जोखिम र जिज्ञासायुक्त मध्यान्तर – खेम थपलिया

२०७४ जेष्ठ १८ गते, बिहीबार

समकालीन नेपाली राजनीति अत्यन्त समस्याका बीचबाट गुज्रिरहेको छ ।यसका विभिन्न आयाम छन् । दलाल तथा प्रतिक्रियावादी, संसदवादी सत्ताका प्रमुख अभिनेता वा पात्रहरूका पक्ष र प्रतिपक्षी स्थानान्तरणसम्बन्धी अनेकौं नौटङ्की हुन्छन् । अहिले सरकार परिवर्तन त्यसैको प्रतिबिम्बन हो । श्रमजीवी जनतासित यसको कुनै साइनो छैन । कथित स्थानीय निर्वाचन, संविधान संशोधन, प्रधान न्यायाधिश प्रकरण र राजपाको आन्दोलन आदि प्रकरणले तिनभित्र चुलिँदै गएको अन्तर्विरोधलाई दर्शाउँछ । यसले उनीहरूको आयु अब धेरै छैन भन्ने कुरा सुपष्ट छ । अमेरिकी–भारतीय साम्राज्यवादी चलखेल पनि अहिले नेपालमा तीव्र रूपमा भइरहेको छ । निर्वाचन आयोगका हालका प्रमुख आयुक्त भारतीय लबीको हुनुले प्रचण्ड–देउवालाई आफ्नो प्रभुको इच्छामुताविक सेवा गर्ने मार्गप्रशस्त भएको मात्र हो । राज्यसत्ता जनताको पक्षमा नआउञ्जेल यी र यस्ता हर्कत भइरहन्छन् ।
अहिले कथित स्थानीय निर्वाचनको दोस्रो चरणको नाटक मञ्चन गरिँदैछ । यो निर्वाचनले देशलाई स्पष्टतः दुई ध्रुबमा विभक्त गरिदिएको छ । राज्य जनताका विरुद्ध खनिएको छ । दलालहरू एकगठ भएका छन् तर पनि जनप्रतिरोध रोकिएको छैन र रोकिने पनि छैन । एकजना मित्रले ठूलै स्वरमा भने, “खोई तिमीहरूले पो के गरेका छौ र ।” नजिक भनिएका शक्ति–मित्रहरूले पछिल्ला दिनमा हामीविरुद्ध च्वास्सचुस्स लेख्ने र च्वास्सचुस्स बोल्ने गरिरहेका छन् । मलाई लाग्छ, यी कुरा नेपालको समकालीन असामान्य राजनीतिक परिस्थितिले जन्माएको असामान्य मनोविज्ञानमा आधारित छन् । तर, कुरा त्यस्तो होइन । नेपाली शोषित–उत्पीडित वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीको पुनर्निर्माण भएपछि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा यो पार्टी निरन्तर सङ्घर्षमा छ । लिपुलेकदेखि अपर–कर्णालीसम्मको रक्षार्थ कुन पार्टी उभियो ? यो पार्टी राष्ट्रिय स्वाधीनता र वर्गसङ्घर्षलाई नवीन विशेषताका आधारमा उठाइरहेको कुरा सायद ती मित्रले भुसुक्कै बिर्सिदिए । सायद मित्रले नेपालमा समानान्तर सत्ता चलिरहेको कुरालाई पनि नजरअन्दाज गरिदिए । यो पार्टी कुन मुद्दामा चुप लागेर बसेको छ ? कतिखेर सुस्ताएको छ ? पार्टीको काम–कारबाहीले कुनै पनि नेता तथा कार्यकर्तालाई एकछिन पनि फुर्सद छैन । मूलतः पछिल्लो चरणमा कथित स्थानीय निर्वाचनविरुद्ध सञ्चालित “एकीकृत जनजागरण तथा जनप्रतिरोध अभियान” सशक्त देखिएकै छ । मालकोट निर्वाचनकेन्द्रमा जनसहभागितासहित