विप्लव, वैद्य र मोहनविक्रमले दिएको सन्देश
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भारतीय विस्तारवादका तर्फबाट भएको राष्ट्रियता, (जनस्रंोत, प्राकृतिक स्रोत) साधनमाथि गरिएको अतिक्रमणको विरुद्ध कार्यगत एकता गरी संयुक्त रुपमा संघर्ष गर्ने सहमति भएको प्रचारमा आएको छ । जुन, देश र जनताको लागि खुसीको कुरा हो । पछिल्लो समय भारतीय हस्तक्षेपका कारण देश दयनीय अवस्थामा पुगेका छन् । भारतकै हस्तक्षेपको कारण देशको आन्तरिक र बाह्य राजनीति डामाडोल भएको छ । देश द्वन्द्वउन्मुख भएको छ । नेपालका तमाम संसद्वादी दलहरु भारतको पुच्छर सावित भइरहेका छन् । जसको कारण जनताले १० वर्ष जनयुद्ध र १९ दिन जनआन्दोलन गरेर ल्याएको गणतन्त्र संकटमा परेको छ । यस्तो स्थितिमा यी तीन दलले गरेको सहमति असाध्यै सह्रानीय छ । अब यी तीन दलले ल्याएको नीतिलाई देशका तमाम राजनीतिक दल र नेताहरुले साथ र सहयोग गर्नु जरुरी भएको छ । राष्ट्र र राष्ट्रियताका लागि भारतीय हस्तक्षेपको खारेजी गर्नुको विकल्प छैन । जबसम्म हामी भारतीय हस्तक्षेपबाट मुक्त हुन सक्दैनौँ, तबसम्म हामी स्वाधीन र सम्पन्न राष्ट्र बन्न सक्दैनौँ । यसकारण विप्लव, वैद्य र मोहनविक्रमले गरेको कार्यगत एकतालाई सम्पूर्ण राजनीतिक दलले साथ र सहयोग दिनुको विकल्प छैन । अन्यथा मुलुक दुर्घटनामा पर्ने निश्चित छ । मुलुक दुर्घटनामा परे संसद्वादी राजनीतिक दल र तिनका नेता पनि पक्कै सुरक्षित हुने छैनन्, चेतना भया ।