सहिदको महिमा गाउँदैमा सपना पूरा हुँदैन –रञ्जित बुढा मगर
आज सहिद दिवश । देश र जनताको लागि आफ्नो जीवनलाई हाँसी हाँसी अर्पण गर्नेहरुको सम्मान गर्ने दिन । हामी यतिखेर देश र जनता मात्र होइन, सहिदको रगत र सपनामा पनि हाम्रो विचार र भावनालाई जोडेर अगाडि बढिरहेका छौं । सहिदहरुको अधुरो सपना र देशको अवस्थालाई एकै ठाउँमा राखेर हेर्दा लाग्छ कि हामीले सहिदको सपनामा देश जनता र हाम्रो सपना नजोडेको जस्तो, योद्धाहरुको रगत र पसिनालाई पानी बगेको सम्झे जस्तो, जनताको लगानीलाई शेयर वजारमा बिक्री गरे जस्तो अनि सिंगो देशभन्दा एकल जीवन विताउनको लागि आफ्नै सपना र विचारमा ऐँजेरु रोपेजस्तो यस्तै यस्तै । तर पनि हामी आजको दिनमा हाम्रा सहिदहरुलाई सलाम गर्ने र सम्झिने मात्र हैन उनीहरुकै बाटो हिँडेर उनीहरुका सपनाहरु पूरा गर्न नसके पनि ती सपनाहरु मर्न नदिने प्रतिवद्धता गर्दछौं ।
नेपाली भूमिमा माओवादी आन्दोलन सुरु भएपछि सहिद भन्ने शब्दको अर्थ अझ राम्ररी थाहा हुन थाल्यो । किनभने हामी आफ्नै सन्तान हाम्रै आँखा अगाडि ढलेको, हाम्रो घर जलेको, देश भन्ने शव्द बोल्दा पनि गोली खान परेका जस्ता ज्वलन्त उदाहरण हामीसंग छन् । देशको लागि घरपरिवार सवै त्यागेर सुन्दर भविष्य खोज्दै हिँड्ने योद्धाहरु, सही विचारले निर्देशित मान्छेहरुको न्याय र मुक्तिको गीत गाउँदा गाउँदै छातीमा गोली लागेर ढल्दा पनि मुठ्ठी कसेर हात माथि उठाइरहेको देख्दा राणा शासनको विरुद्धमा लड्दा–लड्दै सहिद भएका सहिदहरुको नाम हामीले सम्झिन्थ्यौं । हामीले धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगलाल श्रेष्ठ र दशरथ चन्दका बारेमा कितावमा पढेको कुरालाई प्रत्यक्ष देखेजस्तो लाग्थ्यो । नेपाली जनयुद्ध र नेपाली जनताको मायाबाट हामीले देश र जनताको पक्षमा लडेर नमरे पनि हामी गद्दार हुने छैनौं भन्ने आत्मविश्वास पलाएको छ । यही आत्मविश्वासले हामी हाम्रो हरेक काम कारवाहीहरु बढाइरहेका छौं ।
बाँच्नको लागि लड्नेहरु र मर्नका लागि लुक्नेहरुको जीवन धेरै फरक छ । आफ्नो आयु लम्बियोस् भनेर यो संसारमा कहीँ, कतै नभएको र छ भनी कसैले पनि प्रमाणित नगरेको अलौकिक शक्तिको प्रार्थना गर्नेहरु र आफ्नो आयुलाई देश र जनताको आयु अनि भविष्यसंगै जोडेर जीवनको प्रवाह नगरी लडनेहरु यो धर्तीमा पहिलेदेखि नै छन् र पछिसम्म पनि रहिरहनेछन् । किनभने वर्गीय समाजमा विचार भावना राजनीति पनि वर्गीय नै हुने भएकाले मान्छेहरु पनि त्यसैअनुरुप निर्देशित र परिचालित हुन्छन् ।
आजको यो दिन हाम्रो गौरवको दिन हो । हामीले हाम्रो प्रतिवद्धतालाई सहिदको शालिक र फोटोहरुमा लगाइदिएको माला र अविरमा मात्र सीमित रहन दिनु हुँदैन । सहिदका सपनामा देशको भविष्य छ भन्ने कुरामा हामी ढुक्क त छौं तर हामी जीउँदो मान्छेहरुको सपनामा नै धमिरो लाग्न थाले पछि ढुक्क मात्र भएर पनि नहुँदोरहेछ । सहिदका परिवारहरुको स्थिति अनि जीउँदो सहिद भएर बाँचेका घाइते योद्धाहरुको जीवन देखेर आजभोलि अलिअलि मनमा अमिलो मिसिन्छ । सहिदको फोटो र शालिकमा त अविर र माला लगाएर सजाइन्छ । तर, सहिदका परिवारलाई कसरी सजाउने भन्ने बारेमा सरकारको ध्यान गएको देखिँदैन । एउटा अनौपचारिक कार्यक्रमले हाम्रा सहिद परिवारलाई खुशी पार्न सकिँदैन । हु न त आजको दिनमा प्रायः सबै पत्रपत्रिकाहरुलगायत सञ्चार माध्यमहरुमा सहिदको महिमा र प्रचार धेरै आउँछन् । महिमा गाउँदैमा र प्रचार गर्दैमा हामीले सहिदप्रति सम्मान ग¥यौं भन्न मिल्दैन । तर हामीेले सहिदको सपनालाई पूरा गर्ने हाम्रो मात्र नभएर राष्ट्रको नै दायित्व हो भन्ने कुरा बुभm्यौं भने पनिसहिदलाई सही रुपमा सम्मान गरेको ठहरिन्छ ।
(लेखक सहिद परिवारका सदस्य हुन्)