कारबाही र फुकोट निर्वाचनकेन्द्रका मतपत्र–मतपेटिकासहित सम्पूर्ण निर्वाचन सामग्री कब्जा गर्दै नष्ट गर्नेलगायत सयौं कारवाहीले नेपालमा क्रान्तिकारी विकल्प दिएको कुरामा कुनै शङ्का छैन । यदि पार्टी सशक्त नभएको भए अर्थात् दलाल संसदीय व्यवस्थाका लागि चुनौतीको रूपमा खडा नभएको भए देशव्यापी संसदीय दलाल सरकारद्वारा मध्यरातमा घर–घरमा छापा मार्ने, धरपकड गर्ने, सयौं कमरेडहरूलाई गिरफ्तार गरी हिरासतमा यातना दिने, झुठा मुद्दा लगाउने, अनावश्यक धरौटीको माग गर्ने र प्रताडित गर्ने काम किन गरिन्थ्यो ? मित्रले यत्ति कुरा बुझ्न सक्नुभएन हगि ! दुश्मनको कित्ताले क्रान्ति देख्ने र तर आफ्नै वरिपरि रहेको भन्नेले क्रान्ति नदेख्ने कस्तो आँखा होला ? तपाईंहरूले हानेको ‘गाईको पुच्छर’, ‘अवसरवादी बहिष्कार’ र ‘रहस्यवादी’ को झटारोले नेपाल कम्युनिस्ट पार्टीलाई कहीँ कतै छोएको छैन र छुँदैन पनि । दुखद् कुरा त के भयो भने टिप्पणीकार विद्वान्हरूले नेपाल कम्युनिस्ट पार्टीले कथित स्थानीय तहको निर्वाचनलाई खारेज गरेको विषयलाई बहिष्कारसित जोडिदिनुभयो । ‘बहिष्कार’ र ‘खारेज’ दुई भिन्नाभिन्नै अर्थका रणनीतिक विषय हुन् । बरू, आफैँले हानेको झटारो लागेर आफैँ घाइते भएको समाचार सुन्नचाहिँ नपरोस् । हामी निरन्तर भनिरहनेछौँ– एकीकृत जनक्रान्ति जिन्दावाद !
अवस्था कस्तो पनि रहेको छ भने नेपालमा उत्तरी छिमेकी देश चीनले भरपर्दो मित्र फेला पार्न नसकेको बताइन्छ । संसदीय दलमा इन्डियन, इन्डो–अमेरिकन र युरोपियन युनियनका निकटवर्ती छन् भन्ने चिनियाँहरूको बुझाइ देखिन्छ । डा. फ्रान्सिस बुचाननले प्रथम विश्वयुद्ध समाप्त भएको केही वर्षमै ‘नेपालीहरू अङ्ग्रेजलाई भन्दा चिनियाँलाई बढी भरोसा गर्छन् भनेर लेखेका थिए । महाभारतमा थुप्रै प्रेरक प्रसङ्ग आउँछन् । कुरुक्षेत्रको युद्धपछि युधिष्ठिर आफ्ना भाइहरूका साथै कृष्णसहित राजा धृतराष्ट्रसमक्ष पुग्छन् । पुत्रशोकले क्रोधाग्निमा जलिरहेका धृतराष्ट्रले भीमसेनलाई मार्न सक्छन् भन्ने कुरा कृष्णलाई आभास भइसकेको हुन्छ । दृष्टिहीन धृतराष्ट्रले भीमलाई अँगालो हालेको बेला निचोरेरै मार्छन् भन्ने चाल पाएका कृष्णले भीमकै आकारको फलामको प्रतिमा धृतराष्ट्रको नजिक उभ्याइदिन्छन् । आफ्ना प्रिय पुत्रहरूको हत्या गर्ने भीमलाई मार्ने दुराशयले अत्यन्त क्रुद्ध हुँदै धृतराष्ट्रले लौह–प्रतिमालाई भीम ठानेर छातीमा कठोरतापूर्वक टाँस्दा त्यो टुक्राटुक्रा हुन्छ । कृष्णको चातुर्यले भीम मृत्युको मुखबाट उम्किन सफल हुन्छन् । त्यसैले सल्लाहकार योग्य, सक्षम, दूरदर्शी, इमानदार र विवेकी छन् भने राज्यसत्ता वा पार्टी सञ्चालकहरू सङ्कटमुक्त हुन सक्छन् भन्ने कुरा विशेष मननीय छन् । निरक्षर अकबरलाई सफल बनाउने काम उनका योग्य सल्लाहकारहरूले गरेका थिए भन्ने कुरा हामीले भुल्नुहुँदैन । वीरबलको चातुर्य नेपाली समाजमा धेरै स्थापित रहेको छ ।
