माओवादीको आठौं महाधिवेशन र एकीकृत जनक्रान्ति – विष्णु पन्त
हामी आज महान् जनयुद्धको २२ औं वर्ष गाँठ र पार्टीको आठौं महाधिबेशन उद्घाटन गर्ने दिन २०७३ फाल्गुन १ को पूर्व सन्ध्यामा उभिएका छौं । आजसम्म आइपुग्दा नेपाली क्रान्तिको इतिहासका धेरै ठूला, अपत्यारिला, अनपेक्षित र अकल्पनीय उतारचढावहरूको दृढतापूर्वक सामना गर्दै यो उचाइसम्म आइपुग्न सफल भएका छौँ । हामीले हेर्दा हेर्दै प्रचण्ड, बाबुरामको घीनलाग्दा वर्तमानहरूलाई धिक्कार्दै र उनीहरूको आत्मसर्मपणवादी तथा संसद्वादी यात्रालाई ठाउँको ठाउँ चुनौति दिँदै क्रान्तिकारी र राष्ट्रवादी शक्तिको ध्रुवीकरणलाई तीव्रताका साथ अगाडि बढाउन सफल भएका छौँ । इतिहासतर्फ फर्केर हेर्दा आफैँलाई पनि आत्मघाती हुन सक्ने वा धेरैको विचारमा दुस्साहसवादी र चरम महत्वाकांक्षी कदमहरूलाई हामीले ठूला–ठूला खतरा मोलेर भए पनि एउटा उचाइमा पु¥याउन सफल भएका छौँ । हाम्रो पार्टीका महासचिव विप्लवले भने जस्तै ‘इतिहासले दिएको जिम्मेवारीलाई हामीले नदीको बेगको उल्टो दिशामा उभिएर पनि बहन गर्न सफल भएका छौ’ । कम्तीमा आजसम्म आइपुग्दा दशौँ हजार सहिद बेपत्ता, घाइते योद्धाहरूको क्रान्तिको सपनालाई मर्न दिएका छैनौँ बरु क्रान्तिकारी कदमहरूलाई तीव्र रफ्तारमा अगाडि बढाइरहेका छौँ । सबैभन्दा ठूला उपलब्धि भनेको यतिविघ्न धक्काको बीचबाट हामीले क्रान्तिको सम्भाव्यतालाई निकट र प्रवल बनाइदिएका छौँ । आजको दिनसम्म आइपुग्दा नेपालमा क्रान्ति सम्भव छ वा छैन भन्ने बहस फिका सावित भएका छन् । बरु, कहिलेसम्म र कसरी होला भन्ने उत्सुकताबाट बहसहरू उठन थालेका छन् । अब कुन शक्ति र कुन नेतृत्वले क्रान्तिको जिम्मेवारी बहन गर्ला भन्ने दुविधा र अस्पष्टता हटेका छन् । गरे विप्लवले वा नेकपा (माओवादी) ले भन्ने आमविश्वास पैदा भएको छ, जुन ज्यादै ठूलो सफलता हो । आजसम्म आइपुग्दाको राष्ट्रवादी शक्ति भनेर प्रशिक्षण दिइराख्नु पर्ने अवस्था छैन । आठौँ महाधिवेशनको पूर्वसन्ध्यासम्म आइपुग्दा हाम्रो पार्टीको पक्षमा आएको देशव्यापी लहरलाई नियाल्दा जनताको आकर्षण कता छ भनेर खोज्नु पर्ने अवस्था पनि छैन ।
आजको विश्व बीसौँ शताब्दीबाट एक्काइसौँ शताब्दीमा प्रवेश गरेसँगै विश्वपरिस्थितिमा केही नयाँ उतारचढावपूर्ण विकासहरू भएका छन् । हाम्रो महासचिवले संश्लेषण गरे जस्तै अहिलेको पुँजीवाद साम्राज्यवाद हुँदै उत्तर साम्राज्यवादमा विकास भएको छ । यस्तो बद्लिदो विश्वपरिवेशमा हामीले भन्ने गरेका दीर्घकालीन जनयुद्ध वा जनविद्रोहका बहसबाट मात्र विश्व क्रान्तिलाई सफल बनाउन सकिँदैन भन्ने निष्कर्षलाई ध्यान दिन जरुरी छ । त्यति मात्र होइन, आजको विज्ञान र प्रविधिको युग अनि भूमण्डलीकरणको युगका विशेषताहरूलाई पनि आत्मसात गर्दै हाम्रो कार्यदिशाको विकास गर्ने सवाल केवल नेपाली क्रान्तिका लागि मात्र होइन, विश्व क्रान्तिले लागि पनि महत्वको विषय बन्ने निश्चित छ । हाम्रो पार्टीको विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशाले धेरै ठूलो आकर्षण प्राप्त गर्न सफल भएको छ र छोटो अवधिमै भएको यसको लोकप्रियताले प्रतिक्रियावादी सत्तामा खैलाबैला मच्चिएको तथ्य हाम्रै अगाडि कायम छ । नेपालको सन्दर्भमा हेर्दा आमजनताबाट घृणित बनी सिनोजस्तै गन्हाइरहेको दलाल संसदीय सत्तालाई ध्वस्त पारी जनताको सत्ता स्थापना गर्ने महान् जिम्मेवारीलाई पूरा गर्नुपर्ने चुनौती हाम्रा सामु छ ।
