‘माओवादीले बाँडेको सपना र यथार्थ- पृथीछक बुढा
६० को दशकमा गाउँ छोडे पछि यो तेस्रो पटकको यात्रा थियो गाउँमा पुगेको । यहि गाउँ कुनै समय माओवादी आन्दोलनको आधार क्षेत्र पनि हो । कुनै वेला यो पनि थवाङ्ग जस्तै थियो । नेपाल भित्र रुकुम घर बताउँदा धेरैले निधार तन्काएर हेर्थे भने रुकुम भित्र पनि मैकोट घर बताउँदा धेरैले माओवादी हुनुपर्छ भन्ने निष्कर्षमा पुग्थे । मैकोटको परिचय यहि थियो, माओवादीको विशेष जिल्लाको एक नम्वर क्षेत्र ।
माओवादी नेताहरुलाई सेल्टर दिएको गाउँ मैकोट । त्यसमा त धारा गाउँ, जुस्मर र हार्दिबाङ त झन माओवादी सिविर जस्तै थियो । मलाई स्मरण छ, त्यहाँ ८० बर्ष नाघिसकेका बृद्दाहरु पनि माओवादी आन्दोलनलाई खुलेरै समर्थन गरेको देखेको छु । यहि समय सेरोफेरोमा माओवादीहरुले भन्ने गरेको सुनेको थिएँ, हाम्रो सत्ता आयो भने विकाश रुकुम रोल्पावाट शुरु गर्छौं । बिचारमा काठमाडौलाई रुकुम रोल्पा जस्तै बनाउने छौँ । बिकाशमा रुकुम रोल्पालाई काठमाडौ जस्तै बिकशित बनाउने छौँ । यहि कुरा आज स्मरण गरिरहेको छु ।
लोकतन्त्र आएको एक दशक भयो । रुकुम रोल्पा त्यो पनि मैकोट र थवाङवाट बिकाशका योजना शुरु गर्छौं भनेर काठमाडौ छिरेका माओवादी नेताहरु मैकोट नछिरेको पनि दशकै बित्यो । अचेल उनिहरुले मैकोट बिर्सिए । त्यसैले मैकोटले पनि उनिहरुलाई बिर्सिदै गएको आभाष पाउँन सकिन्छ ।
पहिले,
माओवादी द्वन्द्वको समयमा गाउँ एकताबद्द थियो । विचार परिवर्तनशिल थियो । मध्यपान गर्न अपराध जस्तै मानिन्थ्यो । जाली र जासुसीहरु गाउँ छिर्न निषेध गरिएको थियो । रक्सी र जुवातास प्रतिबन्ध थिए । गाउँ गाउँमा सहकारीहरुको बिकाश भएको थियो । गाउँमा सवै कोहि न कोहि संघमा आवद्ध थिए । छुवाछूतको प्रथा पुर्ण रुपमा हटिसकेको थियो । सामुहिक खेतीपातीको बिकाश भएको थियो । नेताहरु गाउँमा गईरहन्थे । जनताले पनि नेताको श्रद्धा गर्थे । पार्टी प्रति प्रगाढ आशा थियो । यहि पार्टी हो, जसले मात्रै हाम्रो दु:खवाट सदाको लागि स्वातन्त्र दिलाउन सक्छ भन्ने बिस्वास गर्थे जनताले । त्यसैले वृद्ध बुवाआमाहरुले पनि आफ्ना छोराछोरीलाई सहर्ष युद्धमा बन्दुक वोक्न पठाए । सरकारी दमन र सेनाको अप्रेसनवाट पनि विचलित भएन मैकोट । आफ्नो आस्था बचाईरह्यो । वरु धेरै सहिद भए ।
अहिले,
अहिले परिवेश फरक भएको छ । नेता गाउँमा आउन छोडिसकेको छ । सबैको मन मनि माइन्डेड भएको छ त्यसैले गाउँमा एकता छैन । पार्टी प्रति कसैलाई कुनै मतलव छैन । युवा पुस्ता दुर्बेशनीको सिकार भएको छ । विचारधारा भनेको के हो ? थाहा छैन । धेरैको मुखमा चुरोटको धुवाँ उडिरहेको देखिन्छ । सामुहिक प्रणाली ढलिहालेछ । खुलमखुल्ला जांड रक्सी बिक्रीवितरण भईरहेको छ । हिजो घैटा फोर्दै हिंड्ने मान्छेहरु आफै घैटे भएको देख्दा मन चसक्क खान्छ । युवा पुस्ता पनि त्यसैको दलदलमा डुब्न खोजिरहेको छ । माओवाद के हो ? थाहा छैन । संगठन कस्तो हुन्छ ? थाहा छैन । उनिहरुलाई यति मात्रै थाहा छ कि नेताहरुले मैकोटलाई बिर्सिदिए । उनिहरुलाई यति मात्रै थाहा छ कि पार्टीले उनिहरुलाई धोका दियो । युवा वर्ग राजनितिमा लाग्नु पर्छ । संगठन निर्माण गरौं भन्दा ‘कति पैसा पाइछ ? पैसा पाइन्छ ?’ भन्ने जवाफ आउँछ ।
