माओवादी केन्द्रको लम्पसारवादमा पतनः प्रहशनमय परिघटना – समीर यात्री

२०७४ जेष्ठ १७ गते, बुधबार

कुनै बेला नेपाली क्रान्तिको नायकको रुपमा क्रान्तिकारी छवि बनाएका पुष्पकमल दाहाल प्रचण्ड बर्गिय र राष्ट्रिय आत्मसर्मपणवादमा पतन भएसंगै आज दुनियाभरी प्रहशनको पात्र बन्न पुगेका छन् । र, आज उनको नयाँ चिनारी बन्न पुगेको छ –लम्पसारवादी । यो चिनारी उनको मात्र होइन, उनले नेतृत्व गरेको पार्टी नेकपा माओवादी केन्द्रको पनि हो । त्यसैले यसलाई कतिपयले नेकपा लम्पसारवादी केन्द्र पनि भन्न थालेका छन् । सिंगो पार्टीको दिशा र त्यसको समग्र क्रियाकलापहरु नै लम्पसारवादबाट निदेर्शित हुनुले पनि उसलाई नयाँ चिनारी दिनुको सार्थकता पुष्टी हुन्छ ।
प्रचण्ड र उनको पार्टीको नयाँ चिनारी बोकेर यतिबेला निकै चर्चामा आएको लम्पसारवाद आखिर के हो त ? यो कुन कुन रुपमा अभिव्यक्त भएको छ । यसको सैद्धान्तिक र बैचारिक आधार के हुन । कस्तो छ पतनको श्रृखला ? यहाँ यस सम्बन्धि छोटो चर्चा गरिने छ ।
के हो लम्पसारवाद ?
गद्धारी र आत्मसमर्पणको अन्तिम अभिव्यक्ति लम्पसारवाद हो । राजनितिक रुपमा वर्गिय र राष्ट्रिय आत्मसमर्पणवाद, बैचारिक रुपमा बिचलनवाद, साँस्कृतिक रुपमा चाकडिवाद र दार्शनिक रुपमा भक्तिवादको केन्द्रकृत र अन्तिम अभिव्यक्तिको रुपमा लम्पसारवाद देखा पर्दछ । अर्काे अर्थमा भन्नुपर्दा आफ्ना सम्पूर्ण ध्यय, उद्धेश्य, निष्ठा, आदर्श र मुल्यप्रतिको प्रतिवद्धतामाथि विश्वासघात र गद्धारी गर्दै दुश्मनको बफाादार नोकरमा परिणत हुनु र आफ्नो सम्पूर्ण पहिचान दुश्मनको सेवामा समर्पित गर्नु लम्पसारवाद हो । त्यसकारण लम्पसारवादीहरुको स्वतन्त्र अस्तित्व हुदैन ।
लम्पसारवादमा पतनको श्रृंखला
माओवादी आन्दोलनको एउटा धारा नेकपा माओवादी केन्द्र कसरी लम्पसारवादमा पतन हुन पुग्यो त ? यो बुझ्नको निमित्त यसको पतनको श्रंखलाबद्ध शिलशिला बुझ्न जरुरी छ । यो शिलशिला खोज्न तत्कालिन नेकपा माओवादी) सम्म पुग्नु पर्ने हुन्छ । यसरी हेर्दा जनयुद्धको नेतृत्व गरेको तत्कालिन नेकपा माओवादी)को २०५७ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले गरेको नेतृत्वको प्राधिकार र विचार संश्लेषण सम्बन्धी दिशा निर्देश नै यो शिलशिलाको आधार शिला बनेको देखिन्छ ।