के कुरा प्रष्ट छ भने आजको उत्तर साम्राज्यवादले विश्वभरि नै विज्ञान प्रविधिको विकास, विस्तार र प्रयोगलाई व्यापक बनाउँदै त्यसलाई आफ्नो मात्र रक्षाकवच बनाउने रणनीति विकास गरेको छ शायद विश्वमा भएको प्रविधिको विकासबाट अत्तालिएर कतिपय क्रान्तिकारी शक्तिहरू युद्धबाट वा सैन्यबलबाट सत्ता कब्जा गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेको छन् । तर, विज्ञान र प्रविधिलाई क्रान्तिकारीहरूले झनै बढी आविष्कार, विकास र प्रयोग गर्न सकिन्छ र त्यसले क्रान्तिलाई झनै सहज बनाइदिन सक्छ भन्ने निष्कर्षका साथ हाम्रो पार्टी अगाडि बढेको छ । यसबाट प्रष्ट हुने कुरा के हो भने सूचना संचार क्षेत्रमा भएको प्रविधिको विकासबाट क्रान्तिकारी झनै बढी सवल हुन सकिन्छ र त्यो सम्भव छ भन्ने तथ्य आज बलियो बनेको छ ।
हामीले भुल्नै नहुने तथ्य के हो भने आजको विश्व सैन्य शक्तिको बलमा टिकेको छ । अझै प्रष्ट शब्दमा भन्दा सैन्य शक्ति नै सबै कुरालाई दिशानिर्देश गर्ने शक्ति हुन सक्दोरहेछ । त्यसैले त अहिलेको विश्व विस्तारै युद्धमय बन्ने खतरा प्रवल छ । भित्रैभित्रै सबै शक्ति राष्ट्रहरूले युद्धकै तयारी गरिरहेको छन् । सानै देश भए पनि सैन्य विकास गर्न सकेमा आफ्नो सार्वभौम सत्ताको रक्षा गर्न सकिन्छ भन्ने राम्रो उदाहरणका रूपमा उत्तरकोरियाले आपूmलाई प्रस्तुत गरिसकेको छ । एकातर्फ आर्थिक विकास र समृद्धिका लागि लडाइ जारी छ, नै अर्कातर्फ सैन्य शक्तिको विकासका लागि होडबाजी चलिरहेको छ । हामीले हाम्रो परराष्ट्र नीतिका विषयमा पुनर्विचार गर्न जरुरी छ । हामीले नीतिगत रूपमा पञ्चशीलका सिद्धान्तको पक्षपोषण गरे पनि व्यवहारमा दलाल सत्ता संरचनाको बलियो सञ्जाल बनेको छ । अहिलेको सत्ता पूरै दलालहरूको भागबण्डा र घेराबन्दीबाट टीकेको छ । प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने र दिल्लीसँग गोप्य सम्झौता गरी आत्मसमर्पण गर्ने प्रवृत्ति नेपाली राष्ट्रवादीहरूका लागि मुख्य चुनौति बनेको छ । त्यति मात्र होइन मन्त्री, उच्च पदस्थान कर्मचारी, मुख्य सचिव, आईजिपि प्रधानसेनापति बन्न पनि दिल्लीकै आशीर्वाद चाहिने अवस्था छ । यसको सिधा अर्थ के हो भने अहिलेको सत्ता दलाल संसदीय सत्तामा परिणत भएको छ । यो दलालहरूको अखडा बनेको छ । सबैतिर फैलिएको दलालहरूको सञ्जाल र अखडाहरूमाथिको आक्रमण नै आजको मुख्य विषय बनेको छ । आमजनतालाई बुझाउनै पर्ने तथ्य के हो भने विदेशीहरूका सामु आत्मसमपर्ण गरेर उनीहरूको निगाहबाट राष्ट्रियता बचाउन सकिँदैन, दलालीकरणको आधारमा सत्ता टीकाउने मनोविज्ञानलाई नाङ्गेझार पार्नुको विकल्प हामीसँग छैन ।
