प्रचण्ड-बाबुरामहरुका सुकिला कोटमा हाम्राे रगत छ – टिकाराम अाेली
विश्वलाई हल्लाउने गरी आजैको दिन हो नेपालमा जनमुक्ति सेनाको घोषणा भएको हो । निजी खुशी, पारिवारिक माया त्यागेर निरंकुशतावादी एकात्मक राज्य सत्ताको अन्त्य गर्ने भनेर १० वर्षसम्म लडेर शहीद हुनु भएका महान् योद्धाप्रति हार्दिक श्रद्धाञ्जली । घाइते तथा वेपत्ताहरुमा सम्मान ।
नेपालमा जनमुक्ति सेनाको घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । संसदीय व्यवस्थालाई ध्वस्त गरेर जनवादी राज्यसत्ता स्थापना गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्ने उद्देश्यका साथ नेपालमा जनयुद्ध सुरु भएको थियो । त्यही उद्देश्यलाई पूरा गर्न जनमुक्ति सेनाको गठन भएको हो ।
इतिहासले दिएको जिम्मेवारी पूरा गरिरहेका थियौँ । त्यही क्रममा हजारौँकाे वलिदानी, त्यतिकै संख्यामा घाइते । सयौं वेपत्त । लडाइँका केही मोर्चा हारेपनि मुख्य लडाइँ भने जनमुक्ति सेनाले हारेको थिएन । विचारमा हारेको थिएन । तर, हाम्रो सर्वोच्च कमाण्डर प्रचण्डले भित्रभित्रै हारिसक्नु भएको रहेछ । प्रचण्डले नजिकबाट लडाइँ हेरेको भनेको दोस्रो खारा हो । त्यो लडाइँ नै उहाँका लागि पहिलो र अन्तिम भयो । एउटा मोर्चामा हार हुँदैमा सिंगो लडाइँ हारिएको मानिँदैन । त्याे भन्दा पहिले उहाँले दिल्लीमा बसेर हाम्राे लडाइँलाई हेरिरहनु भएकाे थियाे ।
अाफैसँग हारेकाे जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर प्रचण्ड र सहयोगी बाबुरामले ताली बजाउँन लगाउँदै हामीलाई ब्यारेकमा हुल्नुभयो र आफू सिंहदरवबार पस्नुभयो । दुबै मिलेर केही साथीहरुलाई अयोग्यको तक्मा दिनुभयो । बाँकीलाई आत्मसमर्पण गर्न लागनुभयो । जीवनबाट हारेकाहरुले आत्मसमर्पण गरे तर हामीले बरु खाडी रोज्यौँ तर आत्मसमर्पण गरेनौँ । प्रचण्ड र सहयोगी बाबुरामले जनताका सुन्दर सपना बोकेको जनयुद्धलाई मसान घाट बनाउनुभयो ।
केही टाठा–बाठाको लागि क्रान्ति सम्पन्न भएपनि जनता र जनयुद्ध लड्ने जनमुक्ति सेनाका योद्धाहरुको विचल्ली भएको छ । केही साथीहरु काठमाडौँ शहरमा भौतारिकएका छन् भने हामी विदेशमा । काठमाडाैँमा नानी बाेकेका साथीहरुलाई प्रहरीकाे गाडीमा काेचेर जेल पुर्याएकाे दृश्यले निकै अाक्राेसित बनाएयाे । सकेकाे भए त हामीलाई पनि प्रहरी लगाउनु हुन्थ्याे हाेला तर हामी सात समुन्द्र पारी भएकाले मात्र बाचेका छाैँ ।
तत्कालिन सर्वोच्च कमाण्डरलाई हेक्का नै होला जनता र जनमुक्ति सेनाको रगत र पसिनाबाट लाजिम्पाट, पेरिसडाँडा, बहादुर भवनहरु बनेका हुन् । प्रचण्ड–बाबुरामका सुकुला कोट हाम्रै रगत र पसिनाबाट तयार भएका हुन् ।
सर्वोच्च कामाण्डरज्यू, तपाईँ र केही टाठाबाठाहरुको गाडी चढ्दैमा क्रान्ति सम्पन्न भएको मानिँदैन । यो तपाईँहरुको लागि क्रान्ति भएपनि आम जनता र हामी जस्ता युवाहरुको लागि भएको छैन । हिजो तपाईँको आह्वानमा हामीले युद्धमा हाम फालेका थियौँ । अब अरु कसैले आह्वान गरेमा हामी युद्धमा किन नजाने ? युद्धमा हिजाेका कारणहरु हाम्रो अगाडि अहिले पनि छन् ।
(अाेली हाल मलेसियामा सुरक्षा गार्डमा कार्यरत छन् । )