बिचार संश्लेषणको रुपमा प्रचण्डपथ निर्माण गरियो । यो निराधार रुपमा निर्माण गरिएको प्रचण्डपथलाई स्थापित गर्न भनेर प्रचण्डको हदैसम्मको देबत्वकरण गरियो । मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद माओवादको पछाडि प्रचण्डपथ थपियो । र, विश्व क्रान्तिका महान गुरुहरुको समकक्षी हुने गरी प्रचण्डको फोटो सजाइयो । प्रचण्डपथको औचित्य र आधार पुष्टी गर्न लेखहरु प्रकाशन गर्ने, गराउने र लेखको प्रारम्भमा प्रचण्डको भनाइलाई राख्नु पर्ने चलन नै स्थापित गरियो । त्यति मात्र होइन , पार्टीमा को क्रान्तिकारी हो र को होइन भन्ने कुराको मापदण्ड नै प्रचण्डपथको भजनकिर्तनलाई बनायो ।
यो गलत अभ्यासले कम्यूनिष्ट क्रान्तिकारीहरुमा हुनै पर्ने द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोण र आलोचनात्मक चेतलाई दुरुत्साहित ग¥यो भने नेतृत्वप्रतिको रामभरोसे बुझाईलाई प्रोत्साहित ग¥यो । यसले मालेमावाद सम्बन्धी आाधारभुत सैद्धान्तिक अध्ययन संस्कृतिको विकासमा समेत गतिरोध पैदा ग¥यो । जनयुद्धको योजना र दैनिन्दिनका संघर्षका कार्यक्रम सम्बन्धी प्रशिक्षण बाहेक सैद्धान्तिक अध्ययन अध्यापनको कडि नै टुट्यो । जसले गर्दा माओवादी आन्दोलनको बैचारिक साँस्कृतिक धरातल जनयद्धको तीव्र विकासको तुलनामा धेरै पछि प¥यो । यही कम्जोर बैचारिक , साँस्कृतिक धरातलबाट नै प्रतिक्रान्ति जन्मियो ।
२०५५ मा सम्पन्न पार्टीको चौथो विस्तारीत वैठकबाटै नेतृत्व केन्द्रिकरणको अभ्यास सुरु भयो र त्यसलाई सांगठनिक रुपले मात्र होइन बैचारिक रुपले समेत प्राधिकारपूर्ण बनाउने काम दोस्रो राष्ट्रिय सम्मेलन मार्फत गरियो । यो गलत अभ्यासले जनवादी केन्द्रियतालाई लत्याउदै पार्टी र क्रान्तिको भाग्य र भविष्यको फैसला गर्ने जिम्मा पार्टीको सुप्रिमोको रुपमा प्रचण्डको नियतिमा छोडिदियो । पार्टीको विधि, विधान र पद्धति भन्दा प्रचण्डको नियति निर्णायक बन्न पुग्यो । यसले प्रचण्डको चरम महत्वाकांक्षा र स्वेच्छाचारिता दुवै मौलाउने भौतिक परिवेस निर्माण गरिदियो । भित्रभित्रै बैचारिक रुपले बिचलित र साँस्कृतिक रुपले स्खलित भैइसक्दा पनि छट्टु प्रचण्डले आफूलाई क्रान्तिकारी आवरणमा प्रस्तुत गरिरहे । जब उनले आफ्नो चरित्र अनुकुलको राजनितिक यात्रा तय गर्नको लागि सुरक्षित अवतरणको दिशा समातेर क्रान्तिकारी आन्दोलनलाई “डाइभर्ट” गरे, त्यसपछि मात्र पार्टी भित्र क्रान्तिकारीहरुले नेतृत्व गलत दिशामा गएको अनुभुत गरे । र, दुई लाईन संघर्ष सुरु भयो । त्यतिखेर सम्म प्रचण्ड पार्टीको नियन्त्रण बाहिर गइसकेका थिए ।
