विर आफै बोल्छ । एकै किसिमको प्रचार । तस्विर आफै बोलिरहेको छ, यो बिज्ञापन हो । बिज्ञापन अर्थात मालको प्रचार । बिज्ञापनमा जस्तोसुकै झुर चिजको पनि बडो गुणस्तर भएको धावा गरि प्रचार गरिन्छ । डा. भट्टराईको पोष्ट अनुसार मानौँ, स्वतः स्फुर्त रुपमा ती पत्रीकाहरुले नयाँ शक्तिको लागि लेखे । स्वतः स्फुर्त थिएन त्यहाँ । लाखौं खर्च गरेर पत्रीकाको पहिलो कभरमै छापिएका थिए । बिज्ञापनले नयाँ शक्ति एउटा अब्बल दर्जाको माल हो भने जस्तो छनक दिईरहेको थियो । पेज किनेर, कोलम किनेर आफ्नै लागि त सबैले प्रचार गर्न सक्छ । कुरा अर्थकै आउँछ । पैसाकै कुरा आउँछ । अर्थ भयो भने यस्तो प्रचार जोसुकैले गरिदिन्छ । पुँजीवादको सवै भन्दा खराव नियत यहि हो ।
यत्रो पैसा कहाँबाट आयो ? म त्यता जान चाहन्न । सुभचिन्तकहरुबाट आयो भन्ने कुरा छ । शुभचिन्तकहरुले कुन अपेक्षामा करोडौं रकमको खोला बगाए ? कुनै न कुनै स्वार्थ त पक्कै होला । यो दुनियामा बिना लालच कसैले केही दिन्न । त्यो पनि पैसाको कुरो । सबैलाई थाहा भएकै कुरा हो, पैसाको मुख कालो हुन्छ । पैसा भनेको पापको भन्डार हो । सबैलाई ज्ञात भएकै कुरा हो, राजनितिमा यस्तो भित्रि बिनिमय धेरै हुने गर्छ । नयाँ शक्ति यसबाट अछुटो रहन सक्छ, सक्दैन । उनै डाक्टर सावले जानुन । रंगशालामा कार्यक्रम सिद्दिएको भोलि पल्ट डा. भट्टराईको नयाँ शक्तिको बिज्ञापन छापिदै आइरहेको पत्रीकाहरुको पहिलो पेजमै अर्कै कुनै मालको बिज्ञापन पो देखिन्छ त । भन्न मन लाग्यो, डाक्टर साब, ब्राण्ड कतिको चलिरहेको छ बजारमा ? व्यापार कस्तो छ ? बिज्ञापन सिद्दियो ? पहिले पहिले त्यहाँ कुनै बस्तुको बिज्ञापन हुन्थ्यो । केही समय पछि भट्टराईको नयाँ शक्तिको बिज्ञापन । त्यस पछि फेरि त्यस्तै कुनै मालको प्रचार सोही पेजमा आइरहेको छ अचेल । अब प्रश्न उठ्छ, त्यसो भए के भट्टराई व्यापार गर्दै थिए ? राजनिती व्यापार । रंगशालामा नयाँ शक्ति नामको प्रोडक्ट लन्च गर्दै थिए डा. भट्टराईले ? कुरा जे सुकै होओस, हात्ती आयो, हात्ती आयो फुस्सा चाहिँ नहोस । नत्र बिज्ञापनको आधारमा जनताले एक पटक स्वाद त लिन्छ तर निल्न नपाउदै थुकेर नफालुन । डाक्टर सावलाई मेरो सुझाब ।
डाक्टर बाबुराम भट्टराई तत्कालिन माओवादी युद्धको एउटा नेता, अथवा माओवादी जनसत्ताको सयोजक । धेरै मरे । धेरै बेपत्ता भए । कुनै लेखाजोखा छैन । उनै सहिदहरुको बलिदानबाट भट्टराई देशको अर्थ मन्त्री, प्रधानमन्त्री पनि भए । त्यस पछि निचोड निकाले, जनवादी क्रान्ती सम्पन्न भयो त्यसैले अबको क्रान्ती आर्थिक क्रान्तीको हो । पुरानो शक्तिहरुको काम पूरा भएको कारणले अब एउटा नयाँ शक्तिको आबस्यक छ । उसलाई म कम्युनिष्टहरुले लगाउने कुनै पनि आरोप लगाउन चाहन्न । यो पटक मैले साँसद बन्नको लागि डिग्री गरेको हुनु पर्ने भन्ने उसको नयाँ शक्तिले अघि सारेको बिषयमा केन्द्रित हुन चाहन्छु । बलै यो बिषयलाई नयाँ शक्तिको बिधानबाट पारित नगरीएको किन नहोओस । तर यसको बिषय उठ्नु नै गम्भीर कुरा हो एउटा जनयुद्ध लडेको मान्छेको लागि । त्यसैले नयाँ शक्ति कस्को लागि हो ? जनयुद्धमा सिङ्गो जिवन खर्चेका मान्छेहरुको लागि भट्टराईले जवाफ दिनै पर्छ । वुर्जुवा शिक्षा भनेर सिकाउने वावुराम भट्टराईको अहिलेको नयाँ शक्तिको व्राण्ड जनयुद्ध लडेका सच्चा परिवर्तनकामी जनसमुदायहरुको लागि नभइ कुनै एलीट वर्गहरुको स्वार्थपुर्तिको लागि एउटा गतिलो साधन हो । जो एक्सपाईर भईसकेको माल मात्रै हो जो नम्वर वान सक्कली माल हो भनि वजारमा विक्रि गर्न खोजिएको छ । सावधान ! नेपाली समाजको स्वास्थ्यमा यसले नकरात्मक प्रतिकृया पक्कै देखाउने छ, किनभने यो म्याद सिद्धिसकेको माल हो ।