दार्शनिक मेकियाभेलीले प्रसिद्ध ग्रन्थ ‘प्रिन्स’ मा लेखेका कुराहरू एकपटक अध्ययन गर्न आवश्यक छ । साम्यवादमा पनि सर्वसाधारणभन्दा नेताहरू ‘विशेष’ मानिन्छन् भन्ने कुरा ‘एनिमल फार्म’ पुस्तकका लेखक जर्ज अर्बेल व्यंग्यपूर्वक चर्चा गरेकै छन् । बीपी कोइराला प्रधानमन्त्रीका हैसियतले चीन जाँदा माओ र उनका बीच भएका कुराकानी पनि हाम्रा अध्ययनका विषय हुन् । मूल रूपमा दलाल पुँजीवाद भए पनि नेपालका अङ्गीकृत नेताको भारतपरस्त नीति र चीनविरोधी पश्चिमा गतिविधिले धेरै समस्या ल्याएको कुरामा कुनै शङ्का छैन । राष्ट्रलाई दीर्घकालसम्म दिशानिर्देश गर्न आफ्ना जनता र आफ्नो माटोमा मात्र भरोसा गर्ने राजनीतिक शक्ति अपरिहार्य छ । त्यो शक्ति भनेको कमरेड विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी हो भन्ने कुरामा कुनै दुईमत हुन सक्तैन । यसैबीचमा हामीले १५ औँ सांस्कृतिक बलिदान दिवस मनायौँ । हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा आयोजित उक्त कार्यक्रम भव्य र सफल रहेको कुरामा कुनै शङ्का छैन । यही सन्भर्दमा डा. ऋषिरज बरालले एक ठाउँमा टिप्पणी गनुभएछ, “गजबको परिदृश्य देखियो यसपल्ट ! ’इच्छुक’ को आदर्श भन्ने, आदर्शलाई पछ्याउँछौं भन्ने अनि त्यो आदर्शलाई धस्त पार्नेहरूका सांस्कृतिक लाउकेहरूलाई मान–सम्मानका साथ मञ्चमा विराजमान गराउने अनि तिनलाई ‘फूलले प्रहार’ गर्दै विरोधाभास अभिव्यक्ति दिने, गजबको परिदृश्य देखियो ! एकैठाउँ, एकैदिन दुईथरीले उस्तैखाले कार्यक्रम गरे भने फेरि अलग–अलग किन गर्नू ! टुकुचामा मुन्टो जोतेकालाई मान–सम्मान नगरे कार्यक्रम अपूरो ठान्ने कस्तो गजबको संस्कृति ! कस्तो गजबको क्रान्तिकारिता !” डा. बरालको यो टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण त भएकै छ तर शीघ्र–टिप्पणीले पु¥याउने क्षतिबारे भने हामी अनभिज्ञ छैनौँ । स्वाभिमान र अभिमानका बीचमा रहेका स–साना रेखालाई बौद्धिक–प्राज्ञिक नेत्रले नदेख्नुचाहिँ साँच्चै दुःखलाग्दो कुरा हो ।