यहाँ सम्म आइपुग्दा पार्टीमा एकातिर प्रचण्डलाई अदभुत चमत्कारकको रुपमा बुझ्ने र प्रचण्डले जे गरे पनि त्यो क्रान्ति नै हुन्छ , भन्ने मनोविज्ञान हावी भइसेको थियो भने अर्काे तिर नेतृत्व प्रति प्रश्न उठाउदा वित्तिकै राजनितिक भविष्य खतरामा पर्ने भौतिक परिवेस निर्माण भइसकेको थियो । यो परिवेशले प्रचण्डलाई क्रान्तिकारी शब्दजालको आवरणमा दक्षिणपन्थि विसर्जनबादको यात्रा संस्थागत गर्न सहज बनाइदियो । क. किरण र क.गौरवहरु भारतिय जेलमा रहेको मौका छोपी प्रचण्डले यो काम सम्पन्न गरेका थिए । वास्तवमा इमान्दार, निष्ठावान र सिद्धान्तनिष्ठ क्रान्तिकारी तप्का वाहेक पार्टीको ठुलो हिस्सा बैचारिक साँस्कृतिक रुपले नितान्त खोक्रो भइसकेको थियो । किनकी कम्युनिष्ट क्रान्तिकारी बन्न तिर होइन, सासक बन्ने तिरको ध्यानध्याउन्नमा पार्टीलाई केन्द्रित गरियो । सर्वहारा क्रान्तिकारी बन्ने बनाउनेतिर होइन, सत्ता प्राप्तिको साधनको रुपमा मात्र कार्यकर्तालाई उपयोग गर्न जोड दिइयो । यसले भोगबिलास तर्फको चिन्तन संस्कृति हावी हुने र त्यसकै निमित्त प्रभावशाली नेताको चाकडी गर्ने होडवाजीको अवस्था सिर्जना ग¥यो । हिजो जनयुद्धको राप र तापले पार्टी भित्रको यो हद सम्मको बिचलन र विकृति छोपिएको थियो । जनयुद्धको विसर्जन संगै यो विचलन पार्टीको आधारभुत दिशा बन्न पुग्यो । यही बिन्दु बाट माओवादी आन्दोलनले विघटनको दिशा समात्यो ।
आन्दोलनको विघटन संगै माओवादी क्रान्तिकारीहरु र विचलनबादीहरु विच सम्बन्ध विच्छेद र धु्रविकरण प्रक्रिया अगाडि बढ्यो । क्रान्तिकारीहरु पार्टी पुनर्गठन गर्दै अगाडि बढे भने विचलनवादीहरु संसदवादमा पतन हुदै दलाल तथा नोकरशाहीतन्त्रमा संसदीय उठापटकीको अभिन्न अङ्ग बन्न पुगे । प्रचण्डको यो विचलनको यात्रा अगाडि बढने क्रममा बर्गिय र राष्ट्रिय आत्मासमर्पनवाद हुदै अन्तत लमपसारवादमा टुंगिएको छ । यि सबै तथ्यबाट के पुष्टी हुन्छ भने प्रचण्ड र उनको पार्टीको लमपसारवादमा भएको पतनको मुल आधार बैचारिक बिचलन नै हो । क्रान्तिकारी सिद्धान्तप्रतिको इमान, निष्ठा र अटुट विश्वासको अभाव, त्यो सिद्धान्तलाई आफ्नै जीवनशैलीमा सतत अभ्यास गर्ने कष्टसाध्य ध्याउन्नको अभाव र पार्टीले लिएका कतिपय गलत नितिहरुको अभ्यासको कुल योगको परिणाको रुपमा यो बिचलन देखा परेको हो ।
किन पतन भए प्रचण्ड लम्पसारवादमा ?