मेरो निष्कर्ष थियो, अब मैकोट माओवादी आधार क्षेत्र रहेन । यहाँ त प्रतिक्रान्ती भईसकेछ । नेतृत्वले परिस्थिति सम्हाल्न सक्षम भएन भने कसरी प्रतिक्रान्ती हुदो रहेछ भन्ने ज्वलन्त उदाहरण मैले देखिसकेको छु चीनको ईतिहास पढ्न आबस्यकता छैन । ख्रुस्चेभको प्रतिक्रान्तिकारी ईतिहास पल्ताईरहन आबस्यकता छैन । त्यस पछि मैले मनमनै बिचार गरिसकेको थिएँ कि मैकोट त माओवादीको पक्षमा उभिन सक्दैन भने जिल्लाका बाकी गाउँ ठाउँहरुमा त्यसको अबस्था क्स्तो होला ? रुकुम रोल्पामा त माओवादी जनाधार खस्किंदो छ भने देशको बाँकी जिल्लामा त्यसको अबस्था कस्तो होला ? अहिले त्यहाँ सवै दल पुगिसकेको छ । पहिले एकमत थियो । अहिले माओवादी बिशेष त माओवादी केन्द्र रक्षात्मक अबस्थामा पुगेको छ । माओवादी आन्दोलनमा रगत नवगे पनि केही पसिना जरुर चुहेको हुनाले मलाई यसले भट्भटी नपोलिरहन सक्दैनथ्यो । यसको जिम्मेवारी उठाउनै पर्छ माओवादी नेताहरुले । हिजो जुरुक्क उठेको गाउँ आज एक्कासी ढल्यो कसरि ? माओवादीले समिक्षा कहिले गर्छ ?
माओवादीसँग मैकोट कसरी रिसायो ? माओवादी र रुकुमको संबन्ध कसरी टुटिरहेको छ ? यसको वारेमा एउटा उदाहरण हेरौं ।
माओवादीले थवाङ र मैकोटवाट बिकाशको लहर शुरु गर्छौं भनेर युद्ध शुरु गरेको १० बर्षमा सात दल र माओवादीको बिचमा भएको बृहत शान्ती सम्झौता पछि ६२ र ६३ को जनाअन्दोलनले एउटा ऐतिहासिक गति लियो । त्यसपछि गणतन्त्र आयो । गणतन्त्र आएको सात वर्ष पछि एक दिन मेरो आमा भिरवाट खस्नु भयो । त्यस पछि गणतान्त्रिक नेपालमा जहाँ माओवादीले जनयुद्व शुरु गरेको आधार इलाका मैकोट भन्ने गाउँवाट मेरो आमालाई तीन दिन लगाएर डोकोको स्ट्रेचरमा वोकि रुकुमको खलङ्गा अस्पतालमा पुर्यामएका थियौं । के मैकोटको अपेक्षा यहि थियो ? रुकुम रोल्पाको अपेक्षा यहि थियो ? रुकुम र रोल्पावाट शुरु गर्ने भनिएको बिकाश कहाँ पुग्यो ? यहाँ गतिलो बिजुली छैन । गतिलो संचार छैन । सडक छैन । अस्पताल छैन । स्कुल छैन । कलेज छैन ।
यो घटनाको चार बर्ष पछि अर्थात गणतन्त्र आएको दस बर्ष पछि रुकुमको भमणमा थिएँ, कुनै समय माओवादी आन्दोलनमा गतिलो योगदान दिएको तत्कालीन माओवादी वटालियन कमान्डर ‘विजय’लाई भिरवाट लडेछ बोकेर अस्पताल ल्याउदैछन भन्ने खवर पाएको थिएँ । विजयको बिषयमा उसको दाइ ‘काजु’सङ्ग पनि कुराकानी गरेको थिएँ ।