हामी आज आठौँ महाधिवेशनको उल्लासमय समयमा उभिएका छौँ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई थप विकास गर्दै त्यसको कार्यान्वयनको विषयमा गहन छलफल र निष्कर्ष निकाल्नमा नै दत्तचित्त हुनेछौँ । आज मध्यमवर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई क्रान्तिमा होम्ने कुरा अनि गाउँ र शहरको निकट, गतिशील सम्बन्धलाई जोड्दै एकीकृत संघर्षहरूको संचालन गर्ने कुरामा हामीले ध्यान दिनुपर्छ । सबैतिरबाट एकसाथ राजनीतिक हमलाहरूलाई तीव्र बनाई दलालहरूको आधार भूमिलाई थिलथिलो पारिदिनु पर्छ । आज विज्ञान र प्रविधिको विकासले गर्दा धेरै चीजहरू एकै ठाउँमा फिटिङ्ग गर्ने प्रक्रिया चलिरहेको छ । मेनी इन ओन मात्रै होइन अल इन ओन अर्थात एउटैमा सबै चीज राख्ने प्रविधिको विकास भइसकेको छ । राजनीतिमा पनि यो अनिवार्य बनेको छ । पार्टी संगठन वा विचारलाई पनि एकीकृत ढंगले विकास गरेर मात्र हामी युग सुहाउँदो वा अत्याधुनिक बन्न सक्छौँ । यो विकासको अत्याधुनिताको सिद्धान्तलाई एकीकृत जनक्रान्तिले आत्मसात गरेको छ । आज बैज्ञानिकहरूको सिद्धान्तलाई हे¥यो भने एउटा मात्र सिद्धान्त अपुरो र एकाङ्की हुन्छ डार्विन, न्यूटन, आइन्सटान हुँदै क्वान्टम फिजिक्ससम्म आउँदा सबै परम्पर सम्बन्धित सिद्धान्तलाई जोडेर हेर्नुपर्ने हुन्छ । क्रान्तिमा पनि त्यही नियम लागू हुन्छ । आजसम्म विकास भएका र प्रयोग भएका सबै मोडलहरूलाई जोड्दै नयाँ विचारको विकास गर्नु आवश्यक हुन्छ ।
हामीले एक्काइसौँ शताब्दीमा संसारभरि सर्वहारावर्गको पक्षमा आँधीबेहरीको सृजना गर्नुपर्ने छ । त्यसका लागि हामीले सुरुवात नेपालबाटै गर्नुपर्नेछ । नेपाली क्रान्तिलाई सफल र विजयी बनाउनका लागि हामीले हाम्रो शक्तिलाई धेरै सुदृढ र अत्याधुनिक बनाउन अनिवार्य बनेको छ ।
आजको विश्वमा मध्यमवर्गको विकास निकै तीव्र रूपमा भइरहेको छ । वास्तवमा अहिलेको पुँजीवाद वा उत्तरसाम्राज्यवादी थिचोमिचोबाट यो वर्ग निकै आक्रान्त बनेको छ । बौद्धिकता श्रम र सीपका हिसावले यो चलायमान र अग्रपंक्तिमा छ भने आर्थिक हिसावले थिलथिलो परेको छ । स्वभाविक रूपमा यो वर्ग उत्पीडनमा परेको हुनाले आक्रोशित र विद्रोही मनविज्ञानले ग्रसित छ । डक्टर, वकिल, पाइलट, कर्मचारी, शिक्षक, प्राध्यापक सेना प्रहरी, तथा साना उद्यमीहरू यो वर्गमा पर्ने हुनाले अबको क्रान्ति मध्यमवर्गका लागि अपरिहार्य र जीवनमरणको सवाल बन्ने निश्चित छ । एकीकृत जनक्रान्तिमा मध्यम वर्गलाई विशेष ढंगले सम्वोधन गरिएको छ । त्यसकारण पार्टीको आठौँ महाधिवेशनको मध्यमबाट बद्लिदो नेपालमा एकीकृत जनक्रान्तिको प्रक्षेपणसम्बन्धी ठोस योजना वा बिचारको विकास हुने अपेक्षा गरिएको छ । त्यति मात्र होइन, संसद्वादी शक्तिहरू अव चुनावको तयारी गर्दैछन् भने क्रान्तिकारी शक्तिहरू संसदीय चुनावलाई ध्वस्त बनाउने रणनीति बनाउने छन् ।