क्रान्तिकारी ध्यय उद्धेश्य परित्याग गरेर क्रान्तिप्रति गद्धारी गर्दै संसदीय व्यवस्थालाई स्वीकार्न पुगेका प्रचण्डले पार्टीलाई एमालेकरण मात्र गरेृनन्, त्यो भन्दा अघि बढेर पतनको पराकाष्ठामा पुगे । अर्थात लम्पसारवादी बन्न पुगे । किन त्यसो भयो त ? यो परिघटना उनको आत्मगत चाहनाबाट मात्र घटिट भएको होइन । किनकी उनी र उनको पार्टी जुन धरातलबाट जसरी आयो त्यसलाई अर्काे एमाले बनेर स्वतन्त्र अतित्वका साथ बसि खान सम्भव नै थिएन । यसको पछाडि मुलतः २ वटा कारण छन् ।
पहिलो,एउटै राजनितिक प्रणालीमा एउटै वर्गिय धरातल र एउटै राजनितिक चरित्र बोकेका दुई वटा पार्टीको समान अतित्व रहन सम्भव हुदैन । त्यसमा पनि नेपालको संसदवादी वामवृृत्तमा एमालेको जग बलियो नै छ । पार्टी सञ्चालनको विधि पद्धति र व्यवस्थित प्रणालीमा एमाले अभ्यस्त छ । त्यो तुलनामा माओवादी केन्द्र निकै भद्रगोल र अस्तव्यस्त छ । राजनितिक एजेडाको दृष्टिले पनि कुनै सुस्पष्ट दृष्टिकोण छैन । त्यो पार्टी र नेतृत्व कुन मामलामा कहाँनेर चुक्छ र कहाँनेर झुक्छ भन्ने कुनै ठेगान नै छैन । यो स्थितिमा सत्ताको लागि संघर्षमा बैदेशिक शक्तिकेन्दको सहारा लिनुु उसको निमित्त अपरिहार्य आवश्यकता बन्न पुग्यो । लम्पसारवादमा पतन हुनुको पहिलो कारण उसको यही राजनितिक चरित्र नै हो ।
दोस्रो, प्रचण्डले जनयुद्धको सुरक्षित अवतरणको गन्तव्य पुरानै संसदीय व्यवस्थालाई बनाएर सत्ताको रस्वादन त गरे । त्यसको निमित्त महान १० वर्षे जनयुद्धको सम्पूर्ण उपलब्धीहरु समेत ध्वस्त पारेर देशी विदेशी प्रतिक्रियावादीहरुको विश्वास जित्ने भरमग्दुर प्रयास पनि गरे । त्यसो गर्ने क्रममा प्रचण्ड सामाज्यवादीहरुको उपयोगको एउटा निरिह पात्रको रुपमा परिणत हुदै गए । सामाज्यावादले नेपालको माओवादी आन्दोलनलाई कम्जोर पार्न प्रचण्डलाई उपयोग ग¥यो । तर प्रचण्डको द्धण्द्धकालिन मुद्धाहरुबाट उन्मुक्तिको अभिलाशा अधुरै रह्यो ।
ठिक यही तनावपूर्ण मनस्थितिले नै प्रचण्डलाई लम्पसारवाद सम्म पु¥यायो । क्याटोनमेन्टको भ्रष्टाचार प्रकरण अख्तियारमा पुगेपछि त्यहाँबाट जोगिने प्रयासमा महाभ्रष्टाचारी लोकमानसिंह कार्कीलाई नै अख्तियार प्रमुख बनाएका प्रचण्डले लोकमानबाट नै असुरक्षित देखेपछि महाअभियोग लगाएर उनलाई हटाए । आज युद्ध अपराधको अभियोग बाट आफुलाई जोगाउन राष्ट्रलाई समेत दाउमा चढाएका छन् । यसले के देखाउँछ भने देश जनता भाडमा जाओस, आफू जोगिन पाए पुग्छ भन्ने निकृष्ट मनोविकारको सिकार भइसकेका छन् प्रचण्ड ।