कुरा आदिम समयको हो । साधु आफ्नो आश्रममा बसिरहेका थिए । उनका एक रिसाहा चेला साधुको नजिक आए र भने, “गुरुजी, तपाईं कसरी आफ्नो व्यवहार यति हार्दिकतापूर्ण बनाउन सक्नुहुन्छ ? न तपाईं कोहीसँग रिसाउनुहुन्छ, न अरूको बारेमा कुरा काटेर समय बिताउनुहुन्छ ? कृपया तपाईंको यस्तो असल व्यवहारको रहस्य बताउनुहोस् ।” साधुले भने, “मलाई मेरो आफ्नै रहस्य त थाहा छैन, तर म तिम्रो रहस्य भने जान्दछु ।” “मेरो रहस्य ! त्यो के हो गुरुजी ?” शिष्यले आश्चर्य मान्दै सोधे । “तिमी एकहप्ताभित्र मर्दैछौ,” साधुले भने । अरू कसैले भनेको भए त शिष्यले यो चेतावनीलाई हँसी–मजाकमा उडाइदिन्थे तर साधुको मुखबाट यस्तो कुरा निस्किएपछि कसरी नपत्याउनू ? शिष्य उदास भएर गुरुको आशीर्वाद लिएर घर फर्कियो । त्यो दिनदेखि शिष्यको स्वभावमा ठूलो परिवर्तन आयो । ऊ सबैसँग प्रेमपूर्वक बोल्न थाल्यो । आफूले यसअघि दुव्र्यवहार गरेका मानिसलाई भेट्दै माफी माग्न थाल्यो । हेर्दाहेर्दै साधुले घोषणा गरेको एकहप्ता पूरा हुने समय नजिक आयो । शिष्यले अन्तिम समयमा साधुको दर्शन गरेर आशीर्वाद लिने सोच बनाएर भेटेर भन्यो, “गुरुजी, मेरो समय पूरा हुनै लाग्यो, कृपया मलाई आशीर्वाद दिनुहोस् ।” साधुले भने, “मेरो आशीर्वाद सधैँ तिम्रै साथमा छ तर तिमीले यो हप्ता कसरी बितायौ ? तिमी पहिलाजस्तै मानिसहरूसँग रिसायौ कि रिसाएनौ ? उनीहरूलाई गाली ग¥यौ कि गरेनौ ?” शिष्यले भने, “गरिनँ, बिल्कुल गरिनँ । सबैलाई प्रेमपूर्वक भेटेँ र ज–जसको दिल दुःखाएको थिएँ, उनीहरूसँग क्षमा मागेँ ।” साधु मुस्कुराए र भने, “यो नै मेरो राम्रो व्यवहारको रहस्य हो । म जान्दछु कि म जहिले र जतिखेर पनि मर्न सक्छु । यसैको लागि सबैलाई प्रेमपूर्वक व्यवहार गर्दछु र यही नै मेरो राम्रो व्यवहारको रहस्य हो ।”
आत्मकेन्द्रित व्यक्तिवादले खर्लप्पै खान लागेको यतिबेला स्तालिनको यो प्रसङ्ग ताजा भएर उपस्थित हुन्छ । स्तालिनका जेठा छोरा ज्याकोब लालसेनाका लेफ्टिनेन्ट थिए । सन् १९४१ जुलाईमा उनी जर्मन सेनाको कब्जामा परे । हिटलरले स्तालिनसँग प्रस्ताव गरे– रुसले जर्मन जनरल फ्रेड्रिकलाई मुक्त गर्ने र जर्मनीले स्तालिनका छोरालाई छाड्ने । स्तालिनले प्रस्ताव स्वीकार गरेनन् र, भनिदिए– लेफ्टिनेन्ट र जनरलको तुलना हुँदैन । हिटलरले समान तरिकाको सट्टापट्टा गर्न खोजे । उनले रुसी नियन्त्रणमा रहेका आफ्ना भतिजा लियोलाई रुसले छाडेमा आफूले स्तालिनका छोरालाई छाड्ने प्रस्ताव गरे । स्टालिनले नातावाद नचल्ने जवाफ फर्काए । स्तालिनले छोराको मात्र मुख हेरेनन् । अन्ततः जर्मन ग्याँस–च्याम्बरमा याकोबको निधन भयो ।
यी विभिन्न सन्दर्भ र प्रसङ्ग नै ‘जोखिम र जिज्ञासायुक्त मध्यान्तर’ हुन् । मलाई लाग्छ, यी निकै मननीय र विचारणीय छन्, तपाईंलाई कस्तो लाग्यो, कुन्नि !

प्रतिक्रियाहरु

[anycomment]