जनयुद्ध उद्देश्य पूरा गरौं

२०७३ फाल्गुन १ गते, आईतवार

आज २२ औँ जनयुद्ध दिवस । ‘नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धको घोषणा गरेको थियो । सामन्ती राज्य व्यवस्थाले पछाडि पारेको वर्ग, लिङ्ग र क्षेत्रलाई आधार बनाएर गरिएको जनयुद्धले छोटो समयमा नै वर्गीय आन्दोलनलाई नयाँ उचाइमा पु¥याएको थियो । जनयुद्धले देशमा केही परिवर्तन ल्याए पनि हालसम्म जनयुद्धको उद्देश्य पूरा हुन सकेको छैन । देश र जनता अहिले पनि प्रताडित छन् । राष्ट्रिय स्वाधीनता संकटमा परेको छ । वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ । भ्रष्टाचार अनियमितता, कमिसन र कालोबजारी दिनप्रतिदिन मौलाउँदै गएको छ । राज्यसत्ता मूकदर्शक बनेर रमिता हेरिरहेको छ । देश र जनताको मुक्तिको लागि दस वर्ष जनयुद्ध लडेका कतिपय नेताहरू आफ्नो व्यक्तिगत स्वार्थसिद्धतिर लागेर जनयुद्धको उपलब्धिमाथि लात मार्न तम्सिरहेका छन् । यस्तो अवस्थामा नेकपा (माओवादी) ले क्रान्तिको झण्डा उठाएको छ । यो आफैँमा महान् र गौरवशाली विषय हो । जनयुद्ध दिवसकै अवसर पारेर नेकपा माओवादीले आठौँ महाधिवेशन गर्न लागेको छ । जुन क्रान्तिकारीहरूको लागि गौरवको विषय हो । माओवादीको यो महाधिवेशनले क्रान्तिको दिशालाई स्पष्ट पार्दै निकट भविष्य मै पूरा गर्ने कार्यदिशा तय गर्नेछ भन्ने आमसचेत नेपालीको बुझाई छ । त्यसैले माओवादीको यो महाधिवेशन नेपाली क्रान्तिको लागि कोशेढुङ्गा सावित हो भन्ने शुभकामना दिँदै दस वर्षे जनयुद्धमा बलिदान गर्ने सहिदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौँ । साथै जनयुद्धमा घाइते र अपाङ्ग भएका तथा बेपत्ताहरूप्रति पनि सलाम गर्न चाहन्छौँ ।

प्रतिक्रियाहरु

[anycomment]