विजय गन्डक अभियान वाहेक देशको हरेक मोर्चामा लडेका थिए । पछि खारामा घाइते भए । घाइते भईसके पछि एक किसिमले दिमागले काम गर्न छाड्यो । समाज, होहल्ला र दङ्गा उसको लागि प्रतिकुल भईसकेका थिए । पछि माओवादी शान्ती प्रकृयामा आइसके पछि युद्धको मोर्चा सम्हालेको बिजयले दिमागी शान्तिको लागि भेडावाख्रा पाल्न थालेका थिए । पुथा हिमाल मैकोट देखि दुई दिन अझै टाडा पर्छ । त्यही दुर्गम हिमालमा भेडा ग्वाला गएका थिए । त्यहि समयमा दाउरा खोज्न वन गएको वेला भिरवाट लडेछ । उ एक्लै थियो । भिरवाट लडेर थला परेका विजयलाई संयोगले जडिबुटी खन्न गएका मान्छेहरुले देखेछन र उनिहरुले बोकेर मैकोट पुर्या एछन् । आफै लडेर गणतन्त्र ल्याएको देशमा मैकोट देखि तीन बोकिएर सदरमुकाम मुसिकोट खलंगामा पुगे । नयाँ नेपाल निर्माणका लागि भनेर लडे । त्यसैको कारणले उ घाइटे भयो । भेडा पाल्यो । भिरवाट लड्यो । तीन दिन लगाएर अस्पतालमा पुग्यो । यहि स्थितिमा उसले पनि धेरै याद गर्यो होला माओवादी नेताहरुको चिल्लो भाषण, जसरि आमालाई बोकेर ओकाली उराली पहाड काटिरहंदा मैले याद गरेको थिएँ । यो भन्दा ठुलो पिडा अरु के हुन सक्छ ? यो भन्दा ठुलो राजनीतिक वैमानी अरु के हुन सक्छ ? देश अझै अनिर्णयको वन्दी भएको छ ।
वेलुकी बिजयलाई भेट्न गएँ । एक पटक त चिन्नै सकिन । १३ बर्ष पछि बिजयलाई भेट्दा मैले चिन्न सकिन । मुट्ठीभरको कालो भएको थियो । माओवादी आन्दोलनको वारेमा जिज्ञासा राख्दा यति मात्रै भने, ‘माओवादीले धोका दियो । हामी गलत होइनौं । हाम्रो उद्देश्य गलत थिएन । नजितेको होइन । बिजयलाई सस्थागत गर्न नेतृत्व चुक्यो ।‘ यो भन्दा बढी बोलेन । जब युद्धका खोटहरु नियाल्न खोज्छु तब म यो भन्न खोजिरहेको थिएँ कि, कमान्डर विजय तिमी कसरी बच्यौ ? उसको टाउको देखि तल, खुट्टा देखि माथी सग्लो छाला देख्न सकिनथ्यो । पुरै क्षतबिक्षत भएको । उ भन्दै थियो, ‘टाउकोमा अझै ग्रीनेटको छिर्का निकाल्न बाँकी छ ।‘ म अवाक भएँ ।विजयको उपचार खलंगामा सम्भव भएन । त्यसैले उसलाई काठमाडौ लैजानु पर्छ भनियो । तब उ धेरै निरास देखियो । उसको दाइ काजु पनि भाईलाई उपचार गर्न खर्च नभएकाले चिन्तामा परेको थियो । देशमा नयाँ ब्यबस्था ल्याउन ज्यान अर्पेका एउटा कमान्डरको यो हालत देखेर फेरि सोध्न मन लाग्यो, रुकुम र रोल्पा अनि थवाङ र मैकोटवाट शुरु गर्ने भनिएको बिकाशको रेखा कहाँ पुग्यो कमरेड ? लाग्छ, अचेल त कमरेड शब्द पनि भुलिसके । जहाँको देश त्यहाँको भेष हुन्छ । पहिले गुन्द्रुक खाएर गुन्द्रीमा सुत्थे । अहिले हाम्रा माओवादी नेताहरुले गुन्द्रुकको स्वाद पनि भुलिसके, गुन्द्रिको सुताई पनि बिर्सिसके । केहि संझना नभए पछि गाउँसंग माया साट्न को आउछ ? हजारौं बिजयहरु भिरवाट लडिरहेका छन् । तिन दिन लगाएर अस्पताल पुर्याइन्छ । उपचार गर्न खर्चको अभाव पर्छ । मेरो नयाँ नेपालको वास्तविक अनुहार । क्या लज्जावोध हुन्छ !