प्रचण्डको भारत भ्रमणको क्रममा गरिएको २५ बुढे सहमति, भारतिय राष्ट्रपति मुखर्जि नेपाल आउँदा देखाईएको चाकडीको लिला , फिजिकरण र सिकिमीकरणको दिल्ली मिसनकै अभिन्न अङ्गका रुपमा मधेशमा नागरिकता वितरण टोली खटाउनु , संविधान संसोधनको नाममा भारतिय रुचि अनुरुप अंगिकृत नागरिकलाई राज्यको उच्च ओहोदामा प्रवेशको बाटो खोल्ने, हिन्दी भाषालाई राष्ट्र भाषाको मान्यता दिने, मधेशमा स्थानिय निकाय थप गर्ने काम अगाडि बढाइएको छ । यसै गरी त्रिभुवन विमानस्थलमा भारतिय एयरमार्र्सल राख्नदिने सहमति, बुटुवलमा भारतिय सेनाको पेनसन क्याम्प राख्न दिने सहमति, भारतिय रुचि अनुसार नै नेपाल आयल निगम र नेपाल राष्ट्र बैंकलाई निजिकरणको नाममा भारतिय कर्पाेरेट घरानालाई सुम्पिने तयारी थाल्नु, तेस्रो देशमा उत्पादित एल.इ.डि.बल्ब भारतिय व्यापारीक कम्पनी बाटै खरिदको प्रक्रिया अगाडि बढाउनु लम्पसारवादकै अभिव्यक्ति हुन । यो शिलशिला कांग्रेसंगको अपवित्र चुनावी गठजोड सम्म पुगेर टुंगिएको छ । यसले हाम्रो राष्ट्र र राष्ट्रिय स्वाधिनता माथिको खतरालाई कयौ गुणा बढाइदिएको छ ।
देशको निमित्त नेता मर्न तयार हुनुपर्छ । तर नेताको निमित्त देशलाई मार्ने कुरा कदापि स्वीकार्य हुन सक्दैन । आफू बाच्नको लागि देशलाई मार्ने प्रचण्डको लम्पसारवादी नितिको अन्तिम परिणति लेन्डुपवाद हो । माओवादी आन्दोलन भित्रका इमान्दार क्रान्तिकारीहरुले यतिबेला गम्भिर ढंगले सोच्न जरुरी छ । निश्चित रुपमा यतिबेला द्वन्द्वकालिन मुद्दाहरु हामी सबै माओवादीहरुका साझा चिन्ता र चासोको विषय हुन् । तर यी मुद्दाहरु सामाज्यवाद र वितारवादसामु लम्पसार परेर समाधान हुने विषय होइनन् । क्रान्तिकारी राजनितिमा यस्तो आत्मासमर्पण र गद्धारी अक्षम्य अपराध मानिन्छ । संशस्त्र संघर्ष फेरी पनि हुन्छ । यस्ता मुद्दाहरु फेरी पनि आउँछन । क्रान्तिकारीहरुका लागि एकचोटि निप्टाएर सधैको लागि हाइसञ्चो हुने विषय यो होईन ।
तर क्रान्तिकारी आन्दोलनबाट भागेकाहरुलाई यो विषयले तनाव दिनु स्वभाविक छ । किनकी उनीहरु क्रान्तिको सपना देख्न पनि छोडिसके तर द्वन्द्वकालिन मुद्दाहरु को आतंकले भने छोड्दैन । छोड्नेवाला पनि छैन् । सामाज्यवादको जति गुलामी गरे पनि उसले उपादेयता देख्दा सम्म प्रयोग गर्छ अनि फ्याकी दिन्छ । त्यसैले क्रान्तिकारीहरुको भविष्य क्रान्तिले नै सुनिश्चित गर्छ । क्रान्तिकारीहरुले आफ्नो जीवन क्रान्तिमा देख्न छोडनु हुदैन । यो अर्थमा फेरी पनि क्रान्तिकारी आशावादका साथ क्रान्तिको झण्डालाई दरो संग पक्रिने प्रण गर्नुको विकल्प हामी कसैसंग छैन । लम्पसारवादमा होइन । हामी सबैको भविष्य क्रान्तिमा छ ।
नेपाली क्रान्तिको इतिहासमा नेतृत्वको विचलन , जनयुद्धको विसर्जन र प्रतिक्रान्ति दुखद परिघटना हुन । यसै शिलशिलाको अन्तिम परिणतिको रुपमा माओवादी केन्द्रको लम्पसारवादमा पतन एउटा प्रहशनमय परिघटना हो । त्यहाँ भित्रका क्रान्तिकारीहरुले आफूलाई प्रहशनको पात्र हुन बाट जोगाउन गम्भिर बन्नै पर्दछ । अव प्रचण्डको दर्दनाक अवशानलाई कसैले रोक्न सक्दैन् ।

प्रतिक्रियाहरु

[anycomment]